बागलुङको पौँदीमा न्वागी मेलाको रौनक

बाग्लुङ | मंसिर १२, २०७९

बागलुङको पौँदीमा न्वागी मेलाको रौनक

बागलुङः   गएको सोमबार बिहान ९ः३१ को साइतमा पौँदेलीले न्वागी खाए । धानबाली भित्र्याएपछि बर्सेनि मङ्सिरको पहिलो साता पौँदीमा न्वागी खाने चलन छ । भर्खर भित्र्याइएको नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर खाइन्छ न्वागी ।


पौँदीवासी न्वागीको संस्कृतिलाई पर्वका रुपमा मान्छन् । न्वागी खाएलगत्तै मेला लगाउने परम्परा छ । यसपाली भने चुनावले मेला पछाडि धकेलिएर शनिबारदेखि सुरु भएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले जानकारी दिनुभयो ।


“न्वागी खाएको दिनदेखि नै मेला सुरु गर्ने तयारी भए पनि चुनावका कारण केही दिनपछि सार्नुप¥यो”, उहाँले भन्नुभयो, “न्वागी पौँदी क्षेत्रको एतिहासिक पर्व हो, यसको परम्परा जोगियोस् भनेर मेलालाई संस्थागत रुप दिएका छौँ ।”


बागलुङ(गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा सयौँ वर्षदेखि न्वागी पर्व मनाइँदै आएको छ । मङ्सिर १ देखि ७ सम्ममा ज्योतिषले निकालेको शुभमूहर्त अनुसार न्वागी खाने चलन रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । त्यसपछि दुई÷तीन दिनसम्मै न्वागी खाने गरिएको उहाँको भनाइ छ । गुल्मीको मुसिकोट नगरपालिकाको नेटा, पौँदी अमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे ।


कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ । “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भन्नुभयो, “पौँदी क्षेत्रमा धान खेती धेरै हुने भएकाले तत्कालीन राजा÷रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ ।”


स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रुपमा रहेको उक्त खेतमा उब्जाउ भएको धान भित्र्याएपछि पहिलो परिकारका रुपमा न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ । त्यसपछि उक्त क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन छ । 


पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ । धान खेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन् । न्वागी खाएपछि मात्र नयाँ चामल प्रयोगमा ल्याउन पाइने मान्यता छ । 


समितिका सचिव विष्णुप्रसाद आचार्यका अनुसार पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रुपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । मेला भर्न बागलुङ र गुल्मीका गाउँगाउँबाट मानिस पौँदी झर्थे । पछिल्लो समय बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा मेला लाग्दै आएको छ । समयानुकूल मेलाकोस्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझैपनि मौलिकता जोगाउन लागिपरेका छन् ।


खेल, कला, संस्कृतिको उत्थान र व्यापार प्रवद्र्धनमा मेलाले टेवा पु¥याइरहेको आयोजकको भनाइ छ । लोकभजन, सोरठी, दोहोरी, सराय, लाखे नाचलगायत पम्परागत संस्कृति झल्काउने नाच र झाँकी यसपालिको मेलाका आकर्षण हुन् । 


दर्शक तान्न भलिबल जस्ता लोकप्रिय खेलदेखि राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिलाई पनि जोडिएको छ । कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकूद तथा मनोरञ्जनात्मक कार्यक्रमलाई मेलामा समेटिएको छ । मेला शुक्रबारसम्म चल्नेछ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्