म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै
काठमाडाैं | पुस ३, २०७९
म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।
फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् ।
अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् । पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । “फापरको माग बजारमा बढ्दै गएको छ”, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का शैलेन्द्र शेरचनले भन्नुभयो । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उहाँको भनाइ छ ।
फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

