गण्डकी: ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारासहित यही भदौ १५ गते १७औँ राष्ट्रिय पुस्तकालय मनाइँदैछ । गण्डकी प्रदेशमा रहेका सामुदायिक तथा सार्वजनिक पुस्तकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । उक्त दिवसका अवसरमा पोखरा सार्वजनिक पुस्तकालय÷अमेरिकन कर्नर पोखरा र नेपाल पुस्तकालय सङ्घ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कास्की जिल्ला विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु सात हजार, द्वितियलाई रु पाँच हजार, तृतीयलाई रु चार हजार र सान्त्वना पुरस्कार रु दुई हजार राखिएको छ । यस्तै विसं २००३ सालमा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा यही भदौ ११ गते पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ र १३ गते गते विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘सिर्जनात्मक लेखन कार्यशाला’ आयोजना गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । १४ गते पुस्तकालय दिवससँग सम्बन्धित शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ । सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । दिवसका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुस्तक उपहार दिने कार्यक्रमसमेत तय गरिएको उहाँले जानकारी दिनुभयो । भदौ १५ गते सम्मान र पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ । सोही समारोहमा पुस्तकालयको विभिन्न पदमा रही ४० वर्षसम्म सेवा पु¥याउनुभएका पुस्तकालयका संरक्षक समिति सदस्य हरिहर श्रेष्ठलाई दीर्घ सेवा सम्मान प्रदान गरिने भएको छ । “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “बालबालिकाको सिर्जनात्मक क्षमता विकाससँगै उनीहरुलाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी यस वर्षको कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् । पुस्तकालयमा विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । पुस्तकालयमा छुट्टै बाल पुस्तकालय स्थापनाको तयारी अगाडि बढेको छ । पर्वतको फलेवासमा रहेको मोती सामुदायिक पुस्तकालयले पनि विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको छ । पुस्तकालयका पुस्तकाध्यक्ष इन्द्र सापकोटाकाअनुसार समुदायमा सरसफाइ सचेतना, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, सम्मान, चित्रकला प्रतियोगितालगायत कार्यक्रम तय गरिएको छ । गत साउन २१ गते शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको सचिवस्तरीय बैठकबाट ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यसहित १७औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने निर्णय गरेको थियो । पुस्तकालयमार्फत ज्ञान, सीप तथा सूचना पहुँच, अध्ययन गर्ने बानीको प्रवद्र्धन र सामुदायिक भावना सम्मिलित समावेशी तथा सहभागितामूलक कार्यक्रम गरी भव्य रुपमा उक्त दिवस मनाउन मन्त्रालयले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुलाई अनुरोध गरेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा हाल ४० भन्दा बढी सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालित छन् ।
पर्वत: मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् । जापानी नागरिक मात्सुसिता हिरोयुकी र उहाँकी पत्नी रियो मितोको आर्थिक सहयोगमा २० वर्ष अगाडि उक्त विद्यालयका दुईवटा भवन निर्माण भएका थिए । यसपटक उहाँहरूले बस खरिद गर्न उक्त रकम विद्यालयका प्रधानाध्यापक अजय लामिछानेलाई बिहीबार हस्तान्तरण गर्नुभएको हो । प्रधानाध्यापक लामिछानेका अनुसार यसअघि जापानको नागासाकी निची लायन्स क्लबले बस खरिद गर्न रु १० लाख प्रदान गरेको थियो । उक्त रकबाट बस खरिद गर्न अपुग भएपछि विद्यालयले स्थानीय मोदी गाउँपालिकासँग रु १५ लाख सहयोग मागेको थियो । उक्त पालिकाबाट ऋण सहयोग प्राप्त नभएका बेला जापानी दम्पतीबाट सहयोग भएको हो । यो दम्पतीले विद्यालयका लागि पाँचकोठे भवन निर्माण गरिदिएका थिए भने हरेक दुई वर्षमा विद्यालयमा नै आएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सीप र कला सिकाउने गरेका छन् । स्थानीयवासी डा खड्गबहादुर केसीमार्फत जापानी दम्पती विद्यालयसँग जोडिएका हुन् । डा केसी त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष हुनुहुन्छ ।
