वीरगञ्ज:   प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको तयारीका लागि केन्द्रीय समितिको बैठक मधेश प्रदेशको वीरगञ्जमा आइतबारबाट सुरु भएको छ ।    प्रेस सेन्टर नेपालको पर्साको वीरगञ्जमा जारी राष्ट्रिय परिषद् बैठक  वीरगञ्जको नगर सभा गृहमा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।    आज १४ गते बिहान ९ बजे बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले केन्द्रीय समितिको बैठकमा राख्ने एजेण्डा तय गरी सकेको प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश ईन्चार्ज गोबिन्द देवकोटाले जानकारी दिए ।   आज माघ १४ गते आइतबार दिउँसो २ बजे राष्ट्रिय परिषद बैठक बस्ने कार्यक्रम रहेको  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्साका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।   कार्यक्रममा देशभरिबाट ५ सय जना प्रेस सेन्टरका प्रतिनिधिहरुको सहभागिता रहने र कार्यक्रमको अन्तिम दिन माघ १५ गते सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यक्रममा सम्बोधन गर्नु हुने कार्यक्रम छ । 

शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके।   सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाले । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग आक्रोश पोखे ।   ‘हामीले धुलो कहिलेसम्म खाने मुख्यमन्त्री ज्यू ?,’ काठेखोला–६ का वडाध्यक्ष वृहस्पती शर्माले भने, ‘अन्य सडक दुई वर्षमा कालोपत्र हुन्छ, बिहुँको सडक किन यस्तो भयो, यहाँका जनता आजित भए।’   मुख्यमन्त्री पाण्डे मध्यपहाडी पुष्पलाल लोकमार्ग अयोजना, निर्माण व्यवसायी र बिहुँका स्थानीयलाई राखेर कुरा गर्ने आश्वासन दिएर आफ्नो गन्तव्यतर्फ लागे।   राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँखण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । बाह्र किलोमिटर लामो सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुनः ठेक्का आह्वान गर्ने तयारीमा आयोजना रहेको छ । तर त्यसका लागि ढिला भएको भन्दै स्थानीय आक्रोशित छन् ।   बिहुँका स्थानीय दिवस कँडेल काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरेपछि आयोजनाले ठेक्का रद्द गरेको बताउँछन्। पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग पटक–पटक अवरुद्ध गर्दै आएका छन्।    लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये २५ किलोमिटर सडकखण्ड कालोपत्र हुन सकेको छैन । सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीमध्ये बिहुँखण्डको कम्पनीसँग दुई महिनाअघि ठेक्का सम्झौता रद्द गरिएको हो ।    बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्डको ठेक्का सम्झौता म्याद सकिएको छ भने घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द भइसकेको छ ।   पुन: ठेक्काका लागि अर्थ मन्त्रालयलाई जानकारी गराएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिए।   ‘निर्माण व्यवसायीको लापर्वाहीले सम्झौता रद्द गरिएको हो, तल्लो खण्डमा अहिले काम रोकिएको छ,’ उनले भने। दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्रको काम नगर्दा समस्या भएको हो।  

पोखरा:   राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको छ।  एमाले गण्डकीले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको हो। अन्यतर्फ चक्रबहादुर पराजुली, मोहनलाल शर्मा र ममतादेवी शर्मा उपाध्याय सिफारिस भएका छन् । अपाङ्गता अल्पसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस गरेको छ ।  महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी  सिग्देल अर्याललाई सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। गण्डकीमा तीन क्लस्टरमा एकरएक गरी तीन पदका लागि निर्वाचन हुँदै छ। अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यकमा निर्वाचन हुन लागेको हो।    राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदै छ। अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । 

पोखरा:   नेकपा एमाले गण्डकी प्रदेशको पहिलो बैठकले जनवर्गिय संगठनको अधिवेशन माघ भित्र तथा जिल्ला अधिवेशन चैत्र भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।  शुक्रबार पोखरा बसेको गण्डकी प्रदेशको पहिलो बैठकले गण्डकीका ११ जिल्लाको अधिवेशन चैत महिनाभित्र गर्ने निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिईन । बैठकले पार्टी कमिटी सदस्यहरुको कार्य विभाजनसमेत गरेको छ । जस अनुसार गण्डकी प्रदेशका निर्बाचन क्षेत्र ,भुगोल  जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न  बिभागिय जिम्मेवारी  तोकेको सचिब धनन्जय दवाडी जानकारी दिए। सचिब दवाडीका अनुसार पार्टीबाट निर्बाचित  स्थानिय तहका जनप्रतिनिधिहरूलाइ प्रशिक्षण सहित प्रथम अधिबेशनबाट निर्वाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाइ नेतृत्व बिकास कार्यशाला समेत आयोजना गर्ने निर्णय गरेको छ ।   

