काठमाडौँ: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएकामा आज रु १ लाख ४४ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय निर्धारण भएको छ ।
खजुरा (बाँके): बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/०८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/०८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/०८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । आलु आयातबाट आव २०७९/०८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०÷८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ । पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताउनुभयो । उहाँका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ
बाँके: साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिनुभयो । बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ सके पनि वर्षा नहुँदा खेतमा धजा फाट्न सुरु भएको हिरमिनियाका किसान अशोक थापाले बताउनुभयो । “बिजुलीको भोल्टेज कम भएर मोटरले पानी तान्दैन, आकाशबाट पानी आउँदैन, रोपेको बीउ जोगाउन पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “प्रकृतिले पनि ठगिरहेको छ, धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले सबैतिर रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ । बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष नभएका कारण बाँकेमा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।
काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ । बिहीबार प्रतितोला रु एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय ३० निर्धारण गरिएको छ ।
पोखरा: महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोटेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी लाग्नेछ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको स्वञ्छ दुध उत्पादनको लागि व्यवसायिक गाईभैंसी पालन उपआयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा यो कार्यक्रम हुन लागेको सहकारीका व्यवस्थापन धर्मराज केसीले जानकारी दिए । यो उप आयोजना अन्तरगत सहकारीले २५ जना व्यवसायिक कृषक शेयर सदस्यबाट ५० लाख र आयोजनाबाट ५० लाख रुपैंया संकलन गरेर दुध उत्पादन गर्न लागिएको हो । पोखरा १४ कै कदम मार्गमा १० वर्षका लागि १० रोपनी जग्गा भाडामा लिएर दुध उत्पादन गरिने सहकारीकी सचिव ईन्दु अधिकारीले जानकारी दिईन् । सहकारीले वार्षिक ७२ हजार २ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । जसबाट ५४ लाख १५ हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी ४० हजार केजी कम्पोष्ट बल विक्रिबाट २० हजार, बाच्छाबाच्छी बचेर २० हजार र पाडापाडी बेचेर १ लाख ५४ हजार रुपैंया आम्दानी हुने अनुमान सहकारीको छ । उक्त जग्गामा गाईभैंसी पालनसँगै घाँस उत्पादन र ताजा तरकारी पनि उत्पादन गर्ने लक्ष्य लिईएको अध्यक्ष अधिकारीले बताईन् । सहकारीबाट सञ्चालित फर्मबाट ६ जनाले प्रत्पक्ष रोजगारी पाउनेछन् भन्, ३५ जनाले प्रत्यक्ष र ५ सय ७५ जनाले अप्रत्यक्ष लाभ लिनेछन् । सहकारीबाट उत्पादित दुध जिल्ला सहकारी संघ कास्कीले खरिद गर्ने भएको छ । सोही आयोजना सञ्चालन पुर्व सहकारीले एक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका शेयर सदस्य तथा फार्म सञ्चालन गर्दा प्रभाव पर्ने स्थानका सरोकारवालाहरुको सहभागिता रहको छ । कार्यक्रममा वक्ताहरुले फार्म र अनुदानको निरन्तरता हुनपर्ने, कारोवार पारदर्शी हुनुपर्ने, उप आयोजनाले अन्य व्यक्तिलाई नकारात्मक असर पर्न नहुने लगायतका विषयबस्तुमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा सहकारीका सल्लाहकार तथा वडा नम्बर १४ का सदस्य तनुजा थापा सिकेले चौतारीमा बसेर बचत संकलन गरी शुरु भएको सहकारीले अहिले एक करोडको आयोजना सञ्चालन गर्न सक्षम भएकोमा खुशी व्यक्त गरिन् । मन्त्रालयको ग्रामिण विकास तथा आर्थिक विकास आयोजनाका कृषि विज्ञ विष्णु दयाल सिंहले नेपाल कृषि तथा पशुलालनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुसार सहकारीलाई सहयोग गरिएको बताए । उनले उक्त अनुदान रकम फार्मलाई तीन किस्तामा दिने समेत प्रष्ट्याए । उनले पशुधन खरिद गर्दा सार्वजनिक खरिद नियमावली अनुसार गर्न र अनिवार्य विमा समेत गर्न सहकारीलाई सुझाव दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बाँस्तोलाले सहकारीले दुध खरिद गरि किसान र किसान समुहको दुध नबिक्ने चिन्ताको अन्त्य गरिदिएको बताए । उनले नेपाली किसानहरुले भोग्दै आएको मिल्क होलिडेको अन्त्य गर्न जिल्ला सहकारी संघ सदैव लाग्ने बताए । मन्त्रालयको यो आयोजना नेपालका ३५ जिल्लाका १ सय ७१ पालिकामा सञ्चालित छ । कास्कीको पोखरा महानगरपालिका, मादी र रुपा गाउँपालिकामा यो आयोजना सञ्चालन भएको स्टार्टअप अनुदान सञ्चालन म्यानुअलमा उल्लेख छ । एसियन विकास बैंकको करिब १४ अर्ब २३ करोड ऋणमा यो योजना सञ्चालन भईरहेको छ ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उहाँले बताउनुभयो । फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ । सानालाई प्रतिकेजी रु ३५, मध्यमको रु ४० र ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ । समुद्र सतहबाट एक हजार छ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताउनुभयो । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका उहाँले बताउनुभयो । जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।
काठमाडौं: स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १ हजार ८ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु १ लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु १ लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु १ लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु १ लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज रु १ हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु १ हजार आठ सय २५ रहेको थियो ।
चितवन: जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दुधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ। एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको दुध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्। सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ। दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्। जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ। जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन् । यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ।

