काठमाडौं: सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क/डिएमजी) का अनुसार भूकम्पको धक्का जिल्लाको विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भू–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएकोे बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ”, उहाँले भन्नुभयो । मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् । यस क्षेत्रमा वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र होइन बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताउनुभयो । बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उहाँले जानकारी दिनुभयो । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ । आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा सुरु महोत्सव १५ भदौसम्म संचालन हुने छ । तीज मौलिक पर्व रहेकाले यस्लाई मौलिक पर्वको रुपमा मनाउन आग्रह गदै प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका थिए । पोखराको पुरानो टुँडिखेल समेत आफैमा ऐतिहासिक स्थान रहेको र योे पोखराको लागि गर्भ गर्ने स्थान मध्येको एक रहेको बताएका थिए । फरक प्रंसगमा प्रचण्डले सबै खालका सामाजिक विभेदहरुको अन्त्य गरेर समाजिक न्यायको एउटा नयाँ अभियानमा आफुहरु रहेको बताएका थिए । उनले भने हामी भएका सबै खालका कुशासनको अन्त्य गरेर शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा पनि छौ । हामी सबै खालका आर्थिक पछ्यौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडी बढेको पनि छौ । अर्को प्रंसगमा प्रचण्डले भने हामी सबैलाई थाहा छ, फेरि पनि अझै पनि धेरै थुपै समस्या, चुनैती संग हामीले जुध्न परेको छ । मलाई लाग्छ यस्ता कार्यक्रमहरुले हामी सबैमा नकारात्मक भाव हैन् सकारात्मक भाव पैदा गर्न, विभाजन र भू केन्द्रित मनोविज्ञान हैन् एकीकृत र केन्द्रिकृत मनोविज्ञान पैदा गर्ने प्रचण्डको भनाई थियो । नेपाल आफैमा विविधतामा एकताको सुन्दर फुलवारी हो भन्ने हामी सबैले महशुस गरेका छौ । कास्की जिल्ला आफैमा एउटा सुन्दर जिल्लाको रुपमा, पोखरा महानगर आफैमा विश्वभर प्रशिद्ध पर्यटकीय गन्तब्यको रुपमा परिचित रहेकाले यस्लाई अझै सपार्ने दायीत्व हामी सबैको काधमा रहेकाले प्रकृतीले बनाएको यो सुन्दर नगर र जिल्लालाई मानविय श्रमदारा अझ सुन्दर र विकसित बनाउन सबै एकजुट हुन आवश्यक रहेको प्रचण्डको सुझाव थियो । अर्को प्रंसगमा प्रचण्डले इन्द्रेणीले गरेको विभिन्न सामाजिक कामको प्रशसा गदै, अब गर्ने कामहरुमा आफनो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताएका थिए । कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो । श्रष्टा सम्मानतर्फ गोविन्द कोईराला र शिक्षा क्षेत्रका उल्लेख्य योगदान दिए वापत स्वर्गिय सिद्धी गौचनलाई सम्मान गरिएको थियो । महोत्सव उद्घाटन पूर्व पुरानो टुँडिखेलबाट विभिन्न संघ संस्था, आमा समुह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाकी सहितको र्याली निकालिने थियो । टँुडिखेलबाट सुरु र्याली वडाका विभिन्न स्थानको परिक्रमा पछि पुनः महोत्सव स्थल टँुडिखेलमा आएर उद्घाटन शत्रमा परिणत भएको थियो । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल, वाल उद्यान रहेका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ् । महोत्सवमा खुल्ला मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला तिज गित गृहिणी एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिने उनले जानकारी दिए । जस अन्र्तगत तिज गित प्रतियोगितामा प्रथम हुनेले ३५ हजार ५५५, द्घितियले २० हजार ५५५, तृतियले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा र नृत्यले तीन हजार ५५५, एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच ५५५, सान्त्वनाले तीन हजार ५५५, छेलोतर्फ प्रथमले १२ हजार ५५५, द्घितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ र ढिकि जातोतर्फ प्रथमले १२ हजार ५५५, द्धितियले सात हजार ५५५, तृतियले पाँच हजार ५५५ नगद पुरस्कार पाउने प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक डिल्लीराम सुवेदीले जनकारी दिए । ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । महोत्सव सम्पन्न गर्न टुर्बोग वियरले सह प्रायोजन सगै गृहलक्ष्मी ग्यास, कर्मा ईन्टरनेश्नल ईम्पोल्यमेन्ट प्रालि काठमाण्डौले उप प्रायोजन गर्ने भएका छन् । यसै गरि बाल्ट्रा होम एप्लिकेसन, राष्ट्रिय वाणिज्य बैक र सालिको इन्स्यूरेन्सले प्रायोजन, राष्ट्रिय माध्यमिक विद्यालयले विशेष सहयोग, सामाजिक विकास यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र पोखरा १, २, ३ वडा कार्यालयले प्रवद्धन गर्ने महोत्सव सम्पन्न गर्न गण्डकी मेडिकल कलेज, लेकसिटी पानी, कम्प्लिट गार्डेन न्युरोड पोखरा, गरिमा विकाश बैंक, गौतम स्याङ्गजा सुन चाँदी पसल चिप्लेढुङ्गा, प्रतिभा माध्यमिक बिद्यालय, पराजुली आयल स्टोस पोखरा १, कुवँर हार्डवयर, लान्दुक पेट्रोलियम प्रा.लि, पोखरा इन्टरनेट, निचि वेवि चिप्लेढुङ्गाले सहयोग गरेका छन् । महोत्सव संचालनका लागि ६९ लाख आम्दानी, ६४ लाख ५० हजार खर्च, चार लाख ५० हजार बचत हुने अनुमान रहेको र बचत रकम विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक केन्द्रका कोषाध्यक्ष एंव महोत्सव लेखा तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक वेद प्रसाद वस्तीले जानकारी दिए । महोत्यसको उद्घाटन शत्रमा प्रतिनिधि सभाका सदस्य दामोदर पौडैल, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, संविधान सभा सदस्य सारदा पौडैल, आयोजक केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली, पोखरा १ का अध्यक्ष सहारा प्रधान, पोखरा २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, आयोजक केन्द्रका उपाध्यक्ष निरज विक्रम राणा लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गदै तीजलाई भड्किलो हैन मौलिक रुपमा मनाउन आग्रह गरेका थिए ।
पोखरा: नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाललाई नियन्त्रण नभई निमयन गर्न खोजेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले पोखरामा आज (शुक्रबार) गरेको पत्रकार भेटघाटमा बोल्दै सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जाल नियन्त्रण गर्न होइन, नियमन गर्न मात्र खोजेको बताए । ‘सामाजिक सञ्जालमा देखिएको विकृति र विसङ्गतिलाई रोक्न लागि सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विद्येयक ल्याउन खोजेको हो, सञ्चार मन्त्री गुरुङले भने, ‘नेपाल सरकारको संविधान भित्र रहेर काम गर्न सबैलाई छुट दिइएको छ, त्यसैले सामाजिक सञ्जाल, प्रयोग र नियमन विद्येयक सामाजिक सञ्जाल नियन्त्रण गर्न होइन, नियमन गर्न ल्याइएको हो ।’ उनले लोकतन्त्रको मूल्यमान्यतालाई विश्वास गर्ने पार्टीहरुको सरकार भएकाले सूचनाको हकलाई कुन्ठित गर्ने मनशाय नरहेको बताए । ‘सामाजिक सञ्जाल विद्येयक नियमन विरुद्ध नै नेपालमा भ्रम छ, नेताहरु नै भ्रम सिर्जना गरिरहेका छन्, सूचनाको हक विरुद्ध छ भनेर भनिरहेका छन, यो सोह्रै आना गलत हो, सञ्चारमन्त्री गुरुङले भने, ‘हाम्रो सरकार लोकतन्त्रको मूल्यमान्यता र विश्वास गर्ने पार्टीहरको सरकार हो, लोकतन्त्रलाई कुन्ठित गरेर कुनै पनि कानून बनाउन मिल्दैन त्यो छुट छैन, अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने मनशाय पनि छैन र त्यसले बोलेको पनि छैन, रेगुलेसन चाँहि गर्न पर्ने छ ।’ उनले नेपाली भूमि लिपुलेक प्रयोग गर्ने गरी छिमेकी भारत र चीनले गरेको व्यापार सहमतिको विषय कूटनीतिक तहबाटै समाधान गरिनुपर्ने बताए ।
