राहुघाट जलविद्युत् आयोजनाले गति लिँदै
पाेखरा | पुस २२, २०७९
बेनी: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो ।
प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युतमा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिनुभयो । मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उहाँको भनाइ छ ।
आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युतगृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्गलगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताउनुभयो । वडा नं ३ पिप्लेको तिल्केनीचौरमा विद्युतगृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ ।
अर्ध जलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबीस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो । प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो । यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट पु¥याइएको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