सिन्धुली:    सिन्धुलीको सुनकोशी गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।  आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थलमै मृत्यु भएको थियो ।  त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।  रामेछापको सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा सो दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरूको मृत्युपछि स्थानीयले सो बसमा आगजनी गरेका छन् । बसमा आगो लगाएपछि आज बिहानदेखि सो राजमार्गमा सवारी आवागमन बन्द भएको छ ।

पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत डुम्रे–छिर्कन ६ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेको छ ।   बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।   यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो। पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ। त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ।   उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ। एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए।   आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ।   पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो।   चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए।

काठमाडौँ:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।   कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।   आज राति भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।    देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन ृपहिलो संशोधने पारित गरेको छ ।   गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरीको व्यवस्था भएको थिएन । गाउँसभामा संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समितिका संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०८० पेस गर्नुभएको थियो । त्यसैगरी वातावरण समितिका संयोजक शिवबहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन गर्न बनेको विधेयक, २०८० पेस गर्नुभएको थियो ।   नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेस गर्नुभएको थियो । गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिवबहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेस गर्नुभएको थियो ।   स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा भएका हुन् ।   देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।    कोसेली घरमा उद्यमशील महिलाले आफूले उत्पादन गरेको हरेक वस्तु ल्याएर बिक्री गर्न सक्नेछन् । देवघाट गाउँपालिकाले विगतमा सञ्चालन गरेका विभिन्न हस्तकला, सिलाइसम्बन्धी कुसन, दुना टपरी बनाउने तालिम प्राप्त गरेका महिलालाई लक्ष्य गरी गाउँपालिकाको स्वीकृत बजेटअनुसार कोसेली घर स्थापना गरेको हो ।    कोसेली घरमा हस्तकलाद्वारा निर्मित सामग्री ल्याएर बिक्री वितरण गर्न  र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेलीस्वरुप प्रदान गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिनुभयो ।    यसैगरी बन्दीपुरमा गाउँपालिका र बन्दीपुर परिश्रमी युवा समूहद्वारा हाम्रो बन्दीपुर कोसेली घर सञ्चालनमा आएको छ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पाहुनालाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्नका लागि आउँछन् । उनीहरूले बन्दीपुरको चिनारीस्वरुप स्थानीयस्तरमा उत्पादित सामग्री लैजान सक्छन् । यहाँ खाद्यान्नदेखि हस्तकलाका सामग्री बिक्री वितरणका लागि राखिएका छन् ।”   जिल्लाको सदरमुकाम दमौलीमा पनि कोसेली घर सञ्चालनमा छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँद्वारा सञ्चालित कोसेली घर स्थानीय उत्पादन बिक्री वितरणका लागि प्रभावकारी बनेको छ ।    महिलालाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो । जिल्लाभरका महिलाले उत्पादन गरेका सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न कोसेली घर सञ्चालन गरिएको र यो प्रभावकारी बनेको उहाँको भनाइ छ ।   कोसेली घरमा डोको, कुचो, भाङ्ग्रो, ढकिया, बाँसका सामग्री, मुढालगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ । महिला उद्यमीबाट खरिद गरी ल्याइएका सामग्री कोसेली घरमार्फत न्यून मूल्यमा बिक्री गरिएको गौलीले जानकारी दिनुभयो । उहाँले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने राससालाई जानकारी दिनुभयो ।    कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रु पाँच लाख सहयोग गरेको थियो । उक्त रकमबाट घर सजावट गरिएको छ । त्यस्तै सोही मन्त्रालयबाट रु दुई लाख सहयोग भएको थियो । उक्त रकमबाट गोदाम निर्माण गरिएको छ । कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीले बनाएका गरेका सामग्री राखिएका छन् ।