व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने समस्या रहेको गुनासो गर्नुभयो । “एउटा सार्वजनिक शौचालय भए पनि फोहोर भएकाले प्रयोग गर्न नमिल्ने भएको रहेछ,” उहाँले भन्नुभयो “पानीको पनि सुविधा नभएकाले झाडी खोज्नुपर्दा असहज भयो ।” नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका अनुसार असोज महिनायता दैनिक तीन सय वटाको हाराहारीमा बस, जिप र मोटरसाइकलमा हजारौँ आन्तरिक पर्यटकहरु कोरला नाका घुम्न पुगेका छन् । छोसेरदेखि माथि कोरलातर्फ विदेशी पर्यटकलाई निषेध गरिएको छ । आन्तरिक पर्यटकहरुलाई पनि नेचुङभन्दा माथि क्यामेरा लैजान र कोरोला नाकामा चीनतर्फ फर्किएर तस्बिर खिच्न रोक लगाइएको छ । सुक्खा मरुभूमिजस्तै समथर फाँट, पृष्ठभूमिमा देखिने हिमाल र सीमापारि चीनले बनाएका संरचना हेर्न तथा किनमेलका लागि नेपालीहरु कोरला नाका पुग्ने गर्छन् । मोटरसाइकल चढेर कोरला नाका पुगेका पोखराका सौरभ गौतमले सूचनामूलक होडिङ बोर्ड र फोहोर फाल्ने डस्टबिन राख्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले सुरक्षा निकाय र आपत्कालीन आश्रयका लागि कोरलामा बनाएको १० कोठे प्रिफेक प्रविधिको अस्थायी संरचनाको भवनमा गत हप्ता अध्यागमन कार्यालय स्थापना भएको छ । अध्यागमन कार्यालय स्थापना गर्नुअघि कोरला नाकामा मोबाइल, इन्टरनेट र विद्युत् सुविधा विस्तार भएको थियो । कोरलामा ब्यवसाय गर्दै आएका लोमान्थाङ–१ छोसेरका छिरिङ ल्यामो गुरुङले खानेपानी र शौचालयको अभाव खड्किएको बताउनुभयो । “चीनले कहिलेकाहीँ ट्याङ्करमा दिने पानीले पुग्दैन्,” उहाँले भन्नुभयो, “१० किलोमिटर तलबाट गाडीमा पिउने पानी ओसार्ने गरिएको छ ।” संसदीय समितिको सुझाव कात्तिक दोस्रो साता गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको टोलीले कोरला नाकाको निरीक्षण गरेको थियो । निरीक्षणमा सहभागी मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य बिकल शेरचनले कोरलामा तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको विषयमा सरकारलाई सुझाव दिएको बताउनुभयो । खानेपानी र शौचालयका साथै फोहोर व्यवस्थापनका लागि तत्कालै काम गर्नुपर्ने उहाँले बताउनुभयो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रूपमा बन्द भएको थियो । चार वर्षपछि २०८० कात्तिक २७ गते कोरला नाका सञ्चालन भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । नाका सञ्चालनको व्यावसायिक योजना बनाउन र भौतिक संरचनाको आवश्यकता देखिएको गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिका सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । चीनलाई सुरक्षाप्रति विश्वस्त बनाउन नाकामा सुरक्षा र राज्यका निकायको नियमित उपस्थितिका लागि पूर्वाधार निर्माणको काम तत्कालै अघि बनाउन समितिले सरकारलाई सुझाव दिएको छ । कोरलामा बन्दरगाहा निर्माणका लागि सरकारले एक हजार रोपनी जग्गाको व्यवस्थापन पनि गरिरहेको छ । तर स्थायी भौतिक संरचना बनाउन बजेट व्यवस्थापन तथा काम सुरु भएको छैन । नेपाली टहरामा, चीनतर्फ भव्य महल कोरलाको चीनतर्फ निर्माण भएको भवनभित्र पसलहरु छन् । भवन पछाडि ठूलो बस्ती बसेको छ । चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रवेश अनुमतिपत्रका आधारमा मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा चिनियाँ बजारमा किनमेलका लागि जाने गर्छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाका लागि पनि प्रवेशपत्र वितरणको काम भइरहेको छ । हालसम्म करिब तीन हजारजनाले प्रवेश अनुमतिपत्र लिएका प्रशासनले जनाएको छ । छोसेरका व्यवसायीहरुले नेपालतर्फ त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन् । चिया तथा खाजा पसल खुलेपछि पर्यटक र व्यापारीलाई सहज भएको छ । अस्थायी टहरा नहुँदा चिसो बतास चल्ने सो ठाउँमा चिसोले पाँच मिनेट टिक्न पनि मुस्किल पर्ने गरेको थियो । चिनियाँ बजारबाट स्थानीयवासीले दैनिक उपभोग्य, मदिरा, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पीठो, चिउरा, चाउचाउ, जडीबुटी, पस्मिनालगायत सामान निकासी गर्न सकिने सम्भावना रहेको छ । हाल चीनबाट आयात मात्र भएको छ । नेपाली सामान चीनतर्फ निकासी हुन सकेको छैन । आर्थिक वर्ष २०८०/८१ मा रु आठ लाख राजस्व सङ्कलन गरेको नेचुङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक लाख १० हजार राजस्व उठेको जनाएको छ । कोरलाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर तल नेचुङमा रहेको भन्सार कार्यालय र प्रहरी चेकपोष्टमा ल्याउनुपर्दा झन्झट भएको उहाँले व्यवसायी मीना गुरुङले बताउनुभयो । अध्यागमन कार्यालयसँगै भन्सारसम्बन्धी सेवा र सुरक्षा पोष्ट पनि कोरलामै राख्नुपर्ने ब्यवसायीहरुले बताएका छन् । सरकारको प्रतिवद्धता अधिकृतको नेतृत्वमा आठजना कर्मचारी रहने गरी स्थापना भएको अध्यागमन कार्यालय चीनबाट नेपाल आउन र नेपालबाट चीन जानका लागि भिसा जारी गर्ने, भिसा ट्रान्सफरसम्बन्धी सेवा प्रवाह हुने अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताउनुभयो । अध्यागमन कार्यालयको कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको थियो । उहाँले कोरलालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको, हिन्दू धर्मावलम्बीहरुलाई मानसरोवरको तीर्थयात्रा र बौद्ध धर्मावलम्बीलाई लुम्बिनी आवतजावतको व्यवस्था मिलाइने बताउनुभएको थियो । उहाँले नेचुङमा निर्माण भएको सशस्त्र प्रहरी बलको (बिओपी)को भवनको पनि उद्घाटन गर्नुभएको थियो । जोमसोमदेखि कोरला नाकासम्म एक सय दश किलोमिटर दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक स्तरोन्नति थालिएको आठ वर्षमा पनि पूर्णता पाएको छैन । पोखरासम्मकै सडकलाई सहज बनाउन सरकारले प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताउनुभएको थियो । लोमान्थाङको लुङ्कुफाँटमा नेपाली सेनाको क्याम्प राखिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत वर्ष प्रदेश सरकारको रु ५० लाख बजेटबाट बनेको भवनमा अध्यागमन कार्यालय स्थापना भएको बताउँदै थप आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय तथा साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको थियो । चीनको कोरला र भारतको त्रिवेणी नाका जोड्ने सडकलाई गण्डकी प्रदेशको भाग्यरेखाका रुपमा प्राथमिकता दिएर स्तरोन्नतिको काम भइरहेको पनि उहाँले बताउनुभयो ।
दमौली: भगवान् वेदव्यासको अवतरणभूमि व्यासगुफा तथा आसपासका धार्मिक क्षेत्रको प्रचारप्रसर एवं प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बुधबारदेखि व्यासगुफा परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा हुने ज्ञानमहायज्ञमा धार्मिक एवं आध्यात्मिक गतिविधिका अतिरिक्त स्थानीय संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले राससलाई जानकारी दिनुभयो । “व्यास जन्मभूमिलाई विश्वसामु चिनाउने कार्यक्रमको मुख्य उद्धेश्य हो । यसमा सबै सङ्घसंस्था, व्यक्ति, राजनीतिक दलको साथ र सहयोग आवश्यकको अपेक्षा गरेका छौँ”, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको व्यासभूमिको प्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिँदै अध्यक्ष उहाँले भन्नुभयो, व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट अग्लो व्यासको मूर्तिका निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणाधीन छ ।
हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो । आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दु‘सिफ्ट’मा निर्माण भइरहेको छ । चरण–१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छभने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत्गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई चरणमा दुई सय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो । सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । “आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ ।” चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ । चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् । चरण–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिनुभयो । पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
