सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
स्याङ्जा | माघ १५, २०७९
वालिङ: यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो ।
सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु. ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु. ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु. ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु.४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।”
सुन्तला टिप्ने क्रम जारी रहेको र अझै रु. तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो ।
“गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु. ७ लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ ।
“हालसम्म सुन्तला बिक्रीबाट रु. ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु. ५५ लाख आसपास पुग्थ्यो ।”
विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ ।“बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।
” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

