डडेल्धुरा:  डडेल्धुरामा आज  बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–५, चौडको कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटन...

काठमाडौं:   हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम  सफा रहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।, सुदूरपश्चिम, कर्णाली, गण्डकी  र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना  छ।   कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै  बाँकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।   त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।  कोशी , बागमती  र गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।   कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान  तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:  आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारीलाई प्रवद्र्धन गर्नु यो दिवसको मुख्य उद्देश्य हो । सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।  यद्यपि संयुक्त राष्ट्रसङ्घको महासभाले भने सन् २००२ मा यो दिवसको घोषणा गरेको हो । आज भाषाहरूले विकास, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न पेरिसस्थित युनेस्कोको प्रधानकार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृति प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय मातृभाषा दिवस रजत जयन्ती समारोह मनाइँदैछ ।  युनेस्कोका अनुसार उक्त समारोह  सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने,  दिगो विकासमा विज्ञान र प्रविधिको उपयोग एवं बहुभाषिकता र बहुसांस्कृतिकता प्रवर्द्धनमा केन्द्रित हुनेछ । 

कञ्चनपुर:  स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् । जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् ।  परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् । बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना ९बादी०ले बताउनुभयो । “परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।” ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उहाँले बताउनुभयो ।  बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । “माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भन्नुभयो, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।”  परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए । कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उहाँले बताउनुभयो ।  “बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भन्नुभयो, “केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।” कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उहाँको भनाइ छ । “सीपमा आधारित रोजगारीका अवसर सृजना गरी सहज रूपमा निब्र्याजमा पुँजी उपलब्ध गराउने व्यवस्था सरकारले गरिदिए अरूको देशमा गएर जोखिमयुक्त मजदुरी गर्न कोही जाने थिएनन्”, पदम बादीले भन्नुभयो, “सङ्घीय लोकतन्त्र ल्याउनमा हाम्रो पनि अरूको जस्तै योगदान छ, संविधानमा भएको व्यवस्थाबमोजिम गाँसबास, कपासको व्यवस्था गरिनुपर्नेमा त्यो अहिलेसम्म हुनसकेको छैन ।”  जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताउनुभयो । “चुनावका बेलामात्र नेताहरूले अश्वासन बाँड्ने गरेका छन्, चुनाव सकिएपछि बस्तीमा हालचाल बुझ्न कोही पनि पुग्दैनन्”, उहाँ अगाडि भन्नुहुन्छ, “नगरप्रमुखले पटकपटक बादी बस्तीमा पुगेर गरेका बाचा पनि बिर्सेका छन्, बस्ती वनहरा नदीको कटानको उच्च जोखिममा रहे पनि चासो छैन ।” वडाध्यक्षले बस्तीका पीरमर्का बुझ्ने गरेको उहाँ बताउनुहुन्छ ।  सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ । आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् ।  “बिहान खाना खाएपछि साँझको खानका लागि के गर्ने भन्ने पिरलो सधैँ भइरहन्छ”, बस्तीका अर्जुन बादीले भन्नुभयो, “बिरामी परे उपचार गर्ने पैसा छैन, रोग पालेर बस्नुपर्ने बाध्यता छ, आर्थिक अभावले पोशाकको व्यवस्था गर्न नसक्दा बालबालिकालाई विद्यालय पठाउन समस्या छ ।” बस्तीमा खानेपानीका लागि गाडिएका ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले बिरामी पर्न थालेपछि टाढाबाट पानी बोकेर पिउनेपानी ल्याउनुपर्ने बाध्यता भएको बस्तीका बादी समुदायको गुनासो छ ।  खानेपानी आयोजनाका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बित्नै लागे पनि अहिलेसम्म खानेपानी आयोजना निर्माणकार्य अलपत्र छ । गुन्यालफाँँटाको बादी बस्तीमा ५० परिवारको बसोबास छ । जसमध्ये परिवारसहित भारतमा जाने परिवारको सङ्ख्या २० बढी छ ।

तनहुँ:  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज (फागुन ९ गते) देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो ।  उक्त खण्ड आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर–मस्र्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल)को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको पाण्डेले उल्लेख गर्नुभयो ।

काठमाडौं:  मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिष्दले निर्णय गरेका १३ निणर्य सार्वजनिक गर्नुभएको हो ।  मन्त्रिपरिषद् बैठकका निर्णयमा सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलगअलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्  कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय रहेका छन् । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रवीन्द्र केसीको राजीनामा स्वीकृत गर्ने, संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ५८औँ नियमित सत्रअन्तर्गत यही फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुन परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भ्रमण स्वीकृत गर्ने निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । यसैगरी सरकारका नाममा दर्ता रहेको सरकारी जग्गामा प्रसूति गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत दिने रहेको छ ।  सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वलाई प्रयोग गर्न स्वीकृति दिने, सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्युट (व्यवसायी प्रशिक्षण केन्द्र) भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने, नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने, नेपाल र संयुक्त अमेरिकाबीच हुने पुरातात्विक तथा समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीको ओसारपसार र आयात प्रतिबन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । यस्तै जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला इन्टरनेश्नल टुरिजम बोर्ड आइटिबी बर्लिन–२०२५ र फ्रान्समा आयोजना हुने ७५औँ अन्नपूर्ण दिवसमा यही फागुन २० गतेदेखि २४ गतेसम्म सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृत प्रदान गर्ने, औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, विसं २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने तथा सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