म्याग्दी: जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्रको सामाजिक, सांस्कृतिक, विकास गतिविधिमा असर पर्नुका साथै विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । आर्थिक वर्ष २०८१/८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँसराइ गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छाडेर अन्यत्र गएका छन् । आव २०८०/८१ मा दुई सय ५२ परिवार बसाइसराइ गरेर जाँदा आउने परिवारको सङ्ख्या एक सय भएको स्थानीय तहको पञ्जीकरण शाखाको अभिलेखमा उल्लेख छ । गत वर्ष बसाइँसराइ गरेर आउनेहरूको परिवार सङ्ख्या बेनी नगरपालिकामा ४५, धवलागिरिमा तीन, मालिकामा आठ, मङ्गलामा १९, रघुगङ्गामा चार र अन्नपूर्णमा १० छ । बेनीबाट ६५, धवलागिरिबाट २३, मालिकाबाट ३९, मङ्गलाबाट ५५, रघुगङ्गाबाट २१ र अन्नपूर्णबाट ४४ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका छन् । म्याग्दी बहुमुखी क्याम्पस समाजशास्त्र विषयका प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लाको बसाइँसराइ उल्टो रहेको बताउनुभयो । “गाउगाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन”, उहाँले भन्नुभयो, “रोजगारी र आयआर्जन अवसरको खोजीमा गाउँबाट सहर र सुविधा भएको ठाउँमा मानिस बसाइँसराइ गर्ने क्रम बढेको हो ।” विसं २०७८ मा भएको जनगणनाको नतिजाअनुसार म्याग्दीको २५ हजार ३७४ घरमा २९ हजार २४२ परिवारका एक लाख सात हजार ३७२ जनसङ्ख्याको बसोबास छ । विसं २०६८ मा म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ जना थियो । विशेषगरेर ग्रामीण क्षेत्रमा युवा उमेर समूहका उत्पादनशील जनशक्ति नहुँदा विवाहमा जन्ती, मृत्युमा मलामी जानेहरू प्रौढ र वृद्धहरू बढी देखिन थालेका धवलागिरि गाउँपालिका–४ का चित्र पुनले बताउनुभयो । “खेतीबाली लगाउन अर्मपर्म गर्ने चलन हरायो”, उहाँले भन्नुभयो, “खेतीयोग्य जमिन बाँझिएको छ । आयातित खाद्यान्नमा निर्भरता बढेको छ ।” जन्मदर कम भएको र गाउँमा भएकाले पनि आर्थिक हैसियत बढेपछि छोराछोरी पढाउन बजार झर्ने क्रमसँगै विद्यार्थी सङ्ख्या घटेको अन्नपूर्ण गाउँपालिका–७ को टिकोट माविका प्रअ प्रदीप पुनले बताउनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा करिब ५० जनामात्र विद्यार्थी छन् । म्याग्दीबाट कास्कीको पोखरा, हेम्जा, काठमाडौं, चितवन, बुटवल र तनहुँमा बसाइँसराइ गरेर जाने गरेका छन् । सम्पन्नहरूले बजारमा घरघडेरी किनेर झरेका छन्भने विपन्नहरू काम र मामका लागि बजार झर्ने क्रम देखिएको प्राध्यापक जिसीले बताउनुभयो । “शिक्षालाई उत्पादन र रोजगारीमा नजोड्ने हो भने म्याग्दीको जनसङ्ख्या घट्ने र बसाइँसराइ बढ्ने दर अझै बढ्दै जानेछ”, उहाँले भन्नुभयो, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग जोड्न आवश्यक छ ।” बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विकास गाउँतिर केन्द्रित भएको समयमा त्यसको उपभोग गर्ने जनसङ्ख्या भने सहरबजार झर्ने र विदेशिने अवस्था चुनौती रहेको बताउनुभयो । विकास आयोजनामार्फत रोजगारी सृजना, कृषि र पर्यटनमा जोड दिएको उहाँले बताउनुभयो ।
गलकोट: बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका– २ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना हो । यसअघि समुदायको प्रयासमा ससाना लघु जलविद्युत् सञ्चालनमा थिए । सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् । पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हाल यहाँ मध्य ताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेगावाट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यहाँ तीन दशमलव पाँच मेगावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र चार दशमलव पाँच मेगावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । ‘मध्ये ताराखोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ’, उनले भने, ‘स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा ताराखोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमा उत्साह बढेको बताए ।
