रुपावासीले आफ्नौ गौरव सम्झन्छन् पाइलट केसीलाई
पाेखरा | माघ १, २०७९
पोखराः पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ ।
केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उहाँको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो ।
कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गर्नुभएका उहाँका गुरु अग्रज पत्रकारसमेत रहनुभएका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताउनुभयो । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गर्नुभएको प्रतीकले बताउनुभयो । उहाँले भन्नुभयो, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।”
पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाउनुभयो । “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।”
उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।
केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बन्नुभएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ”, उहाँले भन्नुभयो, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।”
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

