गलकोट: विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएकोे छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ । नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । शर्माले विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको बताउनुभयो । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चारजना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ । बन्द हुने विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी सङ्ख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी सङ्ख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो । “विद्यालय बन्द हुँदा मारमा परेका टाढाका विद्यार्थीलाई आवासीय सुविधासहित ‘लिड’ विद्यालयको अवधारणा ल्याएका छौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “आवासीय सुविधासहित एकै स्थानमा पढाउँदा शैक्षिक गुणस्तर वृद्धि हुन्छ र लगानी खेर जाँदैन ।” शिक्षा समितिको सिफारिसमा पाँच प्राथमिक विद्यालयलाई आगामी वर्ष समायोजन गर्ने गरी एकजना मात्रै दरबन्दी कायम गरिएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले जानकारी दिनुभयो । एक शिक्षकको मात्रै दरबन्दी कायम गरिएको विद्यालयमा जैमिनी प्रावि कुश्मिसेरा, सिद्धिगणेश प्रावि कुश्मिशेरा, एकता प्रावि पैयुथन्थाप, दिव्यज्योति प्राथमिक विद्यालय दमेक र शङ्कर प्रावि राङ्खानी रहेका छन् । बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको जनाएको छ । विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने, आवासीय सहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका–५ बिनामारेस्थित सर्वोदय जनक माविलाई अगुवा ९लिड० विद्यालयका रुपमा अगाडि बढाएको छ ।
बलेवा: धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा गौतमले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट नतिजा ल्याएको जानकारी दिए । गत वर्ष पनि सोही तहमा क्याम्पसकै छात्रा प्रतीक्षा गौतमले देशभरमै प्रथम भएकी थिइन् । हरेक सेमेस्टरमा उनीहरु उत्कृष्ट भएका छन् भने लगातार शतप्रतिशत परीक्षाफल निकाल्ने क्याम्पस सफल भएको क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । गतवर्ष क्याम्पसले गुणस्तर सुनिश्चित प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको थियो । यो प्रमाणपत्रले आवश्यकताका आधारमा सङ्काय थप गर्ने अधिकार क्याम्पसले पाएको छ । तर त्यस बाहेक थपिएका पछिल्ला सङ्कायमा विज्ञान र बिबिए तहमा नतिजा राम्रो निकालेको छ । क्याम्पसले पछिल्लो समय कूल प्राध्यापकमध्ये ५० प्रतिशत स्थायी गरेको छ भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणाली समेत सञ्चालन गर्दै आएको छ । यस्ता कामले गुणस्तर बढाउने अभियानमा थप मद्दत पुगेको स्ववियु सभापति सुदीप सागर कँडेलले बताउनुभयो । पुस्तकालय, प्रयोगशाला र प्रविधिमैत्री पढाइको सूचक भएकाले क्यामपस अब्बल बन्दै गएको छ । पछिल्लो तीन वर्षदेखि त यहाँको विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायका विद्यार्थीले अनुसन्धानका काम गरिरहेका छन् । क्युएएका लागि अनुसन्धानमूलक कार्यक्रमलाई अनिवार्य बनाइएको छ । विद्यार्थी तहमा पनि अनुसन्धानको काम भएका छन् । कृषि, व्यवसाय, उद्योग र बजारबारे समेत विद्यार्थीले अनुसन्धान गरेका छन् । क्याम्पस प्रमुख उपाध्यायका अनुसार पछिल्लो तीन वर्षमा आयोगले तोकेका एकसय आठ सूचक पुराएर क्याम्पसले क्युएए पाएको थियो भने निरन्तर उत्कृष्ट परीक्षाफल पनि आइरहेको हो । हाल यो क्याम्पसमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको क्याम्पसमा अहिले शिक्षा सङ्काय, मानविकी र व्यवस्थापनमा स्नातकोत्तर तहको पढाइ हुन्छ । विज्ञान सङ्कायमा स्नातक र बिबिएतर्फको पनि पढाइ सञ्चालन भइरहेको हो ।
