धनगढी:  दुई प्रदेश प्रमुखले डडेल्धुराको पर्यटकीय क्षेत्र आलितालको अवलोकन भ्रमण गरेका छन् ।   गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले बिहीबार आलिताल गाउँपालिका वडा नं. ३ अवस्थित आलितालको अवलोकन भ्रमण गरेका हुन् ।   प्रदेश प्रमुखद्वयलाई गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष, मैनाकुमारी रावल बोहरा, वडा नं. ३ अध्यक्ष बलबहादुर बुढा मगर लगायतले स्वागत गरी तालको बारेमा जानकारी गराएका थिए ।     त्यसअघि, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई गाउँपालिकाले आफ्नो कार्यालयमा स्वागत तथा सम्मान पनि गरेका थिए ।     गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावल बोहराले दुई प्रदेश प्रमुखहरु पहिलो पटक आफ्नो क्षेत्रमा आगमन भएकोमा खुशी व्यक्त गर्दै गाउँपालिकाको परिचय दिएका थिए ।     सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले आफू पहिलो पटक यस क्षेत्रमा आएको अनुभव सुनाउँदै सुदूरपश्चिम वास्तवमै सुन्दर रहेको बताए।   उनले भित्री मधेशको भौगोलिक अवस्था रमणीय रहेको उल्लेख गर्दै प्राकृतिक स्रोत साधनको उचित उपयोग गरी समृद्धितर्फ लम्कन सकिने बताए ।   गण्डकी प्रदेश प्रमुख भट्टले पारिवारिक भेटघाटको अवसरसँगै आलितालका जनप्रतिनिधिहरूसँग भेटघाट गर्न पाएको बताए।   आफू आलिताल–३ चौडकै पूर्व बासिन्दा रहेको स्मरण गर्दै उनले बाल्यकालदेखि नै यस भेगसँग गहिरो सम्बन्ध रहेको बताए। भट्टले पहिलेको तुलनामा अहिले विकासको गतिले तीव्रता पाएको उल्लेख गर्दै शिक्षादेखि यातायातसम्मका सेवासुविधाहरूमा सुधार आएको बताए। पालिकाका अध्यक्ष पार्कीले आलितालको प्रमुख समस्या पुल निर्माण रहेको उल्लेख गर्दै अहिलेसम्म बजेटको सुनिश्चितता नभएको गुनासो गरे।   प्रदेश प्रमुखद्वयलाई आलिताल–४ स्थित घरेलु क्षेत्रमा पनि स्वागत गरिएको थियो । वडाध्यक्ष कमल बोहरालगायतका जनप्रतिनिधि, स्थानीय तथा विद्यार्थीहरूले न्यानो स्वागत गरेका थिए । कार्यक्रममा दुबै प्रदेश प्रमुखज्यूहरूले वडा तथा पालिकाका माग र समस्या बारेमा मनन गर्दै समाधान गर्न पहल गर्ने बताएका थिए । प्रदेश प्रमुखद्वय डडेल्धुरा जाने क्रममा गृहपालिका कैलाली चुरे–६, फल्टुडे र डोटीको बुडर पिपलचौतारीमा भेटघाट तथा स्वागत कार्यक्रममा पनि सहभागी भए ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताउनुभएको छ ।    गण्डकी प्रदेश सभा र गण्डकी सरकारले सँयुक्त रुपमा पोखरा आयोजना गरेको समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने धारणा राख्नुभएको हो ।   उहाँले सो अवसरमा नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामू जिम्मेवार भई काम गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘नागरिकसामू जिम्मेवार भई उहाँहरुका अपेक्षा तथा चाहना गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रहि पूरा गर्न सक्नुपर्छ । त्यसका लागि यस अवसरमा शुभेच्छा प्रकट गर्दछु ।’    प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबीच  सामाजिक,  सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानून निर्माण र कार्यान्वयनको विषयमा सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।   उहाँले गण्डकी प्रदेशको स्थापनाकालबाट हालसम्म हाँसिल गरेका उपलब्धिहरू प्रशंसनीय रहेको बताउनुहुँदैं थप उपलब्धि हाँसिल गर्न अझ प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।   ‘प्रदेशको स्थापनाकालबाट हालसम्म हाँसिल गरेका महत्वपूर्ण उपलब्धिहरू प्रशंसनीय छ यद्यपी थप उपलब्धिका लागि प्रतिबद्धता र अठोट गर्न आजको दिन (स्थापनका दिवस) महत्वपूर्ण र ऐतिहासिक रहेको छ’, उहाँले भन्नुभयो ।    