काठमाडौं:     हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंश...

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले खुला रुपमा सुन चाँदी आयात इजाजत अन्तर्गत रहेर पैठारी खुला गरिनुपर्ने सुझाव दिएको छ ।   महासंघले आयोजना महासंघले आयोजना गरेको संचारकर्मी तथा आभुषण व्यवसायीसँगको अन्तर सम्वाद कार्यक्रममा यस्तो सुझाव दिएको हो ।    सुनको आयात एवं विक्री वितरणमा विद्यमान आयात प्रक्रिया एकाधिकार, मार्केट रेस्ट्रिक्सनमा आधारित एवं विक्री वितरण प्रणाली केन्द्रकृत रहेकोले प्रचलित ऐनसंग बाझिएको तथा मुलुकले अख्तियार गरेको उदार र प्रतिस्पर्धात्मक अर्थतन्त्रसंग मेल नखाने भएकोले यसमा अविलम्ब परिवर्तन गरी खुला आयात इजाजत अन्तर्गत पैठारी खुला गरिनुपर्ने सुझाव रहेको छ ।     यसले सुनको आयात खुला गरिएमा माग र आपूर्तिको सन्तुलन मिलाउने झण्झटबाट सरकारी निकाय मुक्त हुने, अवैध आयातबाट हुने राजश्व चुहावट स्वतः बन्द भई सरकारलाई हालको भन्दा धेरै बढी राजश्व प्राप्त हुने साथै अपर्याप्त आपूर्तिका कारणले उत्पन्न अनेकौं विकृति र विसंगतिको स्वतः अन्त्य हुने सुझाव दिएको छ । मुलुकमा सुनको अधिक आयात हुन गई विदेशी मुद्राको संचिति माथि नकारत्मक असर परेको कारण देखाई २०६६ फागुन १६ बाट सुनको खुला आयातमा प्रतिबन्ध लगाइएको महासंघको बुझाई छ ।   परिमाणात्मक बन्देजको नीति अवलम्बन गर्दै २०६६ चैत ३१ गते देखि सुनको आपूर्तिको परिमाणात्मक सीमा निर्धारण गरी नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरेका वाणिज्य बैंकहरुले मात्र आयात गर्न पाउने व्यवस्था गरेर उक्त मितिदेखि सरदर दैनिक २० केजीको कोटा निर्धारण गरी उक्त सीमाभित्र रही विक्री वितरण गर्ने गरी तोकिएका वाणिज्य बैंकहरु आयात गर्दै आएका छन् ।   आधारभूत एवं मुख्य औद्योगिक कच्चा पदार्थको रुपमा रहेको सुनलाई परिमाणात्मक सीमा अन्तर्गत अत्यन्तै न्यून परिमाणमा पैठारी हुँदा व्यवसाय संचालनमा नै संकुचन आएकोले मागको अनुपातमा सहज, सरल र पारदर्शी किसिमले विकेन्द्रित रुपमा आपूर्तिको व्यवस्था मिलाइनु पर्ने माग रहेको छ ।   मुलुकमा रहेका सम्पूर्ण आभुषण व्यवसायीहरको क्षमता, अनुकूलता र आवश्यकताको आधारमा साना टुक्रामा सहज तरीकाले कच्चा पदार्थ खरिद गरी व्यवसाय संचालन गर्न सक्ने गरी विक्री वितरणका लागि महासंघ, संघहरुसंग सहकार्य गरी आपूर्ति तथा विक्री वितरण संरचना तयार गर्नुपर्ने माग रहेको छ ।   कायृक्रममा स्वदेशी रत्न पत्थरको उत्खनन, प्रशोधन र निर्यात आदिका लागि सरकारले निजी क्षेत्रसंग सहकार्य गरी आवश्यक पूर्वाधारहरु तयार गरी प्रवर्द्धनका लागि संस्थागत संरचना निर्माण गर्ने उल्लेख छ ।     नेपाली गहना निर्यातको संभावनालाई मनन र विश्लेषण गरी डिउटी ड्र ब्याक लगायतका सम्पूर्ण आवश्यक सुविधा, सहित र प्रोत्साहनहरु उपलब्ध गराउनु पर्ने सुझाव रहेको छ ।   विश्वमै उत्कृष्ट रहेको नेपाली मौलिक क्राफ्टम्यानशीपको संरक्षण र विकास गरी दोश्रो पुस्तामा शीप हस्तान्तरण गर्न सकिने किसिमले शीप विकास एवं जीवनवृत्तिका लागि आवश्यक प्रोत्साहन र आफ्नो सिर्जनाको उचित मूल्य   पाउने अवस्थाको प्रत्याभूति गरी नेपाली कालीगढलाई आभुषण निमार्णमा आकर्षित गर्न सकिने उल्लेख छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिश्पर्धा गर्न नसकी निर्यात हतोत्साहित हुदै गएको छ ।   आभुषण निर्माणमा स्वदेशी कच्चा पदार्थको हिस्सा अत्यन्तै न्यून छ । राष्ट्रमा वर्षेनी अर्को मूल्यका बहुमूल्य तथा अर्धबहुमूल्य धातु रत्न, पत्थरहरु आयात भइरहेको छ ।   स्वदेशी रत्न तथा पत्थरहरुको अन्वेषण, उत्खनन, प्रशोधन र प्रयोग बारे ठोस कार्य हुन नसक्दा नेपालका बहुमूल्य खानीजन्य सम्पदा अप्रशोधित अवस्थामा अत्यन्तै न्यूनतम मूल्यमा बाहिरिने गरेको तथ्य सार्वजनिक हुने गरेका छन् ।   त्यसबाट सरकारले प्राप्त गर्दै आएको राजश्व अति नै नगन्य रहेको महासंघले जनाएको छ ।  

काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् ।   लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् ।   सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल (एमच्याम) का महाप्रबन्धक अमीरराज थापाले बताए ।    'एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र  मन्त्री नारायणप्रकाश साउद (एनपी साउद) लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो', थापाले भने ।   उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए ।   उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।  

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच भेटवार्ता भएको छ ।   होटल सोल्टीमा भएको भेटवार्ता भर्खर सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।    नेपालको राजकीय भ्रमणका लागि प्रतिनिधिमण्डलसहित मङ्गलबार काठमाडौँ आइपुग्नुभएका कतारी अमिर शेखले आएकै दिन साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए ।   प्रधानमन्त्रीसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा केन्द्रित भएको आचार्यले जानकारी दिए ।   आज दोस्रो दिन प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका शेखको स्वागतमा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले द्वारिकाज होटलमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।   कतारी अमिर शेख आज स्वदेश प्रस्थान गर्ने तालिका छ।  

बारा:  इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल हराएकाे छ।   वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमबार रातिदेखि हराएकाे हो।   सई बिसी सोमबार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको बुझिएको छ।   जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरे। 

मुस्ताङ:   हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।   जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ ।    चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सात जना भारतीय, तीन जना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।   उहाँका अनुसार आव २०७८–७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उहाँहरु सबै भारतीय नागरिक थिए भने ४५ देखि ७३ वर्षसम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।    उहाँहरुलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो । आव २०७९–८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए ।   उहाँहरुको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । प्रहरी अभिलेखअनुसार उहाँहरुलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।   प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन,  फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् ।   उहाँहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठ जना भारतीय रहेका छन् । उहाँहरुलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको जनाइएको छ ।   गत चैतमा मात्र छ जना तीर्थयात्रु–पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेखअनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात शरीरमा अक्सिजनको कमी हुनु हो ।   पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ । दुई हजार पाँच सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ ।    लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।   मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ(स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरु बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन् । 

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षको बजेट सङ्घीय प्रणालीमा रहेको अभास हुनेगरी ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन् ।   मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको प्रि–बजेट छलफलमा अर्थविद्हरुले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।   उनीहरुले मुलुक सङ्घीय प्रणालीमा छ भन्ने आधारबाट बजेट ल्याउन जरुरी रहेको बताए ।   अर्थविद्हरुले केन्द्रीयतालाई मात्रै प्राथमिकता दिएर सरकारले बजेट ल्याउने गरेको आरोप लगाए । उनीहरुले सरकारले योजना आयोगले बनाएर दिएको योजनाका आधारमा प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्नेगरी आउन नहुने बताए ।   अर्थविद्हरुले आगामी आर्थिक वर्षको बजेट वातावरण संरक्षण, जलवायु परिवर्तन र राजस्व वृद्धिलाई प्राथमिकता दिन सुझाव दिए । उनीहरुले राजश्व सङ्कलनको सम्भावनाका क्षेत्र पहिचान गर्न नसके आगामी पाँच वर्षमा राजस्व शून्यउन्मुख हुने दाबी गरे ।   समिति बैठकमा बोल्नुहुँदै अर्थविद् डा। अच्युत वाग्लले सरकारले मुलुक सङ्घीय प्रणालीमा छौं भन्ने आधारमा बजेट बनाउन सुझाव दिनुभयो ।   उहाँले योजना आयोगले बनाएका योजना दिएर प्रदेशले स्थानीय तरिकाले सिद्धान्त सेट गर्न नसक्ने बताउनु भयो । सरकारले बनाउने घोषणापत्र, आवधिक योजना, सिद्धान्त तथा प्राथमिकता, बजेट र नीतिहरुको तादात्म वा एकले अर्कोलाई परिपुरण गर्ने काम नभएको दाबी गर्नुभयो ।   अर्थविद् डा. वाग्लेले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वातावरण संरक्षण र जलवायु परिवर्तनको सम्बोधन एक अर्काका विरोधाभास पूर्ण अवधारणाहरु जस्तो देखिएको बताउनुभयो ।   उहाँले आर्थिक वृद्धि र विकास भर्सेस वातावरण संरक्षण र जलवायु परिवर्तनको पहिलो सौद्धान्तिक अवधारणा वा राष्ट्रिय नीति बजेटभन्दा फराकिलो ढङ्गले आउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुक राजस्व सङ्कलनको ठूलो जोखिममा परिसकेको उल्लेख गर्नुभयो ।

पोखरा:   चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिने अवधि) देशभरबाट कुल १ हजार ८ सय १७ जना जुवाडे पक्राउ परेका छन् ।    प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकाबाट ७ सय ७९ जना, कोशी प्रदेशबाट १ सय १५ जना, बागमती प्रदेशबाट १ सय १३ जना, गण्डकी प्रदेशबाट २ सय ९९ जना पक्राउ परे ।    यस्तै लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १ सय ४ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १३ जना रहेका छन् ।    उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ ।    जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो ।    यस्तै जुवातास खेल्नेहरूबाट ५ सय ५४ बुक तास, २ सय ५० थान कौडा लगायतका समाग्री बरामद भएको छ ।    जसमध्ये काठमाडौं उपत्यकाबाट २ सय ७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।