दाङ: लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन् । रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् । उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए । बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय सत्ता समीकरण फेरबदल भएका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यहाँ एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा लिखित सहमति भएको छ । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ ।
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो । दिउँसो साढे ३ बजे शपथ ग्रहणको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दल नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । महराले नागरिक उन्मुक्ति पार्टीसहित पाँच राजनितिक दल र एक स्वतन्त्र गरि ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै महराले प्रदेश प्रमुख समक्ष ४८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेकोले उहाँलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ । बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्नुभयो । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त हुनुभएकोमा बागमती प्रमुख शर्माले भट्टलाई बधाई ज्ञापन गर्नुभयो । प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले काम र अनुभवहरू पनि साटासाट गर्नुभयो । भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै आगामी दिनमा दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको थियो । प्रदेशका सिमान्तकृत समुदाय उत्थानका लागि गर्न सकिने भूमिकालगायत विषयमा कुराकानी भएको गण्डकी प्रदेश प्रमुख भट्टका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिनुभयो । उक्त अवसरमा बागमती प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा निमन्त्रणा समेत गर्नुभएको थियो ।
दाङ: लुम्बिनी प्रदेशमा रहेका चार राजनीति दलले नयाँ समिकरणको आधारमा सरकार बनाउने भएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाइ मुख्यमन्त्रीमा नियुक्त गर्न समर्थन गर्ने निर्णय भएको छ । समृद्ध लम्बिनी आत्मनिर्भर प्रदेश बनाउनको लागि सामाजिक न्याय, सुशासन र समद्धि सहितको बिकास जनताले प्रत्यक्ष अनुभुति गर्नेगरि संघिय लोकतान्त्रिक गणतन्त्रलाई सुद्ढ गर्दै प्रदेशको औचित्य पुष्टि गर्नेगरि सेवकको रुपमा प्रभावकारी ढंगले सरकार संचालन गर्नेगरी पाँच बुदे सहमति भएको छ । यस्ता छन् सहमति १. नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ने।क पा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलको दल नेता माननीय जोखबहादर महरा लाई लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रि नियुक्त गर्न समर्थन गरेका छौ। २. प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्ति सरकारमा सहभागी सबै सहयोगी दलहरुकोअपनत्व हुनेगरी गरिने छ । ३. प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्व विद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानिय सेवा ऐन निर्माण सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने छ। ४. प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वपंक्ति मध्यबाट एक निर्देशकसमिति निर्माणगरि कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने । ५. जनताको सेवालाई सरकारको सर्वपरि मान्दै राजनैतिक स्थायीत्व सहित लुम्बिनी प्रदेश सरकारको स्थायीत्व कायम राख्न प्रतिबद्ध छौं ।
पोखरा: गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ । संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मङ्गलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको छ । यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपा २ र एक स्वतन्त्र सांसद रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोग राष्ट्रका सेवा गर्न चाहने आम नागरिकको आशा एवम् भरोसाको केन्द्रको रुपमा रहेको बताएका छन् । उनले निश्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरी स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण राख्नु आयोगका लागि चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे । प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेश, पोखराको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आयोगले गरेको काम र भूमिकाको प्रशंसा समेत गरे । उनले भने, ‘देश संघीय संरचनामा रूपान्तरण भएसँगै जारी हुनुपर्ने संघीय निजामती सेवा ऐन जारी नभएको विषम परिस्थितिमा पनि प्रदेश सरकार र प्रदेश लोकसेवा आयोगबाट प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह हुँदै आएको छ ।’ पाठ्यक्रमलाई आवधिक रुपमा परिमार्जन एवम् अध्यावधिक गर्ने, परीक्षा प्रणालीमा सामयीक सुधार गर्ने जस्ता विधि र प्रक्रिया अवलम्बन गरी उम्मेदवारको परीक्षण र छनौट प्रणालीको गुणस्तरीयता कायम गर्दै योग्यता प्रणालीको संरक्षण गर्नमा प्रदेश लोक सेवा आयोग निरन्तर क्रियाशील रहनेछ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । प्रदेश प्रमुख भट्टले संविधान र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिमका कार्यहरुको अलावा स्मारिका प्रकाशन जस्ता रचनात्मक कार्यहरु समेत गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि नियमित कार्यहरुको प्रभावकारिता अभिवृद्धि गर्दै थप रचनात्मक कार्यहरु गर्न उत्प्रेरणा र सफलता मिलोस् भन्ने कामना गरे । उक्त अवसरमा उत्कृष्ट कर्मचारीबाट आयोगले अधिकृत छैटौं गोविन्द पौडेललाई नगद र सम्मानपत्रसहित प्रदेश प्रमुखबाट पुरस्कृत गरिएको थियो । प्रदेश प्रमुख भट्टले लोक सेवा आयोग गण्डकी प्रदेशले प्रकाशित गरेको स्मारिका समेत लोकार्पण गरे।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक शुभकामना सन्देशमार्फत् उहाँले नेपालीहरुको महान पर्व फागु पूर्णिमा ९होली पर्व० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व) मनाइने गरिन्छ । सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाएर फागु पूर्णिमा (होलीपर्व) मनाउँदै हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वासका साथ यस पर्व धुमधामका साथ मनाइने गरिन्छ ।