प्रदेश प्रमुख भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।   ‘प्रदेश सभा र प्रदेश सरकार आ–आफ्नो संस्थाको संस्थागत विकासका लागि कानुनी आचारसंहिताको पूर्ण पालना, हालसम्मका अनुभवहरुमध्ये असल अभ्यासको अनुशरण, वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरुलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता रहेको छ’, उहाँले भन्नुभयो ।   प्रदेशले बनाउनु पर्ने कानूनहरु, शान्ति सुरक्षामा सुधार, प्रदेशबाट राष्ट्रिय तहको कूल ग्राहस्थ उत्पादन, उद्यमशिलताको विकास, कृषियोग्य भूमिको चक्लाबन्दी, कृषिमा आधुनिकीकरण तथा यान्त्रिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना, प्रदेशको राष्ट्रिय प्रति व्यक्ति आयमा वृद्धि, मानव विकास सूचकाङ्क, सरदर आयु, साक्षरता दर लगायतमा वृद्धि गर्नुपर्ने र युवाहरुको विदेश पलायन साथै प्रदेशको बहुआयामिक गरिबीको दर घटाउनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।   प्रदेश सरकारका उक्त आवधिक योजनाहरुलाई प्राप्त गर्न कुशल कार्यान्वयन भएको खण्डमा मात्र दिगो विकासको लक्ष्य प्राप्त गर्ने राष्ट्रिय अभियानमा गण्डकी प्रदेश सरकारको योगदानको पुष्टि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ ।  भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने तयारी गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका भाषा अभियन्ता, संघ–संस्था प्रतिनिधि, प्रदेश सभा सदस्य, सामाजिक अभियन्ता तथा सरकारी अधिकारीहरुको उपस्थितिमा पोखरामा सम्पन्न कार्यक्रममा सहभागीहरूले विधेयकलाई प्रभावकारी बनाउन विभिन्न सुझाव राखेका छन् । नेपाल मगर संघका उपमहासचिव खम बहादुर पुन मगरले मगर भाषाका विभिन्न रूप—ढुड, खाम, काइकेलाई विधेयकमा समेट्नुपर्ने बताए । उनले विद्यालय स्तरमा पनि भाषाको पठनपाठन सुनिश्चित गरिनुपर्ने माग गरे । तमु धिं नेपालका भाषा विभाग प्रमुख कृष्ण कुमार गुरुङले प्रदेशका कुन जिल्लामा मातृभाषाको प्रभाव छ भन्ने स्पष्ट तथ्याङ्क संकलन गर्नुपर्ने धारणा राखे । तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले विधेयकको मस्यौदा तयार गर्दा सरोकारवाला समुदायसँग छलफल आवश्यक रहेको बताए । उनले प्रदेश सरकारलाई भाषा प्रतिष्ठान गठन गर्ने अधिकार संविधानले नै प्रद्धत गरेको भन्दै विधेयकमा यसको व्यवस्था हुनुपर्ने उल्लेख गरे । राष्ट्रिय न्यायिक अधिकार मञ्चका संयोजक अमृत गुरुङले सरकारी कामकाजमा भाषाको प्रयोग नै हुन आवश्यक रहेको बताए । विधेयकमा गरिनेछ भन्दा पनि गर्नेछ जस्ता शब्द प्रयोग गरिनुपर्ने धारणा उनको छ । तमु ह्युला छोज धिं कास्कीको अध्यक्ष सीता गुरुङले जातीलाई संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरिन् । उत्पादनका विषयहरुलाई समेत समावेश गरि प्रोत्साहन गर्ने बाटोमा समेत विधेयक अग्रसर हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सांकेतिक भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिइन् । प्रदेश सभा सदस्य लिल बहादुर थापा मगरले विधेयकका विषयमा सामाजिक विकास समितिमा दफाबार छलफल गरिने र मात्रै सदनमा प्रस्तुत हुने बताए । प्रदेश सभा सदस्य पंचराम गुरुङले विधेयक प्रशंसनीय भए पनि हतारमा पारित नगरि व्यापक छलफलका आधारमा अगाडि बढिने उल्लेख गरे । सबैका विचारलाई सुन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विधेयकलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले भाषा कार्यान्वयनका लागि कार्यविधि निर्माण गरिने र उठेका सुझावहरू औचित्यका आधारमा विधेयकमा समावेश गरिने जानकारी दिए ।  