साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गयो
काठमाडाैं | असार १४, २०८०
साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।
हिजो कारमा आएका एक बन्दुकधारी जेद्दाको अमेरिकी वाणिज्य दूतावास अगाडि ओर्लिएका र उनलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा गोली चलेको समाचार संस्था अलजजिराले जनाएको छ । ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिचय भने खुलेको छैन ।
नेपाली सुरक्षा गार्ड अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चलेको अमेरिका र साउदी अरबका अधिकारीले पनि पुष्टि गरेका छन् । यो घटनामा आफ्ना नागरिक नपरेका अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले घटनाको अनुसन्धानका लागि साउदी अरबका अधिकारीहरुसित सम्पर्कमा रहेको जनाएको छ । घटनामा बन्दुधारी पनि मारिएको पुष्टि भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बेलाबेलामा निशानामा पर्दै आएको छ । यसअघि पनि त्यहाँ आक्रमण र विस्फोटका घटना भएका थिए ।
सन् २०१६ मा दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराएका थिए । घटनामा उनी मारिएका थिए भने दुई जना घाइते भएका थिए ।
यस्तै, सन् २०१४ मा भएको आक्रमणमा चार जना साउदी सुरक्षाकर्मी र पाँच जना स्थानीय कर्मचारीको ज्यान गएको थियो । घटनामा तीन जना आक्रमणकारी मारिएका थिए भने दुई जना पक्राउ परेका थिए ।
यस्तै, सन् २००४ मा पश्चिमी देशका नागरिकलाई लक्षित गरी आक्रमण भएका थिए । त्यतिबेला विद्रोही समूह अल कायदाले आक्रमण गराएको दाबी गरिएको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

