पात्रविहिन मञ्चमा गुञ्जाइयो मुख थुन्न नहुने सिर्जना
पाेखरा | चैत २६, २०७९

पोखरा:
गलपासो भयो आज गणतन्त्र भनीकन
जनआवाज उठ्दैछ घनीभूत बनीकन
स्वतन्त्रता छ है भन्छौ जनको मुख थुन्दछौ
माछा नै छैन खोलामा के निम्ति जाल बुन्दछौं ।
यी कविताका हरफ हुन गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीका । आफ्नो कार्यव्यस्तताले वारेसमार्फत् पठाएका सिर्जनासँगै यस्तै–यस्तै रचनावाचनले शनिवार पृथ्वीचोक आसपासको सडक गुञ्जयमान भयो ।
कुलपति बिखर्ची मात्र होइन, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका आजीवन सदस्य लक्ष्मण थापासमेतले व्यस्तताका बाबजुद यसरी नै सिर्जनाकामार्फत् सहभागिता जनाए । यी रचनासँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सुनाएः
सत्ता र बेइमानी बीचको नाता चुट्याउन आउँदैन भने
के हो सही के हो गलत खुट्याउन आउँदैन भने
जनसेवक भन्दै छाती फुलाउँदै के हिँड्छौँ मुर्ख हो !
मुख र मलद्धारमा फरक छुट्याउन आउँदैन भने ।
वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कवितावाचन गर्ने सबै कुराको चाँजोपाँजो जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मिलाएको हो ।
संविधान भन्दा माथि कोही नहुने भएकाले पछिल्लो समय देशमा विकसित भइरहेका विविध घटनाक्रमको सांकेतिक विरोधस्वरूप संस्थाले पृथ्वीचोकको गोलघर अगाडिको वातावरण मान्छेको मुख थुन्न हुँदैन सडक कवितावाचन कार्यक्रममार्फत् गुञ्जयमान बनाएको हो ।
कार्यक्रमको औचित्यमाथि जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका परिकल्पनाकार तथा संस्थाका महासचिव मदन भण्डारीले प्रकाश पारेका थिए । उनले राज्यले महत्वपूर्ण निर्णय रातको १२ बजे महंगा सोफामा बसेर गर्ने तर कवि र किसानहरू सडकमा पसिना बगाएर स्वस्थ हुने भएकाले मध्यान्हको १२ बजे सडकमा मञ्च खाली राखेर कार्यक्रम आयोजना गरिएको बताए ।
राज्यका कुर्चीहरूमा लायक पात्रहरु नभएकाले राज्यमा वेथिति बढेको ठहर गर्दै संस्थाले जनताका दुःख, दर्द जनताले लडेर ल्याएको आजको सरकारले नसुनेकाले सरकारलाई सुनाउन मञ्चमा आवाज राखेर सरकारको कानमा पु¥याउन खोजेको महासचिवको भनाइ थियो ।
संस्थाका उपाध्यक्ष प्रा.डा. यामबहादुर पौडेल क्षत्रीले राज्य पक्ष सदा जनताका लागि भन्दा कुर्चीका लागि दौडधुपमा रहेकाले संस्थाले मञ्चका कुर्ची पात्रविहिन बनाएर कार्यक्रम आयोजना गरेको बताए ।
संस्थाले गण्डकी प्रदेश भित्रका उत्कृष्ट २५ स्रष्टालाई शीर्षक दिएर रचनासहित सडकमा आमन्त्रण गरेको थियो सडकमा वाचित २५ कविका रचनालाई संस्थाको मुखपत्र हिमवत्खण्ड सौरभको आगामी अंकमा प्रकाशन गर्ने संस्थाका प्रवक्ता ताराबहादुर गुरुङले जानकारी गराए ।
लोकसंस्कृतिका अध्येता प्रा.डा. कुसुमाकर न्यौपानेले कवि कलाकारहरूले हाम्रो भाषामाथि भएको अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए ।
राजनीतिक विश्लेषण महेन्द्रमान व्यथितले हाम्रा नेताहरूको दुषित विचारले नेपाल कहिल्यै नेपाल बन्न नसकेको टिप्पणी गरे ।
संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि समयको कालक्रममा कवि कलाकारको ठूलो भूमिका रहेकाले वर्तमान वेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए ।
सञ्चारकर्मी शिवराज बस्ताकोटी शिवदाइ, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले यस्ता कार्यक्रमले राज्यलाई सही दिशानिर्देश हुने धारणा राखे ।
कार्यक्रममा साहित्यकार डा. जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, सडक कवि बलराम तिमिल्सिना तेजबहादुर गुरुङ अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल, सन्तोष लम्सालले आफ्ना रचनावाचन गरेका थिए ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...
पोखरा: इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । &nbs...