प्रदेश सरकारले अब विधेयकलाई संसदमा छलफलका लागि पेश गर्ने तयारी गरिरहेको छ। विभिन्न सरोकारवालाहरूको सुझावलाई विधेयकमा समेटेर भाषा संरक्षण र प्रवद्र्धन गर्ने योजनासहित सरकार अघि बढ्ने मुख्यमन्त्रीको धारणा छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले हिउँदे अधिवेशनमा नै उक्त विधेयक पास गर्ने गरि मन्त्रालय लागिरहेको उल्लेख गरे ।  उनले कास्की अघि स्याङजा, तनहुँ, लमजुङ र बाग्लुङमा समेत विधेयकको मस्यौदा माथि व्यापक छलफल गरिएको जानकारी गराए । प्राप्त सुझावलाई अनुसरण गर्दै विधेयकलाई अन्तिम स्वरुप दिइने भनाई उनको छ । सचिव नवराज ढकालले स्वागत गरेको कार्यक्रममा गण्डकी प्रदेशका सांसद, मगर र गुरुङ समुदायका सरोकारवालहरुले आफ्नो धारणा राखेका थिए । 

पोखरा:  उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेलमा ८ टिम छनौट भएका छन् ।   छनौट हुनेमा टप्स इङलिस बोडिङ स्कुल, मदरल्याण्ड सेकेन्डरी स्कुल, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुल, डाइमन्ड सेकेन्डरी स्कुल, गुरुकुल विद्यासदन, जुनियर सिटिजन एकेडेमी, पोखरा युनाइटेड एकेडेमी र कास्की मोडनाइज एकेडेमी छनौट भएका छन् ।   बाँकी दुई टोलीको छनौट हारेका ८ टिम निधारण हुनेछ । बिहीबार हार्ने टोलीबाट चार खेल सम्पन्न भएका छन् । अब शिसुनिकेटन र सगरमाथा,  हिलप्वाइन्ट र ग्लोबल कलेजीटको बिजेता छनौट हुने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रयोगितालाई युआरएलले मुख्य प्रायोजन गरेको छ ।   हिसान गण्डकीका अध्यक्ष डा रामजी शर्मा कास्की छनौट प्रतियोगितामा ३१ विद्यालय सहभागीता जनाएको प्रतियोगिताबाट गण्डकी प्रदेशका लागि १० टिम छनौट हुने बताए ।   प्रतियोगितामा कास्कीबाट १०, नवलपुरबाट २, स्याङजाबाट १, पर्वत, बाग्लुङ र म्याग्दीबाट १, तनहुँ, लम्जुङ र गोरखाबाट १ गरी १६ टिमले प्रदेश स्तरीय प्रतियोगिता खेल्ने छन् ।   हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् ।   प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान कास्कीका अध्यक्ष दिवाकर जैसिले जानकारी दिए ।   सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो ।   हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता गरिएको सविन मेमोरियल क्लबका अध्यक्ष सञ्जय लिगले बताए । गण्डकी प्रदेशका लागि कास्की छनौट प्रतियोगिता माघ १८ गते सम्म सञ्चालन हुने छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एमबी आस्थामगर निर्वाचित भएका छन् ।   मञ्चको आज बिहीबार भएको तेस्रो अधिवेशनले एमबीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।   प्रतिस्पर्धी सुरज श्रेष्ठलाई पराजित गर्दै एमबी अध्यक्ष निर्वाचित भएका हुन् । निवर्तमान सदस्य एमबीले ३६ मत पाउँदा निवर्तमान उपाध्यक्ष सुरजले २७ मत आएको थियो ।   उमा आलेमगर उपाध्यक्ष (समावेशी) निर्वाचित भइन् । उमाले ३६ मत पाउँदा उनकी प्रतिस्पर्धी राधिका कँडेलले २७ मत ल्याइन् ।   पर्शुराम शर्मा महासचिव निर्वाचित भएका छन् । उनले ३८ मत ल्याउँदा प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत पाइन् ।   सचिवमा राजु गिरी ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कविता घर्तीमगरले २३ मत पाइन् ।   उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्षमा भने विमल तिवारी निर्विरोध भएका थिए ।     मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मति भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको हो ।   सदस्यहरुमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पाैडेल चुनिएका छन् ।  