रामेछाप: यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गर्नुभएको छ । उहाँले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गर्नुभएको हो । ती विद्यालयले छनोट गरेका गरिब तथा जेहेन्दार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ । उहाँले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताउनुभयो । पूर्ण छात्रावृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको छ, भने आंशिक तर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ । सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताउनुभयो । भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफू जस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “गाउँमा अझै छोराछोरीबीचको विभेद् कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ”, तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भन्नुभयो, “शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।” आठ वर्ष अघिदेखि छात्रावृत्ति कार्यक्रम सञ्चालन गदै आउनु भएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौँ हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष रु १० लाख भन्दा बढी खर्च हुने गरेको छ । छात्रावृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसका छ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मावि गैराथोकका १०÷१० जना विद्यार्थी रहेका छन् । त्यसैगरी जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ र मावि चिण्डे फूलासीका एक सय १३ गरि कूल तीन सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।
काठमाडौं: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ । सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चिता गरेको छ । अर्थले यससम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ । गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गर्नुभएको थियो । मन्त्रालयले पाँच करोड विनियोजन गरे पनि थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन । मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले पाँच वर्षअघि पूर्वाधार विकास गरेर बसेका थिए तर मन्त्रालयगत बजेट प्राप्त नहुँदा अघि बढ्न नसकेको कार्यक्रम यसपालि अघि बढेको हो । चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानमा ‘एमबिबिएस’ पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने मन्त्रालयले तयारी थालेको छ । “देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,” मन्त्री पौडेलले भन्नुभयो, “प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ ।” मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तीन सय शय्याभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ ।
कैलाली: कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन् । अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ । टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ मा पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका छन् । टीकापुरले यसै वर्षदेखि कक्षा १ देखि ३ पूर्ण रूपमा निरन्तर मूयाङ्कन लागू गरेको हो । कक्षा १ देखि ३ सम्मको आउने भदौ ४ गतेदेखि हुने सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माण नगर्ने र निरन्तर मूल्याङ्कनका आधारमा मूल्याङ्कन गरिने शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “अब