कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुर | चैत २९, २०७९

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक

कञ्चनपुर : कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले प्लास्टिकका  झोला प्रयोगमा रोक लगाउने भएको छ। आगामी वैशाख १ गतेदेखि लागू हुने गरी जिल्लामा प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए।

 

'नयाँ वर्षको वैशाख १ गतेदेखि जिल्लाभर प्लास्टिकको प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाउने भएका छौँ', उनले भने, 'यसबारे सार्वजनिक सूचनासमेत जारी गरिसकेका छौं।' उक्त कार्यालयले एक महिना अगाडि नै सूचना जारी गरी प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो। 

 

चालिस माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोग गर्न नपाइने प्रजिअ अर्यालले बताए। नयाँ वर्षदेखि त्यस्ता प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण गरेको पाइएमा कारबाही गरिने उनको भनाइ थियो। 'प्लास्टिकको प्रयोग रोक्न नियमित अनुगमन गर्छौँ, पहिलोपटक भेटिएमा सम्झाउँछौँ र  जफत गर्छौं,' उनले भने, 'त्यसपछि पनि त्यस्तो कार्य गरेको भेटिए सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउँछौँ।'

 

प्लास्टिकको प्रयोग तथा बिक्री, वितरण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुनेछ। प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर रु ५० हजारसम्म जरिवाना हुनेछ। 

 

जिल्लाका नौ स्थानीय तहका जनप्रतिनिधिले प्लास्टिकको झोला प्रयोग तथा बिक्री, वितरणमा प्रति​बन्ध लगाउने प्रतिबद्धता जाहोर गरेका छन्। सोहीअनुसार जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्ला सभाले प्लास्टिकको झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ। 

 

जिल्ला सभामा कञ्चनपुरका नौ स्थानीय तहका प्रमुख, उपप्रमुखको सहभागिता थियो। प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए। 'अब जिल्लामा प्लास्टिकका झोला र गुट्खा बिक्री, वितरण गर्न पाइने छैन्, प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला प्रगोग गर्न सकिन्छ', उनले भने। 

 

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता नै जागरुक हुनुपर्नेमा उनले जोड दिए। 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्