पोखरा:  निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले पोखरामा आयोजना गरेको शैक्षिक मेलाको तयारी पूरा भएको छ । पोखरा महानरपालिका–९ पृथ्वीचोकस्थित पोखरा मलमा प्रधानकार्यालय रहेको इन्स्टिच्युटले पहिलो पटक शैक्षिक मेला आयोजना गरेको हो ।  निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक निशुल्क शैक्षिक मेलाको तयारी पूरा भएको इन्स्टिच्युटकी  म्यानेजर स्नेहा राईले जानकारी दिइन् । उनले अनुसार जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युके लागतयका देशमा उच्च शिक्षा हाँसिल गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक मेला आयोजना गरिएको बताईन् ।  ‘पोखरामा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको निगाता इन्टरनेशनल ल्याङग्वेजलले विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेको निशुल्क शैक्षिक मेलाको तयारी पूरा भएको छ, म्यानेजर राईले भनिन्, ‘निशुल्क मेलामा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न प्याकेजको व्यवस्था गरेका छौं । ’ व्यवस्थापक राईका अनुसार पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरा मलमा हुने निशुल्क शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उनले मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार सञ्चालन गर्ने बताइन् । यस्तै १ देखि २ बजेसम्म बेलायत ९युके० २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन हुनेछ । यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइनेछ । उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँग सहकार्य गरको इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए । उनका अनुसार अनुसार शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरुलाई  भाषा तयारी कक्षा  (Japanese Language, IELTS, PTE )मा ५० प्रतिशत छुट दिइने छ । ‘जापान जान चाहने विद्यार्थीहरु जो शैक्षिक मेलामा आउनुहुन्छ । उहाँहरुलाई हामीले तयारी कक्षाका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्नेछौं ।,’ उनले भने । उक्त मेला उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुका लागि उपयोगी हुने आयोजक संस्थाको विश्वास छ ।  

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। विहिबार पोखरामा एनसिई नेपालद्वारा आयोजित “गण्डकी प्रदेश स्तरीय सार्वजनिक शिक्षा सम्मेलन २०८१” लाई सम्बोधन गर्दै मन्त्री थापाले शिक्षा सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । उनले प्रदेशभर सार्वजनिक शिक्षाका अवसर, चुनौती तथा आवश्यक रणनीतिबारे गहन छलफल गरिएको जानकारी दिए । “शिक्षा कुनै एक संस्था वा निकायको मात्र दायित्व होइन, यो सरकार, सरोकारवाला निकाय, शिक्षाविद्, शिक्षक, विद्यार्थी तथा अभिभावक सबैको साझा प्रयासको परिणाम हो। सार्वजनिक शिक्षालाई सुदृढ गर्न यस्ता बहस र विचार–विमर्श अत्यन्त आवश्यक छन्”, उनले भने ।   गुणस्तरीय शिक्षाका लागि गण्डकी प्रदेश सरकारले प्रभावकारी नीति तथा कार्यक्रममार्फत सुधार ल्याउने योजना अघि बढाइरहेको उनले उल्लेख गरे । “सबै बालबालिकाले समान अवसरसहित शिक्षाको पहुँच प्राप्त गर्ने वातावरण सिर्जना गर्नु हाम्रो प्रमुख लक्ष्य हो”, उनले थपे। मन्त्री थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन सरकार, शिक्षा क्षेत्रमा क्रियाशील संघसंस्था, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।  उनले यस्ता सम्मेलनहरूले नीति निर्माण र कार्यान्वयनमा प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गर्दै सम्मेलन सफल बनाउन भूमिका खेलेका सम्पूर्ण सहभागी, आयोजक संस्था तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।  

गोरखा:  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि समय दिने प्रतिबद्धता जनाउनुभएको छ । गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आज गोरखा नगरपालिका– १४ गोप्लिङस्थित सहिद परिवारसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा चाहे जति समय दिन नसकेकाले अब बाँकी समय निर्वाचन क्षेत्रको विकास निर्माणलाई दिने प्रतिबद्धता जनाउनुभयो ।   अध्यक्ष दाहालले सहिदहरुको बलिदानका कारण नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताउनुभयो । परिवर्तनका लागि ज्यानको बलिदान दिने सहिदहरु देशको साझा सम्पत्ति भएको उहाँले उल्लेख गर्नुभयो ।   अध्यक्ष दाहालले १० वर्षे सशस्त्र सङ्घर्षका क्रममा एकै घरबाट तीन जनाले ज्यान गुमाएका गोरखा नगरपालिका–१४ गोप्लिङस्थित सहिद गुप्तबहादुर नहर्की, सरस्वती नहर्की र कल्पना नहर्कीको परिवारसँग भेट गर्नुभएको हो ।  आजै उहाँले पालुङ्टार–८, स्थित जनयुद्धका क्रममा ज्यान गुमाउनु भएका सहिद वीरेन ओलियाको परिवारसँग पनि भेटघाट गरी सहिद परिवारको अवस्थाको बारेमा जानकारी लिनुभयो ।  अध्यक्ष दाहाल गोरखा नगरपालिका–१०, स्थित मिरकोटमा सुरु हुन लागेको मिरकोटगढी महोत्सवको उद्घाटन गर्न आज गोरखा आइपुग्नु भएको हो ।

पोखरा:  प्रधानमन्त्री केपी शर्मा ओलीले  ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा  दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।            कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गर्नुभयो ।  “इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,” कुलपति ओलीले भन्नुभयो, “तपाईंहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस् ।”        उहाँले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गरौँ भन्नुभयो ।  “हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस् । साहसी हुनुस्, दुस्साहासी नहुनुस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीसँग उर्वर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।”        समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार ८७२ विद्यार्थीलाई दीक्षित गराउनुभयो । साथै उहाँले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गर्नुभयो ।