तनहुँ: मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना ९पूर्वी खण्ड० का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।” बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उहाँको भनाइ छ । पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ६० प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
काठमाडौं: प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । आज यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गर्नुभयो । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताउनुभयो । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् । “न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”, लेखिका शाक्यले भन्नुभयो, “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”
झापा: भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गत फागुन ६ गतेदेखि सो नाका हुँदै आज बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो । “दैनिक एक दुई जना फर्किरहेका छन्”, उहाँले भन्नुभयो, “आउनेक्रम जारी छ, आएका विद्यार्थीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् ।” काँकरभिट्टा नाका हुँदै कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ रहनुभएको छ । त्यस्तै, सप्तरीको राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २० वर्षीय रिसक सिंह, २० वर्षीय आयुस राज, २० वर्षीय प्रजित यादव, २० वर्षीय राकेस साह, २१ वर्षीय क्रिस दास, २० वर्षीय नवीन मण्डल रहेका छन् । यसैगरी सुनसरी इनरुवा–१ का २१ वर्षीय ओमप्रसाद पोदार, मोरङ विराटनगर–१२ का २१ वर्षीय आदित्य मिश्र, सप्तरी भारदह–२ का २२ वर्षीय केशव गोहिबार, काठामाडौँ इचम्भु–१ का २३ वर्षीय शुभम् केसी, मकवानपुर हेटौँडा–२ का २३ वर्षीय रिसभ झा र महोत्तरको जलेश्वर–१२ का १८ वर्षीया आरुसी सिंह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सप्तरी: भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाबाट घर फर्किएका यहाँका चार जनाको सवारी दुर्घटना मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा गए राति भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले बताउनुभयो । सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ । तीन जना मृतकका छोरा शव लिन तीन वटा एम्बुलेन्स लिएर गोरखपुरतर्फ आज प्रस्थान गरेका वडा अध्यक्ष चौधरीले राससलाई जानकारी दिनुभयो ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–१ माझखर्कमा ४३ औं मगर स्थापना दिवस मनाइने भएको छ । मगर सेवा समाज माझखर्कको आयोजनामा विविध कार्यक्रम गरेर मगर स्थापना दिवस मनाउन लागेको हो । मगर सेवा समाज माझखर्कका अध्यक्ष बाबुराम नाइसा मगरले ४३ औं मगर स्थापना दिवसको अवसरमा फागुन ११ देखि १५ गतेसम्म खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको बताए । उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, तृतीय हुने समूहले १४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमका लागि ४ हजार ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछने । खुल्ला धनुषवाण प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ सय रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ । यस्तै खुल्ला धनुषवाण प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ६ हजार र तृतीय हुनेले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा एक जनाले मात्र सहभागिता जनाउन पाउनेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुने समूहले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला सामुहिक नृत्य प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई १ हजार ५ सय दर्ता शुल्क कायम गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रका नयाँ संरचना अनुसार वडास्तरीय हुने प्रतियोगिता संयोजक होम बहादुर रोका मगरले जानकारी दिए । भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भन्दा बाहिरका टिम सहभागि हुन नपाउने आयोजकले जनाएको छ ।
गलकोट: बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ । गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ गरिएकामा कोष हस्तान्तरणको तयारीमा पुगेको छ । अहिले कोषमा रु ७५ लाख सङ्कलन गरिएको छ । धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो । उक्त कोषलाई छिट्टै रु एक करोड पु¥याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म रु ७५ लाख सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापती सुदिप सागर कँडेलले जानकारी दिनुभयो । कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन् । कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापती कँडेलले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले रु एक करोड ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो । कोष निर्माणका लागि देउसीभैलोमार्फत रु ४५ लाख सङ्कलन भएको र काठेखोला गाउँपालिकाले रु तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले रु एक लाख प्रदान गरिसकेको कँडेलको भनाइ छ । यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई रु २० लाख रकम प्राप्त भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोष निर्माणमा पूर्व विद्यार्थीले समेत साथ दिइरहेका छन् । कोषमा रु एक करोड