पोखराबाट उड्ने हवाइयात्रु क्रमश: बढ्न थाले
पाेखरा | माघ २०, २०७९
पोखरा: माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ । माघको पहिलो हप्ता ठप्प रहेको विमानस्थलमा तेस्रो सातातिर आइपुग्दा यात्रुको सङ्ख्यामा वृद्धि भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख विक्रमराज गौतमले विमानस्थल सञ्चालन अन्तर्राष्ट्रिय हवाई उड्डयन संस्था (आइकाओ) को मूल्य र मान्यताअनुरूप भएकाले जहाज चढ्ने यात्रुलाई ढुक्क भएर यात्रा गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले दुर्घटना बाजा बजाएर आउँदैन, यसलाई भवितव्यको रूपमा लिनुपर्ने बताउनुभयो । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा हुने एयरलाइन्समा कुनै खराबी नभएकाले हवाई यात्रालाई सुरक्षित ठान्न उहाँले यात्रुहरूलाई आग्रह गर्नुभयो । पोखरा आउने पर्यटकको रोजाइमा हवाई यात्रा नै रहेकाले पर्यटन व्यवसायले पनि सहजीकरण गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ ।
‘विशेषतः यो समय पोखरामा अफसिजन चलिरहेको छ, त्यसमा पनि विमान दुर्घटनाले यात्रुहरू घटाएको हो । मानिसमा मनोवैज्ञानिक असर परेर होला यात्रुको सङ्ख्या पहिलेको तुलनामा कमी नै छ’ प्रमुख गौतमले भन्नुभयो । पोखराबाट कुनै समय दैनिक ४ हजार यात्रुसम्म आवतजावत गरेको विमानस्थलको रेकर्ड छ ।
हिजो र आज यती एयरलाइन्सबाट यात्रा गरेर पोखरा आउनुभएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यात्रामा हुने भयलाई दूर गर्न आग्रह गर्नुभयो । यती एयरलाइन्सका पोखरा प्रमुख राम लामिछानेले आफ्नो कम्पनीमा यात्रुको चाप बिस्तारै बढ्दै गएकाले उडान सङ्ख्या थप्न लागेको बताउनुभयो ।
बुद्ध एयरका स्टेसन इन्चार्ज गौतम बरालले भोलिका लागि १२ वटा उडान तालिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा–काठमाडौँ, पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगञ्जका लागि उडान तालिका छ, जसमा ६० देखि ७० प्रतिशत हवाई यात्रु रहेका छन् ।’
सौर्य एयरलाइन्सका स्टेसन इन्चार्ज नवजित केसीले पोखराबाट जानेभन्दा काठमाडौंबाट आउनेको सङ्ख्या बढ्न थालेको बताउनुभयो । गत वर्ष जनवरीमा २ हजार ४ सय ८२ उडान सङ्ख्या रहे पनि समीक्षा अवधिमा यस वर्षको जनवरीमा १ हजार ८ सय ६७ उडान सङ्ख्या रहेका छन् ।
जसमा गत वर्ष ३२ हजार ७ सय ३० यात्रुले उडान भरेका थिए भने यस वर्ष २८ हजार ८ सय ६९ ले यात्रा गरेको विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीले जानकारी दिनुभयो । हवाई दुर्घटना भएपछि यात्रुको सङ्ख्यमा कमी आएकोमा माघको तेस्रो साताबाट भने पोखराको हवाई उडानमा यात्रुहरूको सङ्ख्या बढ्न थालेको सुवेदीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

