प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित
विराटनगर | पुस २८, २०७९
विराटनगर: प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको थियो ।
आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् । सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् ।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।
को हुन् गौतम ?
ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका हुन् । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनले अखिलबाटै स्ववियुको राजनीति गरेका थिए ।
२०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा लागेका उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । ०५४ सालदेखि ०५६ सालसम्म जेल परेका उनी ०५७ सालदेखि ०६० सालसम्म माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरे । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा लामो समय काम गरेका छन् ।
२०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाले । ०७२ सालदेखि अहिलेसम्म उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी हालसम्म संसदीय राजनीतिमा प्रवेश गरेका थिएनन् ।
०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी सभासद् बन्न भने पाएनन् । ०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि उनी उम्मेदवार बन्न पाएनन् । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित भएको छ ।
राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यता थप्न नपाएको बताउँछन् । आफू निर्विरोध निर्वाचित हुने अवस्थामा पुग्दा नयाँ जिम्मेवारी थपिएको भन्दै उनी यो भूमिकालाई आफूले सफलतापूर्वक सम्पन्न गर्ने बताउँछन् । यद्यपि उनीसँग कानुन निर्माण र प्रक्रियाबारे पर्याप्त ज्ञान अभाव देखिन्छ ।
उनका लागि प्रदेश १ को अत्यन्तै तरल अवस्थामा रहेको संसदीय राजनीतिलाई सहज ढंगले डोर्याउने र सरकारसँग समन्वय गर्न उनलाई चुनौती देखिन्छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

