राष्ट्रपति पौडेललाई महामन्त्री थापाको आग्रह : नागरिक राष्ट्राध्यक्ष बन्नुहोला
काठमाडाैं | फागुन २६, २०७९
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रपति पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताए ।
‘नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, सँगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’
संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनी भन्छन्, ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’
उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’ महामन्त्री थापाले भने ।
राष्ट्रपति पौडेललाई अब नेपाली कांग्रेसको मात्र होइन सबैको अभिभावक बन्न उनको आग्रह छ । उनले लेखेका छन् ,‘दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ । कुनैपनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’
यसअघि राष्ट्रपतिको सम्मानका लागि सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न थापाले सुझाए । ‘राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं,’ उनले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