तनहुँ:    गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ ।  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।       मन्त्रालयले आइतबार दमौलीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा सुझाव सङ्कलन गरेको छ । सरकारले मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा बनाउन विधेयक तयार गरेको छ । सोही विधेयकमा टेकेर प्रदेशका विभिन्न जिल्लामा पुगेर सुझाव सङ्कलन गरिएको मन्त्री थापाले बताउनुभयो ।       गण्डकी प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, संवर्द्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा जनताको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गर्न खोजिएको मन्त्री थापाको भनाइ छ ।       भाषा आयोग काठमाडौँले प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न सिफारिस गरेको मन्त्री थापाले बताउनुभयो ।       सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा गण्डकी प्रदेश सरकारले गत साउन २२ गतेको निर्णयबमोजिम उक्त विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्राप्त भई मस्यौदा निर्माण प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । आगामी हिउँदे अधिवेशनबाट संसद्मा टेबुल गर्ने सरकारको योजना छ ।       गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८ दशमलव ८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा छ । 

पोखरा:    कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबार देखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ  ६ गते सम्म चल्ने छ । महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिक झाकि सहितको ¥याली निकालिएको थियो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव कोषेढुङ्गा सावित हुने बताए । ‘शहर केन्द्रीत महोत्सव धेरै हुने गरेका छन् तर तपाईहरुले आफ्नो गाँउको प्रचार प्रसार गर्नका लागि थालेको यो प्रयास महत्पूर्ण छ’ उनले भने, ‘पक्कै पनि यो महोत्सव यो क्षेत्रको पर्यटन र खेल क्षेत्रको प्रवद्र्धनमा कोषेढुङ्गा सावित हुने मेरो विश्वास छ ।’ उनले थुम्सीकोट देखि गहते मिजुरे पाखुरीकोट नागीधार पोसी सम्मको सडक स्तरोन्नतीकालागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय तथा समाजसेवी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खानेपानी धारा र चौताराको परिवारका सदस्य र कार्यक्रमका प्रमुख अतिथि गुरुङले संयुक्त रुपमा उद्घाटन गरे । महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल तर्फ कास्की लम्जु·का गरी २८ टिमको सहभागिता रहेको खेल संयोजक तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए । शुक्रबार भएको पहिलो खेलमा नागीधार एफसीले वालुवा एफसीलाई २–० ले पराजित गर्दा वद्रर एफसीले पोसी एफसीलाई ६–० ले पराजित ग¥यो । यसैगरी पाखुरीकोट एफसीले मुग्री एफसीलाई ४–० ले पराजित गर्दा कुम्लु· एफसीले थुम्सीकोट एफसीलाई टाइवेकरमा ३–२ ले पराजित गरेको ग¥यो । नागीधार गाउँ तथा त्यस आसपास क्षेत्रको पर्यटन, खेलकुद, संस्कृति संरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । नागीधार गाउँको सर्वागिण विकासमा क्रियाशील सामाजिक संस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सो तमु समाज नागीधार र नेदा तमु सेवा समिति पोखरा लगायत संस्थाहरुको संयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुको सहयोग तथा प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा खुल्ला सेभेन ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चित गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने छ । त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता रहेको छ । महोत्सवमा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महासमिति सदस्य दिपक गुरुङ, वडा नं. ८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङ, पूर्व वडा अध्यक्ष याम गुरुङ, महिला नेत्री तीर्थकुमार गुरुङले बोलेका थिए । संयुक्त मुल आयोजक समितिको संयोजक ओम प्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य कैलाश गुरुङले गरेका थिए । उक्त अवसरमा स्थानिय नागीधार आम समूह र प्रभात आधारभूत विद्यालयका विद्यार्थीले स्वागत गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ ।   बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरूलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।   नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए ।   पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन गर्दै आएका छन् । 'महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्‍याफ्टिङ सेवा प्रवाह गरेका छौँ', उनले भने ।   बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति आठ सय र बगरफाँटबाट दोभानसम्म छ सय शुल्कमा र्‍याफ्टिङ गर्न सकिने जनाइएको छ ।   नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा र्‍याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताए ।   उनले जलयात्रामा रमाउन चाहनेहरूको समूह बनेमा लामो दूरीमा समेत र्‍याफ्टिङ सञ्चालन गर्न सकिने जानकारी दिए ।   तत्कालका लागि दुईवटा आठ–आठजना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन् । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङ्गाबाट नयाँपुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ ।   म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बेनी आसपासको क्षेत्रमा जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा र्‍याफ्टिङले सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।   बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँपुल भएर मिर्मी पुग्न सकिनेगरी र्‍याफ्टिङ सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए 

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ ।   म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गरेको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमाल’ गीतले बेनी बजारलाई देश विदेशमा चिनाएको छ । बेनीबजारको चिनारीसँग जोडिएको छ ‘माघे सङ्क्रान्ति मेला’ । बेनीमा परम्परागत रूपमा लाग्दै आएको माघे सङ्क्रान्ति मेलाले बेनीको महिमालाई उजागर गर्छ ।   बेनीमा लाग्ने माघे सङ्क्रान्ति मेलाले बेनीबजारको व्यापार व्यवसाय, कला संस्कृति र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान दिएको बेनीका पुराना व्यवसायसमेत रहनुभएका ८३ वर्षीय पुन्यबहादुर शाक्यले बताए । उनका अनुसार, म्याग्दीका साथै पर्वत र बागलुङबाटसमेत बेनीस्थित कालीगण्डकीमा माघी नुहाउन आउने र मेला भर्ने चलन थियो । तत्कालीन समयमा हुने माघि मेला बेनी क्षेत्रमा मनोरञ्जन, व्यापार व्यवसाय र आपसी भेटघाटको माध्ययम थियो ।   'पहिले दुई दिन माघे सङ्क्रान्ति मेलाजात्रा हुन्थ्यो, टाढा टाढाबाट आएकाले नाचगान गर्ने, गाउँका सामान ल्याएर बिक्री गर्ने र घरमा आवश्यक पर्ने सामान किनेर लैजाने गर्थे, सञ्चारको कुनै माध्ययम नहुँदासमेत माघे सङ्क्रान्तिमा बेनीमा मानिसको भिड थामिनसक्नु हुन्थ्यो,' शाक्यले भने । खासगरि बेनीमा डाला नाङ्ला, ठेका, फलामका भाँडाकुँडा र घरेलु हतियार, लत्ताकपडा र खाद्यान्न सामग्री खरिद बिक्री गर्न माघे सङ्क्रान्ति मेलालाई उपयोग गर्ने चलन रहेको थियो ।   