पु¥याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ । कोषमा बागलुङ नगरपालिकाले रु पाँच लाख, तमानखोला गाउँपालिकाले रु पाँच लाख र बरेङ गाउँपालिकाबाट रु दुई लाख गरी रु १२ लाख रकम दिने निर्णय भइसकेको र जम्मा हुँन बाँकी रहेको कँडेलले बताउनुभयो । “धौलागिरी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दो छ, पलायन विद्यार्थीलाई यही राख्न र निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोषले ठूलो सहयोग गर्नेछ”, कँडेलले भन्नुभयो, “स्वतन्त्र विद्यार्थी युनियनले कोष निर्माण र सङ्कलन गरे पनि कोषको रकम रु एक करोड पु¥याएर क्याम्पसलाई दिइने छ, प्रत्येक वर्ष १०० विद्यार्थीको अध्ययन खर्च कोषको ब्याज रकमबाटै दिइनेछ ।” क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको हो । कोष निर्माणमा क्याम्पसका प्राध्यापकले एक महिनाको तलब सहयोग गरेका थिए । क्याम्पस र समुदायबीचको सम्बन्ध तथा सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण गरिएको हो । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने क्याम्पस प्रमुख सह–प्रध्यापक डा सुर्दशन सिलवालले जानकारी दिनुभयो । बागलुङ–३ किनारा टोल निवासी समाजसेवी भिमसेनकुमार श्रेष्ठ र उहाँकी श्रीमती पार्वती श्रेष्ठले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग होस् भनि क्याम्पसमा श्रेष्ठ परिवारले रु दुई लाख सहयोग गर्नुभएको थियो । कोषको ब्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने क्याम्पसका पूर्वप्रमुख प्रा डा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “अहिले पनि हामीले विद्यार्थीलाई केही छात्रवृत्ति उपलब्ध गराएका छौँ, तर त्यसले मात्र पुग्दैन”, उहाँले भन्नुभयो, “क्याम्पसमा स्थापना गरिने रु एक करोडको कोषले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ ।” क्यम्पसमा अहिले दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आज स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन यही फागुन २७ गतेका लागि तोकिएको बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म तोकिएको छ । यस्तै सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । त्रिविले मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । यस्तै त्रिविले क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा आवश्यकतानुसार हेरफेर गर्न, आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्ने कार्यतालिकामा उल्लेख गरेको छ । यस्तै त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि तोकेको निर्देशनालयका निर्देशक अधिकारीले जानकारी दिनुभयो । यसअघि त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । स्ववियु निर्वाचनमा एकैदिन चैत ५ गते देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।
म्याग्दी: मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ । स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), आमा समूह र युवा क्लबहरूले प्रदूषण न्यूनीकरण गर्न प्लास्टिक, धातु र सिसाजन्य फोहर व्यवस्थापनमा जुटेका हुन् । एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले पदमार्ग र बस्तीमा नकुहिने फोहर सङ्कलन गरेर पोखरा पठाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । “हिमाली भूगोल भएको मुस्ताङमा प्लास्टिक र सिसाजन्य फोहरका कारण प्रदुषण बढ्न थालेको, मानिस, घरपालुवा जनावर र वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएकाले व्यवस्थापन अभियान चलाएको हो”, उहाँले भन्नुभयो, “टोल र वडा स्तरमा सिसा र प्लास्टिकजन्य फोहर राख्ने ठाउँ बनाइएको छ ।” सङ्कलन हुने फोहरलाई एक्यापले गाडीमा ढुवानी गरेर पोखरा पुनःप्रशोधन केन्द्रमा पठाउने व्यवस्था मिलाएको रेग्मीले बताउनुभयो । मुस्ताङको नकुहिने फोहर व्यवस्थापनका लागि पोखराको ग्रिन रोड वेष्ट म्यानेजमेन्ट प्रालिसँग सम्झौता भएको छ । ग्रिन वेष्ट म्यानेजमेन्टले फोहरलाई प्रसोधन गरेर पुनःप्रयोग गर्न मिल्ने र अन्य सामग्री बनाउने गर्छ । घरपझोङ गाउँपालिका–४ जोमसोम र वडा नं ३ पुथाङमा सङ्कलन भएको एक सय २९ बोरा ९एक हजार नौ सय ८६ किलोग्राम० प्लास्टिक, सिसा र टिनजन्य फोहर यसै हप्ता पोखरा पठाइएको एक्याप जोमसोमले जनाएको छ । यसअघि गत माघ ३ गते घरपझोङको स्याङ र ठिनीबाट ५४ बोरा र २६ कार्टुन ९एक हजार दुई सय ३८ दशमलव पाँच० किलोग्राम फोहर पोखरा पठाइएको थियो । गत कात्तिक पहिलो हप्ता चार हजार पाँच सय १६ मिटर उचाइमा रहेको थोराङ्ला पासमा प्रहरी र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा करिब ३० बोरा नकुहिने फोहर सङ्कलन र व्यवस्थापन गरिएको थियो । घर तथा होटलमा हुने र सार्वजनिकस्थलका सिसा, प्लास्टिक र टिनजन्य फोहरलाई सङ्कलन केन्द्रमा राख्ने गरिएको छ । फोहरका कारण दीर्घकालीन हिसाबले वातावरण प्रदूषण हुनुका साथै वन्यजन्तु र घरपालुवा बस्तुले खाएर उनीहरू बिरामी पर्ने समस्या देखिएपछि व्यवस्थापन गर्न थालिएको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताउनुभयो । एक्यापले यस वर्ष घाँसा, लेते र कोवाङमा थप फोहर सङ्कलन केन्द्र बनाउने तयारी गरेको छ । घरपझोङ गाउँपालिकाले प्रदूषण नियन्त्रणका लागि सिसाजन्य मदिराको बिक्री वितरणमा कडाइ गरेको र प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोगको अभियान सञ्चालन गरेको अध्यक्ष मोहनसिङ लालचनले बताउनुभयो ।