ढोरपाटन: चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ । उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो । विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उहाँको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ । पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताउनुभयो । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उहाँको भनाइ छ । विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ । “ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३ः३० बजेनै छुट्टी गर्छौँ”, उहाँले भन्नुभयो । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् । ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।
जनकपुरधाम: बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहनगरपालिको निर्देशन विपरीत आज नऔँ दिन पनि संस्थागत विद्यालय बन्द भएका छन् । शनिबार दुवै पक्षबीच भएको वार्तापछि संस्थागत विद्यालय आजदेखि सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले निर्देशन दिएको थियो । सो निर्देशनको पालना नगरेमा कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनीसमेत दिएको थियो । तर उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ(हिसान)ले विद्यालय खोल्न दिएको निर्देशनविरूद्ध पठनपाठन ठप्प पारेको छ । संस्थागत विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने अधिकार हनन् नगर्न जनकपुरधाम उपमहानगरले संस्थागतक विद्यालय सञ्चालकलाई आग्रह गरेको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले बताउनुभयो । आन्दोलन गर्न पाउनु अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नहुने उहाँको भनाइ छ । रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिई विद्यार्थी पढाउन नसकिने बताउँदै हिसानले थप अन्य शीर्षकमा शुल्क लिन पाउनुपर्ने माग राख्दै आएको छ । विद्यालय सञ्चालन गराउन शिक्षण संस्था सम्बद्ध सङ्गठनसँग पटकपटक वार्ता गरिए पनि वार्ता निष्कर्ष निस्केपछि बन्दलाई निरन्तरता दिएको संस्थाका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जानकारी दिनुभयो ।
पाँचथर: जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन । कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरुले कक्षा ९ भने च्याङथापूको बिष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकी समरजुङको विद्यालय कक्षा ८ सम्म मात्रै छ । खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करीव समान समय लाग्छ । तर समरजुङ गाउँकै बाटो हुँदै पुगिन्छ । च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झण्डै २०० मिटर तल रहेको मेवा खोला पाँच पटक तर्नु पर्छ । नातिनीहरु माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुशीभन्दा विद्यालय कसरी पुग्लान र कसरी फर्कलान भन्ने पीर शुकमायाको छ । “यसपालिको बर्खामा त पानी कम परेकाले घरबाटै धाए । अर्को बर्खा यसपालि जस्तो नहोला”, उहाँले भन्नुभयो, “आउँदो वर्ष डेरा बसाउनु पर्ला । बाटो छैन्, पुल पनि छैन् । भएको पुल पनि बाढीले हिर्काएर डर मर्नु भएको छ ।” खोलाघारीकै राजेश राईका छोराछोरी पनि च्याङथापूमै पढ्दै आएका छन् । उहाँले आफ्ना छोराछोरीलाई च्याङथापूमै डेरामा राखेर पढाउन खोज्नुभएको थियो । तर छोराछोरीले अन्यसँग डेरामा बसेर पढ्न नरुचाएपछि घरैबाट धाउने गरेको उहाँको भनाइ छ । “बाढीले बाटो बगाएपछि विद्यार्थीहरुलाई एकदमै गाह्रो छ । बर्खामा पानी थपिनासाथ फड्के बगाउँछ”, उहाँले भन्नुभयो, “त्यसैले बर्खा र पानी परेको समयमा हामी नानीहरुलाई स्कुल पठाउदैनौं ।” हुन पनि यहाँबाट करीव सवा घण्टा पैदल यात्रा गरेर च्याङथापू पुग्न मेवा खोला दुई स्थानमा झोलुङ्गे पुल तथा तीन स्थानमा फड्के तर्नुपर्छ । बालबालिकाहरुलाई दुई÷तीन वटा बाँस वा रुख तेस्र्याएर बनाइएको फड्के गर्न कठिन पर्छ । त्यसमा पनि एउटा झोलुङ्गे पुल बाढीले हिर्काएर जोखिमपूर्ण बनेको छ । “नानीहरु स्कुल जाने बाटो छैन । नानीहरुलाई स्कुल नपठाऔं भने पढाई विग्रने भयो”, पीर मान्दै राजेशले भन्नुभयो, “पठाऔं भने फर्केर आउलान कि नआउलान भन्ने तनाब हुन्छ ।” याङवरक १ को मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौं स्थानमा झरेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा यहाँ मानिस हिँड्ने गोरेटो बाटोसमेत छैन । यसकारण यहाँका मगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका विद्यार्थीहरु अत्यधिक प्रभावित बनेका छन् । च्याङथापु बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने मोटरबाटोले यी वस्तीहरुलाई समेटेको थियो । गत वर्षको असार २ गते आएको बाढीले उक्त सडकको मेवा खोलाको किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ । मोटरबाटो नै यी वस्तीबाट च्याङथापू पुग्ने पैदल मार्ग समेत थियो । बाढीले दशकौंदेखिको गोरेटो बाटोसमेत क्षतिग्रस्त बनाउँदा बालबालिकाहरु विद्यालय जान समेत कठीन परेको हो । पहिरो प्रभावित क्षेत्र ‘चोक’का जसमान राईले आफ्नो कान्छो छोरालाई च्याङथापूमै डेरा खोजेर पढाउँदै आउनुभएको छ । “कान्छो छोरा च्याङथापूमै बसेर पढ्छ । घरबाट विद्यालय जान र फर्कन कठिन भयो”, उहाँले भन्नुभयो । चोककै अशोक राईको परिवार अहिले च्याङथापु बसाईं सरेको छ । अशोककी श्रीमती धनकुमारीले भन्नुभयो, “घर बस्न जोखिमपूर्ण भयो । हिउँदमा त बस्न सकिन्छ तर पहिरोको झझल्को आइरहन्छ । खास समस्या चाहिँ बालबालिका पढाउन मुस्किल भयो । त्यसैले यता आएर बसेका छौं ।” याङवरक –१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार आफ्ना बालबालिकाहरुलाई पढाउनकै लागि यी क्षेत्रबाट कतिपय मानिसहरु बसाईं सरेका छन् । “कोही च्याङथापू झरेका छन् भने कोही झापा नै पुगे”, उहाँले भन्नुभयो, “सानो नानी हुने धेरै जनाले अहिले गाउँ छोडिसकेका छन् ।” फड्के तरेर स–साना बालबालिका विद्यालय पुग्न र फर्कन डरमर्दो अवस्था रहेको वडाध्यक्ष राई वताउनुहुन्छ । “विद्यालय गएका छोराछोरी घर फर्कन टुङ्गो नहुने भएपछि गाउँ छोड्ने नै भए”, उहाँले भन्नुभयो । २०८० साल असार २ गते आएको बाढीले मेवा खोलाको तटीय क्षेत्रमा क्षति पु¥याएको थियो । अत्यधिक वर्षापछि यत्रतत्र पहिरो जाँदा वस्ती बसेदेखि हालसम्म मानिस हिँड्ने गरेको खोला किनाराको गोरेटो बाटो समेत बगाएको स्थानीयवासी पञ्चध्वज राईको भनाइ छ ।
म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेका प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिनुभयो । “विसं २०३९ मा खरको टहरामा सुरु गरिएको विद्यालय करिब करिब चार दशक कच्ची भवनमा सञ्चालन भएको थियो”, विद्यालयको स्थापनाकालदेखिनै त्यहाँ कार्यरत गौतमले भन्नुभयो, “चार दशक पुरानो भवन जीर्ण भएर पानी चुहिन थालेको थियो । भत्कने त्रास थियो ।” जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको प्रअ गौतमले बताउनुभयो । तत्कालीन राष्ट्रिय पुन:निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल रु ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई/दुई कोठे एकतले भवन निर्माण भएको हो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ । संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटन समारोहमा विद्यालयका संस्थापक गङ्गबहादुर पुन, देवीप्रसाद आचार्य, दलमान पुन, पुरुषोत्तम शर्मा र पतिराम सिउथानीको नाम उल्लेखित शिलालेखको पनि अनावरण गरिएको थियो । संस्थापक आचार्यलाई सम्मान समेत गरिएको छ । पुस्तकालय र चमेना गृहका लागि थप दुई कोठा आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिङ सापकोटाले बताउनुभयो । “बस्तीमाथि खनिएको सडकबाट आउने बाढी खेलमैदानमा पसेर दुःख दिने गरेको छ”, उहाँले भन्नुभयो, “बाढी नियन्त्रण र कोठा थप गर्न गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकायमा प्रस्ताव गरेका छौँ ।”
खोटाङः माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण हुनुभएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो । विसं २०८० चैत–२० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज–१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक–४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिनुभयो । हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण हुनुभएको छ । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३।५५ थियो । अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ । परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट हुनुभएको थियो । केपिलासगढी गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरुप रु एक÷एक लाख पुरस्कार दिँदै आएको छ । गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ । उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज–२२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन ।
