सृजना कप भलिबलको तयारी पूरा, भोलिबाट पोखरा रंगशालामा हुँदै
पाेखरा | फागुन १५, २०७९
पोखरा: पोखरामा मंगलबारदेखि हुने सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमले नाम टिपाएको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए । टिमको यकिन संख्या तथा खेल तालिका सोमबारमात्र सार्वजनिक हुनेछ ।
सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २०७३ सालदेखि सुरुआत भएको सृजना कपको यो पाँचौं संस्करण हो । प्रतियोगितामा विगतको तुलनामा सहभागी संख्या बढी भएकोले आयोजक पनि उत्साहित छ ।
छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् । प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो ।
प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने सिर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।
प्रतियोगिताको लागि दुवै संस्थाका कार्यसमितिका पदाधिकारी सम्मिलित व्यवस्थापन समिति गठन गरिएको प्रतियोगिता सहसंयोजकसमेत रहेका कास्की जिल्ला भलिबल संघ उपाध्यक्ष लेखनाथ लम्सालले बताए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ मूलनारा तथा ‘स्कुल स्कुलमा भलिबल’ यसको लक्ष्य छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

