हिमालयन एक्स्ट्राई ट्रायथलनको तयारी पूरा
पाेखरा | बैशाख २१, २०८०
पोखरा: हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ ।
हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु-मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् ।
प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीहरु सहभागिता रहेको योन्जनले जानकारी दिए । “धेरै खेलाडीहरु पहिलो पटक पोखरा आएका छन्” उनले भने–“गत वर्ष तेश्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोश्रो पटक सहभागिताका लागि आएका छन् ।” गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए ।
प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले यो वर्ष प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको जनाए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