जुम्ला: जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो । निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पु¥याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभयो । “स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पु¥याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो”, उहाँले भन्नुभयो । संस्थागत सामाजिक उत्तरदायित्व भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफाबाहेक समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले गरिने प्रयासलाई जनाउने निर्देशक टन्डनको भनाइ छ । संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी वहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासका लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत् प्रतिष्ठानलाई महत्वपूर्ण सहयोग प्राप्त भएको प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीले जानकारी दिनुभयो । “बैंकको यस किसिमको सकारात्मक कदम सदैव स्वीकार्य छ । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान दिनु एउटा उदाहरणीय कार्य हो”, उहाँले भन्नुभयो । प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सामाजिक उत्तरदायित्वको अभ्यासले प्रतिष्ठानलाई संस्थागत रुपमा खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग गरेको छ । बैंकको स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।” सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिनुपर्ने रजिस्ट्रार महतले बताउनुभयो । कृषि विकास बैंकले देशभरका दुई सय ८५ शाखाबाट सेवा प्रवाह गरेको सो बैंकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।
सुर्खेत: कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रवृत्ती मार्फत सहयोग गर्न थालेको हो । निर्देशनालयले अहिले प्रदेशका चिकित्सा शिक्षा पढ्दै गरेका १० विद्यार्थीलाई छात्रवृत्ती सहयोग गरिरहेको छ । प्रति विद्यार्थी वार्षिक रु चार लाखका दरले छात्रवृत्ती प्रदान गरिएको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा रु चार लाखका दरले रु ४० लाख र आर्थिक वर्ष २०८०/८१ मा पनि रु ४० लाख रकम चिकित्सा शिक्षा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ती प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा कालिकोटका निहान शाही, जाजरकोटका लक्सन शाही, जुम्लाका बिनोद रोकाय, डोल्पाका कमल विष्ट, दैलेखका आदित्य गौतम, रुकुम पश्चिमका विशाल केसी, सल्यानका आकाश अधिकारी र सुर्खेतका राज पोख्रेल रहेका छन् । यसैगरी, हुम्लाका भुवन बुढा र अंग्मु लामालाई पनि प्रदेश सरकारले छात्रवृत्ती प्रदान गरेको छ । कर्णालीमा चिकित्सक अभाव हुन नदिने गरी प्रदेश सरकारले योजना बनाएको निमित्त निर्देशक हमालले बताउनुभयो । सरकारको मापदण्ड पुरा गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा पढ्न छात्रवृत्ती प्रदान गरेको उहाँको भनाइ छ । कर्णालीमा पछिल्लो समय चिकित्सा शिक्षा पढ्ने पनि बढेका छन् । यसका साथै सरकारले इन्जिनियर, सूचना प्रसिधि, भेटेरेनरी, नर्सिङ, कृषि लगायतका प्राविधिक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ । प्रदेश सरकारले रकम अभावले प्राविधिक शिक्षा लिन नपाएका कर्णालीका महिलालाई अध्ययन गर्न ‘छोरी बुहारी छात्रवृत्ती’मार्फत सहज बनाएपछि अहिले प्राविधिक शिक्षा पढ्ने महिलाको सङ्ख्या बढेको निमित्त निर्देशक हमालले बताउनुभयो । “पछिल्लो समय प्रदेश सरकारले प्राविधिक शिक्षामा जोड दिएको छ, चिकित्सा शिक्षासँगै प्राविधिक शिक्षा पढ्ने गरिब जेहेन्दार विद्यार्थीलाई कार्यविधिअनुसार छात्रवृत्ती मार्फत अध्ययन गर्न सहज बनाएका छौँ, यसबाट कर्णालीमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

