जाडो बढेसँगै चिसो छल्न बेँसी झर्दै मनाङ बासि

मनाङ | पुस १८, २०७९

जाडो बढेसँगै चिसो छल्न बेँसी झर्दै मनाङ बासि

मनाङ:  जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् ।


चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् ।


गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए ।


‘सदरमुकाम चामे, नासो गाउँपालिका क्षेत्रमा सिमेन्ट प्रयोग हुने कार्य रोकिएको छ, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा संरचना निर्माणको काम गर्न सकिँदैन’, उनले भने ।


हिउँ नै नपरे पनि चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जय विष्टले बताए । ‘हिउँका कारण सिमेन्ट प्रयोग गरी निर्माण गरिने माथिल्लो मनाङको संरचनाका काम गर्न सकिँदैन, यहाँको काम वर्षमा तीन महिना मात्रै गर्न पाइन्छ’, उनले भने ।


मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए। अन्य जिल्लाको दाजोमा प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न कठिन रहेको उनको भनाइ छ । सो सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ ।


मनाङको सहज यातायातका लागि सङ्घ सरकारले विशेष रुपमा सडक तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । रु तीन करोड १४ लाख बजेट विनियोजन भएर तल्लो मनाङ तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ ।


मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा मौसम प्रतिकूल भएपछि केही ढिलाइ हुने भएको कार्यालयले जनाएको छ।


सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले कूल रु ६० करोड विनियोजन गरेको छ ।


बहुवर्षीय रुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट विनियोजन हुँदै आएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडकखण्डलाई चौँडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बाटो बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेसीशहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।


मनाङका विद्यालय तीन महिना बन्द


मनाङका विद्यालयले गत मङ्सिर अन्तिम सातामा परीक्षा सकाएर अहिले जाडो बिदा भएको छ । मौसम प्रतिकूलताले गर्दा यहाँका विद्यालय सञ्चालन गर्न सकिँदैन । यहाँका विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएर जाडो छल्न बेँसी गएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले बताउनुभयो ।


‘परीक्षा सकाएर विद्यार्थी जाडो छल्न बेँसी झरेका छन्, अब करिब चैतको पहिलो साता मात्रै पठनपाठन गर्न आउँछन्’, उनले भने, ‘जाडोमा अभिभावकसँगै विद्यार्थी जाडो छल्न जान्छन्, जाडो छल्न जाने यहाँका मानिसको प्रचलन जस्तै बनेको छ । अर्धवार्षिक परीक्षा सकाएर बेँसी झरेका छन्, जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन्।’


चामेमा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोंमा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमिमा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको एकाइले जनाएको छ ।

पर्यटकको आगमनमा कमी


हिमपात नभए पनि यहाँ बढी चिसो हुँदासम्म पर्यटक आउने क्रम जारी छ । प्रतिदिन करिब १० देखि १५ जनाका दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।


‘चिसो अत्याधिक बढेको छ, पर्यटक प्रतिदिन १० जना आउने क्रम जारी छ, सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौं’, गौतमले भने, ‘हिमपात नभए पनि चिसो अत्याधिक छ, खानेपानी जमेको अवस्था छ, तर पर्यटक आउन पूर्ण रुपमा रोकिएको छैन।’


पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने बताइएको छ । हिमपात भएपछि भने मनाङ गाउँबाट माथि जान सक्ने अवस्था नहुने स्थानीयको भनाइ छ ।


‘प्रायःजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्लापास जान अनुमति दिएका छौँ, हिउँ नपर्दा सुख्खापन बढेको छ, यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘पुसमा हिमपात हुने अवस्था देखिएको छैन, माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ, सोहीअनुरुप पर्यटकको आवागमनलाई स्वीकृति दिइरहेका छौं।’


तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले चिसोमा पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाइएको एक्यापका प्रमुख गौमत बताउँछन् ।


होटेल व्यवसाय हेरचाहका लागि कुर्ने मान्छे राखेर यहाँका व्यवसायी बेसी झर्ने गरेका छन् । कम मात्रामा आएका पर्यटक तथा पाहुनालाई बस्न कुर्ने मान्छेले व्यवस्थापन गर्दै आएका छन् ।


मुख्य आम्दानीको स्रोत


यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय र जङ्गली जडीबुटी हुन् । अझ मुख्य स्रोतका रुपमा जङ्गली जडीबुटीलाई लिने गरिएको छ । यहाँ देशकै महँगो जडीबुटी यार्सागुम्बा, वन लसुन, गुची च्याउलगायत पाइन्छन् ।


जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुने गरेको छ । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुँदै आएको छ ।


मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्करलगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।


नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ ।


घर नजिकै गोठ लेकमा लगेर पालिँदै आएका पशुको गोठ जाडोमा घर नजिकै सारिएको छ । चिसो बढ्दै गएपछि यहाँका गाउँ रित्तिदै जान्छन् । चिसोमा भेडाच्याङ्ग्राका पाठापाठी र चौरीका बाच्छाबाच्छीलाई बचाउन बेँसी घर नजिकै गोठ बनाएर पाल्ने गरिन्छ। चिसोले जमेको पानी भेडाच्याङ्ग्रालाई खुवाउनै मुस्किल हुने गरेको मनाङ ङिस्याङ–१ का ७४ वर्षीय पशुपालक किसान याङ्दुङ गुरुङ बताउँछन् ।


भेडाच्याङ्ग्रा र चौँरीलाई यतिबेला सुकेका घाँस खुवाएर पालिने गरिएको उनी बताउँछन् । भेडाच्याङ्ग्रा र चौरीसहित गोठाला बेँसी झरेर घर नजिकै आएका छन् । नार्पाभूमिका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, ‘वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट यहाँका बासिन्दा बेँसी झरिसकेका छन्।’ जाडोमा पशुलाई गहुँ, फापरका नल खुवाएर राखिने गरिएको छ ।


मनाङका अधिकांश स्थानीय पशुपालनमा आवद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । वर्षातको समय लेक र हिउँदको समय बेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । अब चैत पहिलो साता मात्रै लेक चढ्ने गर्दछन् । घर नजिक ल्याइएका चौरी, भेडाच्याङ्ग्रा हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चराउन लैजाने गरिन्छ ।


पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने गरिन्छ । पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झर्ने गर्दछन् । यसवर्ष छिट्टै चिसो बढेको मनाङवासीको भनाइ छ ।


विगतमा गाउँका अधिकांश मानिसले भेडाच्याङ्ग्रा र चौंरी पाल्ने गर्थे । युवाहरू पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम हुँदै गएको छ । अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाले गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो दिन छाडेका छन् ।


यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन् भने केहीले पशुपालन छाडेर पर्यटन व्यवसायतर्फ लागेका छन् । पर्यटन व्यवसाय सञ्चालनका लागि पनि पशुपालन आवश्यक हुने हुँदासम्म यहाँका युवा कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् ।

काठमाडौं:  नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ । जनसम्पर्क ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्