कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेश गर्ने तयारीमा गठबन्धन दल
विराटनगर | असार २१, २०८०
विराटनगर: कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय आज साँझ ५ बजे सकिँदैछ । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति गर्न केन्द्रीय गठबन्धनमा रहेका दलले अपरान्ह मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी थालेका हुन् ।
भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन दलको बैठकले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाको दाबी पेश गर्न प्रदेशका नेतालाई निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आजै मुख्यमन्त्रीको दाबी लिएर प्रदेश प्रमुखसमक्ष पेश हुने बताउनुभयो । कोशी प्रदेशसभाको गणित नयाँ सरकार गठन गर्न त्यति सहज भने छैन ।
सरकार गठनको तयारी गरिरहेको विपक्षी गठबन्धनसँग ४७ सांसद हुनुहुन्छ । तर, उक्त सङ्ख्या प्रदेशसभाका सभामुखसहितको सङ्ख्या हो । दलबाट अलग भइसक्नुभएका सभामुखको सङ्ख्या देखाएर नयाँ सरकार गठन गर्न नमिल्ने तर्क सत्तारुढ दल नेकपा (एमाले) ले दाबी गर्दैआएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैगर्दा गणितका कारण अर्को सरकार गठन भइहाल्ने अवस्था नरहेको जिकिर गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘प्रदेशमा तत्कालै अर्को सरकार बन्ने अवस्था छैन ।’
आज बालुवाटारमा भएको गठबन्धन दलको बैठकमा पनि यस विषयमा छलफल भएको छ । कांग्रेसले संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गर्न र विश्वासको मतका लागि संयुक्त पहल गर्नुपर्ने प्रस्ताव गरेको छ । मुख्यमन्त्रीमा दाबी गर्दै आउनुभएका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पनि उक्त बैठकमा बोलाएर नेताहरुले सहयोग गर्न आग्रह गर्नुभएको छ ।
‘नेताहरुले सरकार गठनका लागि सहयोग गर्नुस् भन्नुभयो’ आङ्बोले भन्नुभयो, ‘गठबन्धनको निर्णयअनुसार अघि बढ्नु मेरो कर्तव्य हो, त्यसमा कुनै शङ्का गर्नुपर्दैन ।’ आज (बिहीबार) अपरान्ह ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्ने तयारी छ ।
प्रदेश प्रमुखका प्रेस सल्लाहकार देवेन्द्र खापुङले आज नै अन्तिम दिन भएकाले समय नलिए पनि अन्तिम समयभित्र दाबी आउन सक्ने बताउनुभयो । माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले मुख्यमन्त्री नियुक्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् गठनका विषयमा दलबीच छलफल हुने जानकारी दिनुभयो ।
अहिलेसम्म कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सरकार गठन गर्न सहयोग गर्न तयार भइसकेका छन् । तर जनता समाजवादी तत्कालै सरकारमा सहभागी हुने सम्भावना भने देखिएको छैन ।
जसपा संसदीय दलका नेता निर्मला तावा लिम्बूले सरकारलाई समर्थन गर्ने तर मन्त्रिपरिषदमा सहभागी हुनका लागि भने प्रदेश नामकरणको विषयमा पार्टीले अगाडि सारेको सर्तका विषयमा छलफल हुनुपर्ने बताउनुभयो । जसपाले प्रदेश पुनः नामकरणका लागि गठबन्धन दलभित्र सहमति बन्नुपर्ने सर्त अगाडि सारेको छ ।
कोशी प्रदेशसभाका ९३ सदस्यमध्ये ठूलो दल एमालेका ४० सांसद छन् । सुरुदेखि नै एमाले नेतृत्वको सरकारलाई समर्थन गर्दैआएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अहिलेसम्म नयाँ सरकार गठनका लागि तयार भइसकेको छैन ।
सत्ता गठबन्धन दल कांग्रेससँग २९, माओवादी केन्द्रको १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीका १ सांसद हुनुहुन्छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

