ताराखोलाका सहिद परिवारलाई भत्ता, ज्येष्ठ नागरिकलाई सम्मान
बाग्लुङ | फागुन १६, २०७९
गण्डकीः बागलुङको ताराखोला गाउँपालिकाले सहिद सप्ताहको अवसर पारेर जनयुद्धका सहिद र बेपत्ताजनका २७ परिवारलाई जीवन निर्वाह भत्ता वितरण गरेको छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु. एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु. आठ हजार प्रदान गर्नुभएको हो ।
सहिद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो ।

सहिद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ । मन्त्री चुमानले उनीहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री चुमानले राजनीतिक परिवर्तनमा ताराखोलाका बासिन्दाले अग्रगामी भूमिका खेलेको बताउनुभयो ।
उहाँले गाउँपालिकाले जनमुखी योजना र कार्यक्रममार्फत समृद्धि ताराखोलाको लक्ष्य पछ्याएकामा खुसी व्यक्त गर्नुभयो । मन्त्री चुमानले गाउँपालिकाको केन्द्र जोड्ने सहिद मार्गको कालोपत्रका लागि प्रदेश सरकारबाट सक्दो बजेटको प्रबन्ध गरिने प्रतिबद्धता जनाउनुभयो ।
जनयुद्धमा जीवन गुमाउने सहिद र बेपत्ताजनको सम्मानका लागि मासिक भत्ता दिन थालिएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो । “रकम थोरै भएपनि सहिदको योगदानको कदर गर्न खोजिएको छ, यो सुरुआत मात्र हो, पछि भत्ता रकम वृद्धि पनि हुँदै जाला”, उहाँले भन्नुभयो ।
गाउँ सभाले बनाएको कार्यविधि अनुसार सहिद र बेपत्ताजनका परिवारलाई भासिक भत्ता दिन थालिएको हो । ताराखोला जनयुद्धबाट बढी प्रभावित क्षेत्र हो । युद्धमा परी त्यहाँका २६ जनाले ज्यान गुमाएका छन् भने दुई जना बेपत्ता छन् ।
यस्तै गोली नै लागेर गम्भीर घाइते भई अपाङ्गता भएकाको संख्या १३ र सामान्य घाइतेको संख्या २२ रहेको जनाइएको छ । गाउँपालिकाको चालु आवको नीति तथा कार्यक्रममा पनि जनयुद्धबाट प्रभावित परिवार र तिनका सदस्यलाई मासिक भत्ता उपलब्ध गराउने उल्लेख थियो ।
गाउँपालिकाले सहिद, बेपत्ता तजा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ । सहिद सप्ताहमा सम्मानसहित नृत्य प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

