ताप्लेजुङ: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आज बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो । पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ । निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् । गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।
काठमाडौं: वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनुु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौँमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उहाँहरूलाई शुुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताउनुभयो । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताउनुभयो । विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताउनुभयो । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताउनुभयो । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गर्नुभयो । उहाँले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गर्नुभयो । कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताउनुभयो । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उहाँले विशेष खुसी व्यक्त गर्नुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुभएको थियो । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । काठमाडौँमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताउनुभयो । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ ।
गुल्मी: रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । “एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ”, उहाँले भन्नुभयो, “फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन”, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयो । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडाँै उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु ÷ कुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं: महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो । बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका दीपकप्रसाद घिमिरेले बताउनुभयो । महाशिवरात्रिको तयारीका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति अन्तर्गत नौ उपसमिति छन् । कोषका सदस्य सचिव थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उपसमिति, परिषद् सदस्य हरिप्रसाद ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उपसमिति तथा परिषद् सदस्य शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था उपसमिति गठन गरिएको छ । यसैगरी परिषद् सदस्य डा भरतप्रसाद बडालको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमिति, परिषद् सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा आवास÷भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, परिषद् सदस्य रामेश्वर सँगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य रेणुका पराजुलीको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति तथा कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीको संयोकत्वमा महाशिवरात्रि पर्व–२०८१ को सचिवालय गठन गरिएको छ । महाशिवरात्रिको तयारीका लागि गठन भएको मूल समारोह समिति र नौ वटै उपसमितिले आफ्नो कार्य क्षेत्र अनुसारका तयारीलाई अन्तिम चरणमा पु¥याएको कोषका सदस्य सचिव थापाले बताउनुभयो ।
लमजुङ: चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो । पहिलो सेसन थियो, सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर । जसमा गफिए निर्देशक नवीन सुब्बा, विश्लेषक विश्वभक्त दुलाल (आहुति), कलाकार एवं निर्माता आशा मगराती र लेखक विकास सुवेदी । प्रस्तुतकर्ता थिए–पत्रकार दीपक परियार । उक्त सेसनमा सिनेमामा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको वक्ताले बताए । उनीहरुको स्वर दबाइने गरिएको गुनासो थियो । यसको मुख्य जड भनेको जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उनीहरुले बताए । निर्देशक नवीन सुब्बाले सिनेमा बनाउनेले पनि सिनेमाको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । उनले विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव दिए । चलचित्रकर्मीले त समाजलाई अग्रगति दिनुपर्ने बताए । उनले सौन्दर्य मारेर यही घलेगाउँमा ठूलठूला होटल बनाउन थाल्यौं भने यसको अस्तित्व नरहने बताए । उनले नेपाली फिल्म निर्माणमा जनरा नभएको होइन, तर त्यसलाई हामीहरुले सम्बोधन गर्न नसकेको बताए । अर्का वक्ता आहूतिले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा अझै पनि कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन ।’ उनले मूल कुरा सिनेमाको सौन्दर्यशास्त्रको कुरामा खराबै विषय पनि कसरी भनियो भन्ने भन्ने मूल मुद्दा हो भने । उनले भने, ‘उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छै्रन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ ।’ उनले यस वर्ष सुपरहिट फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा पनि गन्धर्वहरु अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी गरे । तर, अशिक्षित भए सारंगी कसरी बनाउँछन्, कसरी बजाउँछन् ? कसरी सुरताल जानेका हुन्छन् ? यो समाजलाई अघि बढाउन उनीहरुको ऐतिहासिक योगदान छोप्ने काम गरेको छ । कलाकार आशा मगरातीले आफू दलित समुदाय त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् । तर, अहिले यो ठाउँमा आइपुगेर आवाज दिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिइन् । उनले जबसम्म आफ्नो समुदायबाट आवाज निकाल्दैनौ, तबसम्म अथेन्टिक नआउने बताइन् । उनले गरिब भन्ने बित्तिकै अत्यन्तै गरिब महिला भनेर देखाइन्छ । के त्यतिमात्र हो त ? उहाँहरुको मर्म पनि बुझेर लेख्नुपर्छ । बाहिर आउनुपर्छ, भनिन् । लेखक विकास सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०÷६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । ‘प्रकाश’ पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उनले भने, ‘अब काठमाडांैको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’ अर्को सेसन थियो, सिनेमामा संगीत ः कति मौलिक, कति आधुनिक ? उक्त सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भइराखेको सिनेमा संवादअन्तर्गत उक्त सेसनलाई रिमा विश्वकर्मा सहजीकरण गरेकी थिइन् । खासमा चलचित्र तथा गीत संगीतमा मौलिकता हराउँदै गएको आरोप बेलाबखत आइरहन्छ । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका हुन्छ । त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको देख्न सकिन्छ । पछिल्लो समय बनेका गीत संगीतले मौलिकता गुमाएका हुन् वा आधुनिकता हो ? तीसको दशकदेखि गीतसंगीतमा रहेका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिए । संगीतकार वसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । कथामा पनि क्यारेन्टरअनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ । पहिला आउने र चलचित्रमा रिलेटेड नहुँदा गीत कालजयी हुन नसकेको सापकोटाको अनुभव छ । उनी भन्छन्, ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ । त्यो गीत चलचित्र मै हुँदैन । नभएपछि भन्दा खेरि हाम्रो मनमा बसेन ।’ प्रकाश सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’ चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उनले गुनासो पोखे । अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको कलाकार सपुत बताउँछन् । आजका दिनमा पनि धेरै सौन्दर्य गीतहरु रचना भएको सुनाउँछन् । एउटादुईटा भाइरल गीतहरुलाई मात्र हेरेर अहिलेको पुस्ताले यो गीतमात्र गर्छ । अहिले गीतहरु राम्रो छैनन् । क्षणिक छन् । अहिलेका गीतहरु आजको भोलि सेलाउँछन् भन्नेमात्र देखिन्छ । किनभने अहिलेको समय त्यस्तो छ,’ उनले भने । सिनेमा संवादको तेस्रो सेसन थियो, रिलदेखि एआईसम्म । उक्त सेसनमा थिइन्, सदाबहार अभिनेत्री करिष्मा मानन्धर । उनले टेक्नोलोजीमा धेरै फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गरिन् । उनको साथमा थिए, अहिलेका पुस्तका कलाकार महेश त्रिपाठी तथा डिजाइनर एवं एनिमेटर अनिल न्यौपाने । सुव्रत न्यौपानेले गरेको सहजीकरणमा अभिनेत्री मानन्धरले एआई भनेको आत्मा नभएको फूल हो भनिन् । उनले गमलाको फूल र प्लाष्टिकको फूलको उदाहरण दिँदै त्यसरी विश्लेषण गरेकी हुन् । एआईका कारण मानिसहरुको स्मरण क्षमता कमजोर हुँदै गएको र मेहनत कम हुने गरेको बताइन् । कलाकार महेश त्रिपाठी र अर्का अनिल न्यौपानेले एआईले मानिसको क्रियाकलापमा धेरै सहजता ल्याएको भन्दै समयअनुसार आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । सिनेमा संवादको अन्तिम सेसनमा थिए, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । अन्य सेसनभन्दा लामो तर रोमाञ्चक बनेको उक्त सेसनमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गरे । बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्दै चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिए । उनले आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताए । अन्तर्राष्ट्रिय अभ्यासको समेत उदाहरण दिँदै उनले नेपाली सिनेमामा बर्सेनि थोरैमात्र फिल्म सफल हुनु स्वाभाविक हो भने । उनले चलचित्रको बृहत्तर विकासमा आफू लागिपरेको बताए । चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए । उनले तत्काल चलचित्र ऐन पारित हुनुपर्ने आवश्यकता औंल्याए । चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए । कार्यक्रम उद्घाटनमा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघका केन्द्रीय अध्यक्ष समीर बलामी, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायत बोलेका थिए । सिनेमा संवाद सुन्न घलेगाउँबासीको उल्लेख्य उपस्थिति थियो । संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।
तनहुँ: मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।” बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उहाँको भनाइ छ । पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
काठमाडौं: प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् । “न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”, लेखिका शाक्यले भन्नुभयो, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”
झापा: भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । “दैनिक एक दुई जना फर्किरहेका छन्”, उहाँले भन्नुभयो, “आउनेक्रम जारी छ, आएका विद्यार्थीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।” काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ रहनुभएको छ । त्यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल रहेका छन् । यसैगरी सुनसरी इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरी भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौँ इचम्भु–१ का २३ वर्षीय शुभम् केसी, मकवानपुर हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरको जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।