पोखरा- १५ ले वडाका ज्येष्ठ नागरिकलाई १ दिने भ्रमणमा लग्यो
पाेखरा | पुस २, २०७९
पोखराः पोखरा महानगरपालिका वडा नं –१५ ले ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको छ ।
अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताए ।
बानियाँले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय पोखराबाट बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप एक दिने भ्रमणमा लैजान लागिएको जानकारी दिए । उनका अनुसार भ्रमण टोलीलाई बागलुङको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका मन्दिरको दर्शन गराई पर्वतको कुस्मा स्थित विभिन्न झोलुङ्गे पुल र बन्जी जम्पको अवलोकन गराइने छ ।
भ्रमण टोलीलाई न्यानो गलबन्दी लगाएर बिदाइ पश्चात् आफ्नो भनाई राख्दै पोखरा महानगरका मेयर धनराज आचार्यले निर्वाचित भएर आइसकेपछि पोखरालाई साँच्चैको महानगर बनाउनका लागि यहाँका न्यूनतम आवश्यकताहरूलाई पूरा गर्न योजनाबद्ध रूपमा अगाडी बढिरहेको बताए । उनले औपचारिक विद्यालयको शिक्षासँगै आफूले जीवनमा भोगेका भोगाई र शिक्षा ज्येष्ठ नागरिकबाट पनि सिक्नुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।
अहिले महानगरले सबै ज्येष्ठ नागरिकका लागि सम्मान स्वरूप विभिन्न योजना बनाएर कार्यक्रम अगाडी बढाइरहेको हुँदा आगामी दिनमा अन्य वडामा पनि यस प्रकारको कार्यक्रमहरू ल्याउने बताए । उनले ज्येष्ठ नागरिकहरूमा वृद्ध भत्ता सम्बन्धी केही अस्पष्टता रहेको भन्दै महानगरबाट दुई सय रुपैयाँ थप दिँदै आइएकोमा नेपाल सरकारबाट त्यसरी दिन नमिल्ने भन्दै बेरुजु बनाइएपछि अहिले पोषण कार्यक्रमका रूपमा दुई वटा शीर्षकमा खातामा रकम पठाइरहेकाले सबैलाई स्पष्ट हुन आग्रह गरे । उनले भ्रमण टोलीलाई सफल यात्राको शुभकामना दिँदै बागलुङ कालिका प्रसिद्ध धार्मिक स्थल भएको र झोलुङ्गे पुल, पुल मात्र नभएर संसारले हेर्न आउने अग्लो स्थानको पुल भएकाले आनन्द पूर्वक अवलोकन गर्न आग्रह गरे ।
यस्तै, भ्रमणमा सहभागी मध्ये ज्येष्ठ नागरिक श्याम प्रसाद सुवेदीले पछिल्लो समय वृद्ध वृद्धाहरूलाई उचित सम्मान नगरिरहेको अवस्थामा पहिलो पटक यसरी वडाले सम्झिएर भ्रमणमा लैजान लागेकोमा खुसी व्यक्त गरे। उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता कार्यलाई निरन्तरता दिन पनि आग्रह गरे ।
भ्रमणको नेतृत्व वडा सदस्य बलराम पौडेल गरेका छन् । भने, ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक जना नर्ससहित तीन जना स्वास्थ्य स्वयंसेविकाको टोली र रेखदेखका लागि वडाका तीन जना कर्मचारीलाई खटाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

