उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्छ : सञ्चारमन्त्री शर्मा
काठमाडाैं | फागुन २६, २०७९
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सुरक्षा दबाब समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको प्रयोग अत्यधिक बढे पनि यससम्बन्धी आवश्यक ज्ञान, सीप र सचेतना नहुँदा प्रविधिको दुरुपयोग बढ्न थालेकाले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो ।
उहाँले संसारभरि बनेका प्रविधि नेपालमा प्रयोग गरिए पनि यसको प्रयोगसम्बन्धी नीति र कानुनको अभाव देखिएकाले आफ्नो मन्त्रालयले कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको पनि बताउनुभयो । ‘‘साइबर सुरक्षासम्बन्धी नीति २०७६ मा बनाएर २०७८ मा संसदमा पठाइएको रहेछ तर नयाँ चुनावसँगै पुरानो विधेयक निष्कृय भयो’’– उहाँले भन्नुभयो– ‘‘अहिले साइबर सुरक्षा नीति बनाउने कार्यलाई तीव्रताका साथ अघि बढाइएको छ, यो पारित भयो भने साइबर सुुरक्षा कानुन बनाउने बाटो खुल्नेछ ।’’
सामाजिक सञ्जालमा के राख्न हुन्छ के हुँदैन भन्ने सचेतनाको अभावमा हिंसाका घटनामा वृद्धि हुँदै जानु चुनौतीको रुपमा रहेको औल्याउँदै मन्त्री शर्माले संविधान र कानुनमा उल्लेख भएका व्यवस्थालाई जनजनमा पु¥याउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले कानुनले पैत्रिक सम्पत्तिमा समान अधिकारलगायत धेरै व्यवस्था गरेको छ तर व्यवहारमा छोरीले अंश पाएका घटना विरलै देखिन्छन् । चारवटा छोरालाई सम्पत्ति दिन सकिन्छ भने एउटा छोरी थपिँदा पाँचजनालाई पनि अंश दिन सकिन्छ भन्ने हरेक बाआमालाई बोध गराउनुपर्नेछ, यस्ता सचेतनाका लागि पनि प्रविधिको अत्यधिक प्रयोग बढाउनुपर्छ ।’’
उहाँले प्रविधिको प्रयोगमा महिलाको पहुुँच बढाउँदै यसको माध्यमबाट महिलाको जीवनस्तरमा परिवर्तन ल्याउनुुपर्ने पनि बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘प्रविधिको प्रयोगमा महिला पुरुषको अवस्था के छ यसबारे तथ्यांक निकालेर पहुँच बढाउनेतिर ध्यान दिनुपर्छ, ‘तल्लो तहमा भएका महिलालाई माथि ल्याउने र माथि पुगेका महिलालाई पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन पनि प्रविधिको प्रयोग गर्न आवश्यक छ ।’
अहिले महिला मन्त्रीले प्रविधि मन्त्रालय सम्हालेको समयमा केही सुरुवात गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले यसमा आवश्यक सल्लाह सुझाव दिन आम महिलालाई आग्रह गर्नुभयो । उहाँले नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले सूचना प्रविधिमा महिलाको सहभागिता र पहुँच बढाउन के गर्नुपर्छ आवश्यक सुझावका लागि सबैसँग आग्रह गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

