गोरखामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा
गोरखा | पुस १, २०७९

गोरखा: गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले पाँच शय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए ।
“अहिले हामीकहाँ ल्याब, इसिजी, भिडियो एक्सरेलगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ”, उनले भने, “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरु गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई गोरखा अस्पताल वा आँपपिपल अस्पताल पठाउनु पर्दैन, सिधै चितवन वा काठमाडौँ सिफारिस गर्ने गरिएको छ ।”
गाउँमै स्वास्थ्योपचार सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको उनले जानकारी दिए। “दैनिक पाँच सयसम्म बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्”, अध्यक्ष देवकोटाले भने, “हाम्रो गाउँपालिकाबाहेक छिमेकी सिरानचोक गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिकाबाट समेत बिरामी उपचारका लागि हामीकहाँ आउन थालेका छन् ।”
अध्यक्ष देवकोटाले राज्यले करोडौँ लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले स्वास्थ्यको बजेटमा प्राथामिकता राखेर आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनमा ल्याएको बताए । अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएका बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्रलगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको उनले जानकारी दिए ।
नपुग कर्मचारीका लागि गाउँपालिकाको थप स्रोतबाट समेत व्यवस्था गरेको उनको भनाइ छ । “चालू आर्थिक वर्षका लागि मात्र पालिकाले अस्पतालका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ”, अध्यक्ष देवकोटाले भने, “स्वास्थ्यलाई गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक परे थप रकमको पनि व्यवस्था गर्न सकिन्छ ।”
बिहान–बेलुकी बिरामी भए पीडा सहेर बस्नुपर्ने बाध्यता अब गाउँपालिकावासीमा नरहेको उनले बताए । “हेल्थपोष्ट, स्वास्थ्य एकाइ बिहान १० बजे खुल्ने ५ बजे बन्द हुन्छ”, अध्यक्ष देवकोटाले भने, “बिरामी त जतिखेर पनि हुन सकिन्छ, बिरामी भए उपचार दिने दायित्व स्थानीय सरकारको हो, त्यही जिम्मेवारीलाई बोध गरेर पालिकाभित्रै २४सै घण्टा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...