गलकोट: दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरवाहीले उक्त सडकको काम पूरा नभएको हो । कम्पनीलाई काम पूरा गर्न चौथोपटक अवधि थपिएको भए पनि हाल निर्माण कम्पनी सम्पर्कविहीन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङ्खानी–बरेङ सडकमा निर्माण व्यवसायीबाट चरम लापरवाही इएको तथा तिहारपछि काममा नफर्किए ठेक्का रद्दका लागि दबाब दिने चेतावनी उहाँले दिनुभयो । पूर्वाधार विकास कार्यालयसँग २०७६ असोजमा दुई वर्षमा कालोपत्र गर्नेगरी शर्मा क्याराभानसँग ठेक्का सम्झौता भएको थियो । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई गुल्मीको शान्तिपुरसँग जोड्न २१ किमी सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । निर्माण व्यवसायीलाई अन्तिम पटकलाई आगामी असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुजन देवकोटाले बताउनुभयो । कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि सडक कालोपत्र नहुँदा सास्ती भएको हो । “रु २४ करोड ५८ लाखमा दुई वर्षमा काम पूरा गर्नेगरी ठेक्का सम्झौता भएको थियो”, देवकोटाले भन्नुभयो, “तिहारपछि पुनः पत्र पठाउँछौँ, काममा नफर्किए कारबाहीको प्रक्रिया थालिन्छ ।”
निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ। अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन। दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ। ‘केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ। बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ,’ उनले भने। पाण्डेकाअनुसार सडकविन्दुबाट १२.२५ मा नाला निर्माण हुनेछ। बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उनले जानकारी दिए। ‘दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ। मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन,’ उनले भने। सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन्। त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन्। केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताए। पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ। हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ। पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन्। त्यस्तै दुई ठूला पुल र १०३ वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उनले बताए।
काठमाडौं: नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्का रहेका छन् । उनलाई शनिबार राति १ थान पेस्तोल र खाली म्याग्जिन १ थानसहित प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरीले पक्राउ गरिएका खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।
दाङ: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको आज प्रदेश प्रमुख समक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका तीन मन्त्रीले आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गराउनुभएको हो । बर्दियाका जन्मजय तिमिल्सीना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्री तिमिल्सीना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक री मन्त्रीको सङ्ख्या ११ पुगेको छ । मुख्यमन्त्री आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, सत्ता साझेदार दल कांग्रेसका दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा (माओवादी केन्द्र)का दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायतको सहभागिता थियो ।
कोशी प्रदेश राज्यमन्त्री सिजना राईले रु एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो जीवनकालमा गायक गुरुङले साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप अक्षयकोष स्थापना गरेको राज्यमन्त्री राईले बताउनुभयो । “गुरुङले साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएको छ”, राज्यमन्त्री राईले भन्नुभयो, “यस्ता व्यक्तिलाई समाजले कदर गर्न अवश्यक छ ।”
पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य रामहरी न्यौपानेका अनुसार गुरुङको पाँच दिनअघि मात्रै दोस्रो पटक ‘किमोथेरापी’ गरिएको थियो । सोमबार बिहानसम्म अवस्था सामान्य रहेकामा दिउँसोबाट गाह्रो भएपछि राती अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेर उहाँ निर्वाचित हुनुभएको थियो । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय उहाँ हाल कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा महासमिति सदस्य हुनुहुन्थ्यो ।
                    