जिल्लाभरबाट मेला भर्न आएकाहरूले मेलामा छेलो फाल्ने प्रतिस्पर्धा गर्थे भने विजेतालाई साफा गुथाएर सम्मान गर्ने प्रचलन रहेको थियो । बेनीबजारको परम्परागत संस्कृतिको रूपमा रहेको माघे सङ्क्रान्ति मेलाले परिवर्तित समय अनुसार परिमार्जन र नयाँ–नयाँ प्रयोगसहित निरन्तरता पाइरहेको छ ।   माघे सङ्क्रान्ति मेलाजात्रालाई २०५७ सालदेखि आधिकारिक आयोजक बनेर सञ्चालन गर्न थालिएको थियो । सुरूवातका दुई वर्ष निर्माण व्यवसायी सङ्घले माघे सङ्क्रान्ति मेला आयोजना गरेकोमा २०५९ सालमा म्याग्दी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा मेलालाई निरन्तरता दिइएको थियो ।   त्यसयता हरेक तीन/तीन वर्षमा एकपटक म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव तथा अन्य वर्षमा महिला उद्यम विकास समितिका आयोजनामा मेला तथा सडकखाना महोत्सव सञ्चालन हुँदै आएको छ ।   विसं २०६० मा तत्कालीन धौलागिरि अञ्चलमै पहिलोपटक बेनीमा माघे सङ्क्रान्ति मेला तथा प्रथम म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठको नेतृत्वमा माघे सङ्क्रान्ति मेलालाई महोत्सवको रूपमा आयोजना गरिएको छ । 'मौलिक पर्वको रूपमा माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न पहिलो पटक महोत्सव लगाएका थियौँ, आज आइपुग्दा आठौँ संस्करणको महोत्सव आयोजना भइरहेको छ, जिल्लाको पर्यटन प्रवर्द्धन, सम्भावनाको उजागर, व्यापार व्यवसायको विस्तारसँगै कला संस्कृति संरक्षणमा महोत्सवको सकरात्मक प्रभाव रहेको देखिन्छ,' श्रेष्ठले भने ।   यस वर्ष म्याग्दी उद्योग वाणिज्य सङ्घले आइतबारदेखि आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला सञ्चालन गरेको छ ।   मेलालाई मनोरञ्जन र व्यापार व्यवसायको माध्ययम सँगसँगै जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक विकासको सम्भावना उजागर गर्ने गरि सञ्चालन गर्न लागिएको मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।   'महोत्सव विगतको मेलाको निरन्तरता हो, तर हामीले नयाँपन दिने जमर्को गरेका छौँ, जिल्लामा रहेका कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासलाई सघाउने गरि महोत्सवका कार्यक्रम तय गरेका छौँ,' उनले भने ।   जिल्लामा रहेका उत्पादन र लघुउद्यमीहरूले तयार गरेका वस्तु तथा सामग्रीको बिक्रीवितरण र पदर्शनीका लागि निःशुल्क स्टलको प्रबन्ध गरिएको छ । महोत्सवलाई जिल्लाको सम्भावना उजागरसँगै जलविद्युत्, खानी, पर्यटन लगायतको क्षेत्रमा लगानी भित्र्याउन बहस, छलफल र उचित वातावरण बनाउने माध्ययम बनाउने जमर्को गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए ।   म्याग्दी महोत्सवले जिल्लामा रहेका जातजातिका कला, संस्कृति संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । म्याग्दीको चिमखोलाबाट सुरू भएको थालीनाचलाई व्यापक बनाउन बेनीमा हुने मेला जात्राले सहयोग पुग्ने गरेको छ ।     मौलिक वेषभूषा, संस्कृतिको संरक्षणमा जागरण ल्याउन बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आयोजना हुने मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने गरेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुनले बताए ।   'बेनीमा माघे सङ्क्रान्तिको अवसरमा हुने मेलाजात्रा र महोत्सव मनोरञ्जन सँगसँगै संस्कृति संरक्षणको समेत माध्ययम बन्दै आएको छ, महोत्सवमा सबै समुदायको मौलिक कला संस्कृतिलाई प्राथमिकता दिने गरिएको छ, यसले संस्कृतिको संरक्षण गर्न र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न समेत सघाएको छ,' उनले भने ।   यसपटकको महोत्सवमा कलाकारहरूको सांगेतिक प्रस्तुतिसँगै खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्ने, खुला पुर्ख्यौली नाच , लोकनृत्य, भजन र रत्यौलीलगायत मौलिककला र संस्कृतिसँग सम्बन्धित प्रतियोगितालाई समावेश गरिएको छ ।