पोखरा: गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ । मिति २०८१ चैत २६ गते सामाजिक विकास तथा कृषि समितिमा छलफलका लागि गएको र गण्डकी प्रदेश सभा नियमावली २०८० को नियम १२५ को उपनियम २ को खण्ड (क) बमोजिम समितिको प्रतिवेदन सहित मंगलबार प्रदेश सभामा दफावार छलफल भई उक्त विधेयक पारित भएको हो । विधेयक प्रस्तुत गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समितिमा व्यापक छलफलपछि उक्त विधेयक ल्याइएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरुको समन्वय, सहजीकरण, अनुगमन तथा अधिकार संरक्षणका लागि प्रदेश सरकारले निर्देशन समिति समेत गठन गरिसकेको बताए । उनका अनुसार ऐनले अन्तरवर्गीयता, अपाङ्गताको विविधता, १० प्रकारका अपाङ्गतालाई समेट्ने परिभाषा, सवारीचालक अनुमतिपत्र पाउने व्यवस्था, दिवा सेवा केन्द्र सञ्चालन, सांकेतिक भाषाको विकास तथा अनुसन्धान, आवासीय शिक्षा, जोखिम अवस्थामा प्राथमिकता लगायतका व्यवस्था सुनिश्चित गर्नेछ । “अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै उनीहरूको अधिकार, सम्मान र सशक्तिकरण सुनिश्चित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। यस ऐतिहासिक क्षणलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउनु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।”, उनले भने । मन्त्री थापाले यो कानूनी व्यवस्थाले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तअनुरूप नीति निर्माण तथा विकासका हरेक प्रक्रियामा प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन् । मन्त्रीका अनुसार विधेयकले उनीहरूको सशक्तिकरण, स्वाभिमान र स्वावलम्बन प्रवद्र्धन गर्नेछ। सामाजिक न्याय, समान अवसर र सम्मानजनक जीवनयापनतर्फको यात्रामा यो विधेयक महत्वपूर्ण साबित हुने उनले बताए । प्रदेश सभाका विभिन्न सांसदहरूले विधेयकलाई ऐतिहासिक, सकारात्मक र व्यवहारिक कदमका रूपमा स्वागत गरेका छन् । गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले ऐन कार्यान्वयनमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचको विषयलाई महत्वपूर्ण बताए । सांसद भक्तबहादुर कुँवरले अपाङ्गता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने अवस्था भएकाले विधेयक सबैका लागि महत्त्वपूर्ण भएको टिप्पणी गरे । सांसद शुुसिला सिंखडाले प्रतिपक्षमै भए पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक सहभागितामा अपाङ्गता भएका व्यक्तिहरुलाई जोड दिएको विषय सबल पक्ष भएको उल्लेख गरिन् । सांसद पञ्चराम गुरुङले अपाङ्गता सम्बन्धि ऐन संविधान प्रदत्त मौलिक अधिकारसँग जोडिएको दस्तावेज भएको बताउँदै अपाङ्गता भएका बालबालिकाको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई समेत जोड दिए । सांसद सुनिता थापाले आफू पनि अपाङ्गता समुदायको प्रतिनिधि भएको उल्लेख गर्दै यो विधेयक अपाङ्गता भएका समुदायको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । गण्डकीको यो कदम अन्तर्राष्ट्रिय जगतका लागि उदाहरण बन्न सक्ने भनाई उनको छ । यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले विधेयक पारित भएसँगै गण्डकी प्रदेशमा ऐतिहासिक दिन प्रारम्भ भएको भएको बताए । “विधेयक हामीले भनेजस्तो पूरै नआए पनि धेरै महत्वपूर्ण विषय समेटिएको छ ।नियमावली बनेर कार्यान्वयन तत्काल सुरु हुन्छ भन्ने पूर्ण विश्वास छ”, उनले भने । गण्डकी प्रदेश बासी सबै अपाङ्गता भएका व्यक्तिहरुका लागि आजको दिन सुखद दिन भएको उनले उल्लेख गरे । अपाङ्गता सम्बन्धि विधेयक ल्याउन पहल गर्ने यसअघिका सामाजिक विकास मन्त्री एवम् कार्यान्वयनमा विशेष जोड दिने मुख्यमन्त्री सहित अहिलेका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापालाई उनले धन्यवाद दिएका छन् । अहिलेका सामाजिक विकास मन्त्री कै नेतृत्वमा ऐन कार्यान्वयनका लागि नियमावली बनेर यसको कार्यान्वयन तत्काल सुरु हुने विश्वास उनले गरेका छन् । “७ वटै प्रदेशमा गण्डकी प्रदेश अपाङ्गता सम्बन्धि नीति ल्याउन र ऐन ल्याउन पहिलो प्रदेश बनेको छ । प्रदेश सरकार कार्यान्वयन गर्न पनि उत्कृष्ट बन्छ भन्ने अपेक्षा गरेका छौं ।”, उनले भने ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।