कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ चिकित्सक अर्थोपेडिक सर्जन डा दुर्गेस चौधरी, डा सुवर्ण पौडेल, डा मुकेश गामीलगायतको टोलीले शल्यक्रिया गरेको थियो । “उहाँको हामीले उच्च सावधानी अपनाएर शल्यक्रिया सफल रुपमा गरेका छौँ,” अस्पतालका चिकित्सक डा चौधरीले भन्नुभयो, “यो दुलर्भ नै हो ।” उहाँका अनुसार धेरै उमेर पुगेका वृद्धवृद्धामा शल्यक्रिया गर्न धेरै जोखिम हुने भएकाले चिकित्सकले शल्यक्रिया गर्न सुझाव नै दिँदैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यो दुलर्भ र जोखिमपूर्ण भए पनि अस्पततालका विशेषज्ञ चिकित्सकले सफल शल्यक्रिया गरेको बताउनुभयो । “हामीले शल्यक्रियाका जोखिमबारे उहाँको परिवारलाई जानकारी दिएका थियौँ,” अध्यक्ष भट्टले भन्नुभयो, “उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि अस्पतालको टोलीले काम सफल रुपमा गर्यो ।” वृद्धाका छोरा गोपालबहादुर देउवाका अनुसार गत माघ २५ गते खाटमा बस्ने क्रममा भुइँमा खसेर उहाँको खुट्टा भाँचिएको थियो । “उमेर भइसकेका आमाको अप्रेसन सफल भयो हामी धेरै खुसी भयौँ”, देउवाले भन्नुभयो, “खुट्टाको शल्यक्रियापछि अहिले स्वास्थ्यमा सुधार आएको छ ।” पछिल्लो समय अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएपछि जटिल प्रकारका शल्यक्रिया महेन्द्रनगरमै हुन थालेका छन् । अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर र छजना डेन्टलले सेवा दिँदै आएका छन् । अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
काठमाडौं: पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । “दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।” सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।
गोरखा: उत्तरी गोरखामा पुन: भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिनुभयो । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उहाँले भन्नुभयो ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’ नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ । मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ । भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताउनुभयो । ‘‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उहाँले भन्नुभयो ‘‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’’हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिनुभयो । ‘‘पर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन, उहाँले भन्नुभयो, ‘‘पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौं ।’’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उहाँको भनाइ छ । यता लामोसमयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खसी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करुखेती राम्रो हुने भएकाले खुसी भएका हुन् । त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताउनुभयो । सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ । चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ ।
बारा: दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभाहलमा परिवारजनद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा कुटपिट गरी भाईको हत्या अभियुक्तमध्येका फरार दुई जनालाई चाँडोभन्दा चाँडो पक्राउ गर्न मृतकका दाजु श्यामप्रसाद धानुकले माग गर्नुभयो । “दोषी नउम्कियोस र निर्दोष नफसोस् भन्ने हाम्रो माग छ । माघ १७ गते नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भाइलाई राखेका थियौँ”, श्यामप्रसाद धानुकले भन्नुभयो । घटनासँग जोेडिएका दुई फरार अभियुक्तलाई पक्राउ गर्न नदिन राजनीतिक चलखेल भइरहेको बताउँदै धानुकले भाइको हत्यामा संलग्न आरोपितलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न माग गर्नुभयो । पुनःस्थापना केन्द्रका सञ्चालक कलैया–३ का साहेबबाबु मन्सुरसहित दुई जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । अनुशासन भङ्ग गरेको आरोपमा शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले सामूहिक कुटपिट गर्दा कलैया उपमहानगरपालिका–९ का ३२ वर्षीय प्रदीप मण्डलको यही फागुन १ गते राति मृत्यु भएको प्रहरीले जनाएको छ । “मुक्काले अनुहारमा कुटपिट गरिएको सङ्कलित प्रमाणले प्रष्ट भएको छ”, बाराका प्रहरी प्रमुख सन्तोष तामाङले भन्नुभयो, “मध्यरातमा कोठाभित्र कुटपिट गरिएको रहेछ । मुर्गा बनाउन खोजिएको रहेछ, मुर्गा बन्न नमानेपछि कुटपिट गरिएको देखिन्छ ।” मण्डललाई दुई साताअघि परिवारले पुनःस्थापना केन्द्रमा राखेका थिए । पक्राउ परेका सात जनामाथि कर्तव्य ज्यान कसुरअन्तर्गत अदालतबाट सात दिनको म्याद थपको अनुमति लिइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रमुख तामाङले बताउनुभयो । कुटपिट गरिरहेको सिसीटिभीको फुटेज प्रहरीले सुरक्षित राखेको छ । भिडियो फुटेजमा शारीरिक यातना दिन खोजिएको र मृतक ओछ्यानको झुलमा लुक्न खोज्दा तानेर कुटपिट गरिएको दृश्य देखिएको छ । पक्राउपर्नेमा कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा नं २ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा नं ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं ६ का २० वर्षीय महम्मद आँसु मियाँ वडा नं ३ का २९ वर्षीय तमन्ना मन्सुरल छन् । पुनःस्थापना केन्द्रमा सञ्चालककोतर्फबाट रेखदेख गर्ने र परामर्शदाताबाहेक मण्डलसहित १४ जना बस्दै आएका थिए । यसैबीच मृतकका परिवारजन र आफन्तले फरार अभियुक्तलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै कलैयामा प्रदर्शन गरेका थिए । मृतकलाई महिनाको रु १० हजार दिने सर्तमा सो सुधार केन्द्रमा पठाइएको थियो । मृतकको दुई छोरी र एक छोरा छन् ।