हामीले ३ कक्षासम्म प्रश्नपत्र बनाउने, परीक्षा लिने काम गर्दैनौँ, निरन्तर मूल्याकङ्नका आधारमा उहाँहरूको नतिजा आउनेछ”, उहाँ भन्नुहुन्छ, “साना नानीबाबुको केही समयको परीक्षाले मूल्याकङ्न हुँदैन भनी निरन्तर मूल्याकङ्न थालेका हौँ ।” जोशीपुर गाउँपालिकाले पनि यसै वर्षबाट निरन्तर मूल्याङ्कनलाई कडाइका साथ लागू गर्ने र अन्य कक्षाको लागि प्रश्नपत्र निर्माण गर्न थालेको छ । “हामीले पनि कक्षा ३ सम्म प्रश्नपत्र बनाउन छाडेका छौँ”, शिक्षा अधिकृत सङ्ग्रामसिंह धामी उहाँ भन्नुहुन्छ, “शैक्षिक सुधार, गुणस्तर वृद्धिमा ध्यान दिइरहेका छौँ । साना बालबालिकाको मूल्याकङ्नका आधारमा परीक्षा हुनेछ ।” शिक्षा अधिकृत धामी कुनै विद्यालयले विद्यार्थीको क्षमता बढाउन प्रश्नपत्रको आधारमा परीक्षा लिए पनि त्यसलाई नतिजाको आधार नबनाइने बताउनुहुन्छ । “परीक्षा अन्य प्रयोजनका लागि विद्यालयले लिन सक्नेछन्”, उहाँले भन्नुभयो, “परीक्षा त मासिक, साप्ताहिक परीक्षण हुनेछ तर कक्षामा लिइएको परीक्षा नतिजामा समावेश हुनेछैन ।” जानकी गाउँपालिकाले पनि यसै वर्षदेखि निरतनर मूल्याङ्कन शतप्रतिशत लागू गर्ने र अहिले सञ्चालित प्रथम त्रैमासिक परीक्षामा पनि कक्षा १ देखि ३ मा प्रश्नपत्र निर्माण नगरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडी बताउनुहुन्छ । “विद्यालयलाई निरन्तर विद्यार्थी मूल्याकङ्नका लागि पुस्तिका उपलब्ध गराएका छौँ, पुस्तिकामा भएको मापदण्डअनुसार मूल्याङ्कन हुनेछ”, उहाँ भन्नुहुन्छ, “त्यसैका आधारमा अन्तिम नतिजा प्रकाशित हुन्छ । कतिपय विद्यालयले विद्यार्थी ब्यस्त राख्न परीक्षा गरेको देखिन्छ तर यो आन्तरिक प्रयास मात्र हो ।” टीकापुर, जोशीपुर र जानकीले जस्तै लम्कीचुहा नगरपालिकाले पनि यस वर्षबाट कडाइका साथ निरन्तर मूल्याङ्कनलाई जोड दिएको छ । गत वर्षबाट लागू गर्ने प्रयास गरे पनि सफल नभएको र यस वर्षबाट भने लागू गरिसकेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताउनुभयो । “राष्ट्रिय पाठ्यक्रम प्रारुपमा भएको व्यवस्थाअनुसार हामीले गत वर्ष पूर्ण रूपमा सबै विद्यालयमा लागू गर्न सकेका थिएनौँ, यस वर्ष सबैमा लागू भएको छ”, न्यौपानेले भन्नुभयो, “ अब कक्षा ४ माथिको मात्र परीक्षा हुन्छ । निरन्तर मूल्याकङ्नले शिक्षकलाई पनि जिम्मेवार बनाउँछ ।”
गोरखा: गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन । पढ्ने उमेरमा घरायसी समस्याका कारण विद्यालय शिक्षा पूरा गर्न नसक्नु भएका उहाँलाई यतिबेला फेरि पढ्ने रहर जागेपछि परिवारिक सुखसयल समेत छोडेर विद्यालय भर्ना हुनुभएको छ । पढ्ने इच्छा पूरा गर्न चालु शैक्षिक सत्रदेखि घर छोडेर गोरखा नगरपालिका–६, स्थित शक्ति माध्यमिक विद्यालयमा कक्षा ९ भर्ना हुुनुभएका नविन विद्यालयमै बस्ने व्यवस्था मिलाएर पढ्न थाल्नुभएको हो । “अहिले म मेरा छोराछोरीसरहका साथी र शिक्षकसँग पढिरहेको छु,” उहाँले भन्नुभयो, “शिक्षक तथा साथीभाइको सहयोगले पढ्नका लागि निकै सहज भएको पनि छ ।” सानैदेखि पढ्नमा लगनशील भए पनि उमेरमा पढ्न र लेख्न नपाएकामा अहिले पनि बेलाबेलामा उहाँलाई दुःख लाग्ने गरेको छ । बुढेसकालमा पढ्न थालेको देख्दा कतिपयले आफ्नो कुरा समेत काट्ने गरेको नवीनले बताउनुभयो तर कसैको कुराको कुनै प्रवाह नगरी आफ्नो लक्ष्य हासिल गर्नका लागि आफूले पढाइमा ध्यान दिने गरेको उहाँको भनाइ छ । “जसले जे–जे भने पनि मलाई पढेर चिकित्सक बनेर सबैको सेवा गर्ने ठूलो धोको छ”, उहाँले भन्नुभयो, “अनुशासित भएर पढ्छु र राम्रोसँग एसइई पास गरेर प्लस टूमा साइन्स र सकेदेखि ब्याचलरमा एमबिबिएस पढ्छु भन्ने लागेको छ ।” विसं २०५३ सालमा एसएलसीमा फेल भएपछि पढाइ छोड्नु भएका नवीनले करिब २९ वर्षपछि फेरि विद्यालयमा पढ्न थाल्नुभएको हो । कक्षा १२ सम्म पढ्न विद्यालयले खर्च नलाग्ने भनेकाले आफूलाई थप उत्साहित बनाएको उहाँको भनाइ छ । “गएको