यात्रुको खोजी, सामान सङ्कलन र मुचुल्का तयार गर्दै सुरक्षाकर्मी
मुस्ताङ | जेठ १६, २०७९

मुस्ताङ: तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।
चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् ।
कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
“पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।” यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक÷एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ ।
थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ ।
कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडाँैबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ ।
जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए । उनीहरुको अवस्था अहिलेसम्म नखुलेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
पोखरा: पोखरामा जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको भाइ ध्रुबको घरमा राखिएको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आग...
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानका...
काठमाडौं: नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...