खोटाङ: खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।” आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिनुभयो ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताउनुभएको छ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय विभेदलगायत विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले प्रहरी प्रधान कार्यालय र ७७ जिल्लामै यस्तो डेस्क बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आज गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्मासहितको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको थियो गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताउनुभयो । “संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चित हुनेगरी राख्नुपर्छ भन्ने मान्छे हुँ । त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो । जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म सधैँ लागिपरेको छु”, लेखकले भन्नुभयो । उहाँले निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले उठाएको पनि उल्लेख गर्नुभयो ।
पोखरा: नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्ष दिलिप राना मगर सर्वसम्मत चयन भएका छन् । तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशनले राना मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम बुढा मगर, महिला उपाध्यक्षमा अस्मिता थापा मगर, बाह्र भाषिक उपाध्यक्षमा अर्जुन सोती मगर, अठार मगरात भाषिक उपाध्यक्षमा मोहन बुढा मगर, सचिवमा बिजय थापा मगर, सहसचिवमा समिक्षा थापा मगर र कोषाध्यक्षमा कृष्ण अठारे मगर सर्वसम्मत चयन भए । यस्तै सदस्यहरुमा गीता बुढाथोकी मगर, बल बहादुर रोका मगर, चन्द्र बहादुर रोका मगर र साजन गर्जा मगर चयन भए । बाँकी सदस्यीय समितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप राना मगरले बताए ।
काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गर्नुभएको थियो । मन्त्री डा देउवाले इजरायल सरकार र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको थियो । केही समय अघि पनि मन्त्री डा देउवाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरी सोही आग्रह गर्नुभएको थियो । खुलाइफी इजरायल सरकार र हमासबीचको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुनुहुन्छ । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आउनुभएको छ । सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी हमास समूहले विपिनलाई अपहरण गरी लगेका थिए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सरकार गठन भएको बताउनुभएको छ । साथै उहाँले वर्तमान सत्ता साझेदार दलबीच कुनै शङ्का–उपशङ्का गर्न जरुरी नभएको बताउनुभयो । प्रतिनिभिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विकास, समृद्धि र स्थायित्वका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको बताउनुभयो । गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा उच्च विश्वास र समझदारी रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले सरकारले केही समय अघि जारी गरेका अध्यादेशमार्फत नीतिगत र कानुनी सुधारले व्यावसायिक वातावरणमा सुधार आउने तथा लगानी अभिवृद्धि भई आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा दल विभाजनका लागि २० प्रतिशतको आधारसहित अध्यादेश ल्याउने पक्षहरुले अहिले नीतिगत र कानुनी सुधारको लक्ष्यले जारी गरिएको अध्यादेशको विरोध गर्न नसुहाउने स्पष्ट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले विनियोजित बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । चालु खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्च वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवं आयोजना छनोट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्ट भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्डबमोजिम आयोजनाको सम्पूर्ण पूर्वतयारीका काम सम्पन्न भएका आयोजना मात्र छनोट गर्ने व्यवस्था मिलाइएको जानकारी प्रधानमन्त्री ओलीले दिनुभयो । प्रधानमन्त्री ओलीले आयोजना कार्यान्वयनमा शीघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानुनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशील बनाइने बताउनुभयो ।