वैशाखदेखि विद्यालयमा भर्ना भएर पढ्न थालेको हो, नवीनले भन्नुभयो, “बस्नका लागि विद्यालयले नै एउटा कोठा दिएको छ, खानका लागि चामल, नुन, तेल, तरकारी पनि सहयोग जुट्ने गरेको छ सजिलो भइरहेको छ ।” कक्षामा पहिलो दिन आफ्ना छोराछोरीको उमेरका नानीबाबुसँग पढ्न अलिअलि लाज र डर नलागेको पनि होइन तर बिस्तारै सङ्गत गर्दै जान थालेपछि अहिले निकै सहज भएको उहाँ बताउनुहुन्छ । “नियमित रुपमा पढेर पास गर्न सके भने ६२ वर्षमा त एमबिबिएस पूरा गर्छु, उहाँले भन्नुभयो, “त्यतिबेला मेरो जागिर खाने अवस्था त हुँदैन तर गाउँघरमा एक्लै बसेका बूढाबूढीको सेवा गर्ने धोको छ ।” उहाँलाई कहिलेकाहीँ बेलैमा पढ्न सकेको भए राम्रो जागिर खान सकिने रहेछ भन्ने पनि लाग्ने गर्छ । “मेरो जेठो छोरो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढ्दैछ,” उहाँले भन्नुभयो, “इच्छाशक्ति भए नहुने भन्ने हुँदैन भन्ने लागेर फेरि पनि पढ्न थालेको हुँ ।” विद्यालय र कक्षाकोठामा सहपाठीले अङ्कल दाइ, बाजे भनेर सम्बोधन गर्दा खुसी लाग्ने गरेको नवीन बताउनुहुन्छ । घर छोडेर सदरमुकाममा बसेर पढ्न थालेपछि नवीनकी श्रीमती छोरी लिएर माइत बस्न थालेका छन् । विद्यालयमा अन्य विद्यार्थीको जस्तो नभए पनि नवीन आफूले नजानेको कुरा तत्कालै शिक्षक तथा सहपाठीहरुसँग सोध्ने र सिक्ने बानी रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताउनुभयो । “विद्यार्थीका रुपमा नवीनको उपस्थितिले अरूलाई पनि प्रोत्साहन मिलेको छ,” प्रधानाध्यापक आर्चायले भन्नुभयो, “उहाँले देखाउनुभएको अनुशासन र लगनशीलताका कारण शिक्षक तथा विद्यार्थीहरु सबै प्रभावित भएका छौँ ।” कहिलेकाहीँ शिक्षक, कर्मचारीले पैसा उठाएर समेत नवीनलाई पढ्न तथा खानका लागि सरसामान किनिदिने गरेको उहाँले बताउनुभयो ।
पोखरा: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक क्षेत्रमा सुधार गर्न नेकपा एमालेले शिक्षा मन्त्रालय रोजेको बताएकी छिन् । नेकपा (एमाले) कास्कीले शनिबार पोखरामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा भएको कमजोरी सुधार गर्नका लागि शिक्षा मन्त्रालय एमालेलले लिएको बताएकी हुन् । मन्त्री भट्टराईले २०२८ को शिक्षा ऐनलाई पटकपटक संशोधन गरेपनि अहिलेको सन्दर्भमा ऐन बन्न नसकेको बताउँदै संसदको समितिमा शिक्षा विद्येयक बिचाराधिन रहेको उल्लेख सुनाइन् । ‘शिक्षा विद्येयकमा शिक्षा कस्तो भनेर विद्येयकमा ल्याएका छैनौं, विद्यालय शिक्षा केही व्यवस्थित गर्ने गरी ल्याएका छौं, अझै उच्च शिक्षा ऐन, पूर्ण रुपमा प्राविधिक शिक्षा ऐन बन्न बाँकी छ, त्यसलाई पूनरावलोकन गर्न बाँकी छ,’ मन्त्री भट्टराईले भनिन् । उनले शिक्षा ऐन नहुँदा विद्यालय र बालविकास क्षेत्रमा काम गर्न शिक्षक कर्मचारीहरुले थोरै तलब सेवा सुविधा लिएर काम गर्न बाध्य भएको उल्लेख गरिन् । ‘हिजोको दिनमा ऐन संशोधन भए पनि हक र अधिकारीलाई संस्थागत गर्न नसक्दा शिक्षक सडकमा आउन परेको छ । सरकारले त्यो आन्दोलनलाई सरकारले एकछिनका लागि स्विकार गरेको छ’, उनले भनिन्, ‘स्विकार गरेको विषयलाई ऐनमा कसरी कायम गर्ने चुनौती अझै छन्, सबै चुनौतीलाई समाधान गर्दै शिक्षाको सुधारका लागि नीति नियम र कानून बनाएर शिक्षामा सुधार गर्न नेकपा एमाले शिक्षा मन्त्रालय लिएको छ ।’ उनले जनताको गुनासो सम्बोधन गर्न नीति नियम र ऐनको अभावको कारण गुनासो सम्बोधन गर्न नसकिएको बताइन् । ‘सांसदहरुले नीति नियम बनाउने राजनीतिको पाटो हो भनेर बुझ्न सकेका छैनौं, नीति, नियम, कानून र ऐन नहुँदा सरकार र राज्य प्रभावकारी बन्न सकेको छैन, उनले भनिन्, ‘गुनासो आउँछ, गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर ऐन पल्टाउँछ । तर, नीतिगत रुपमा गुनासो सम्बोधन गर्न सक्दनौं । केही व्यक्तिलाई सेवा दिन सकौला तर आम जनतालाई सेवा दिन सक्दनौं ।’ उनले जनताको गुनासो सम्बोधन गर्न नसक्दा लोकतन्त्रको आभाष गर्न नसकेको समेत बताइन् । ‘जनताले लोकतन्त्रको आभाष गर्न नसकेको यथार्थता हो, वास्तविकता हो । जनताको गुनासो सम्बोधन गर्न लागि नै नेकपा एमालेले त्यो जनगुनासोलाई सम्बोधन गर्दै जनतालाई समृद्धितर्पm उन्मुख गराउने छौं । आम जनताको भाषालाई बोकेर हिड्छौं,’ उनले भनिन् ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार नौ सय ३३ छात्र र एक लाख ९६ हजार नौ सय १४ छात्रागरी कूल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षामा तीन दशमलव ६१ देखि चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार पाँच सय ९१ रहेको छ । जसमा बागमती प्रदेशबाट छ हजार सात सय ५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जिपिए ल्याएका छन् । त्यसैगरी ४६ हजार आठ सय ९३ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० सम्म जिपिए ल्याएका छन् । परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको छ । ग्रेड वृद्धितर्फ विसं २०७८ र ०७९ का २८ दशमलव २६ प्रतिशत र विसं २०७६ र ०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा लग इन गरी हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने जनाएको छ ।
बागलुङ: झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन् । हरेक वर्ष विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पसको अस्तित्व नै सङ्कटमा पर्ने जोखिम बढेको छ । बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विसं २०७० सम्म विद्यार्थीको चाप थियो । दैनिक डेढ सयको हाराहारीमा क्याम्पस आएर पढ्ने विद्यार्थी हुन्थे तर अहिले भर्ना हुने ५० जना पनि छैनन् । बागलुङ बजार नजिकै रहेको पैयुँपाटा गाउँमा विसं २०४७ मा क्याम्पस स्थापना हुँदा गाउँका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हासिल गर्न पाएका थिए । पछि गाउँलेको बजार मोह र विद्यार्थीको बढ्दो विदेश पलायनका कारण क्याम्पस रित्तो बन्दै गएको हो । दिनप्रति दिन विद्यार्थीको सङ्ख्या घट्दै गएपछि क्याम्पस नै बन्द हुने जोखिम बढेको छ । क्याम्पसमा विद्यार्थीलाई निःशुल्क पढाउने वातावरण बनाए पनि सङ्ख्या बढ्न सकेको छैन । अहिले क्याम्पसमा गाउँका छोरी बुहारी मात्रैले परीक्षा दिने गरेका छन् । पुरुष विद्यार्थी निकै न्यून छन् । क्याम्पस अनुदान आयोगबाट आउने सहयोग र अक्षकोषबाट सञ्चालन भएको बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले बताउनुभयो । हाल क्याम्पसमा एक पूर्णकालीन, नौ आंशिक प्राध्यापक र कर्मचारी कार्यरत रहेको उहाँको भनाइ छ । अनुदान आयोगबाट वार्षिक रु ११ लाख ९० हजार आउने र क्याम्पसको रु एक करोड ४५ लाख अक्षकोष रहेको हुँदा त्यसबाट क्याम्पस सञ्चालन गरिरहेको पन्त बताउनुहुन्छ । क्याम्पसमा दैनिक पढ्ने विद्यार्थी नहुने उहाँको भनाइ छ । क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायको पढाइ हुने उहाँ बताउनुहुन्छ । “दश वर्षअगाडि सम्म विद्यार्थीको सङ्ख्या राम्रै थियो, त्यसपछि हरेक वर्ष घट्दै गएको छ, बागलुङ बजार पनि नजिकै रहेको हुँदा कोही बजार जान्छन्, कोही पोखरा, काठमाडौँ गएर पढ्छन्, गाउँमा विद्यार्थीको सङ्ख्या निकै कम भएको हुँदा क्याम्पस पनि न्यून बन्दै गएको हो”, क्याम्पस प्रमुख पन्तले भन्नुभयो, “केही वर्ष अगाडिसम्म विदेश जाने चलन कम थियो, अहिले १२ पास गर्न नपाउँदै विद्यार्थी सबै विदेशको तयारीमा लाग्छन्, त्यसले गर्दा गाउँका क्याम्पसमा विद्यार्थी निकै कम भए ।” बागलुङ–१३ का अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले २०४७ सालमा गाउँका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा दिलाउनका लागि आफूहरुले ठूलो सङ्घर्ष गरेर क्याम्पस स्थापना गरेको तर अहिले बन्द हुने स्थितीमा पुगेको बताउनुभयो । गाउँमा १२ पास भएर पढाइ छाडेकाहरुलाई पढ्नका लागि प्रोत्साहन गर्दै निःशुल्क पढ्ने वातावरण तय गर्दा पनि विद्यार्थी नबढेको उहाँको भनाइ छ ।

