काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गर्नुभएको छ । “महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भन्नुभयो, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।” संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताउनुभयो । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उहाँले स्पष्ट पार्नुभयो । संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर रू ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि रू ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो । कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा रू तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर रू तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा रू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर रू ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ । सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि रू दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि रू दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो । पाँच महिनामा १६ प्रतिशत बजेट खर्च महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले रू २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म रू चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराउनुभयो । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो । महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ । “हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।” महानगरपालिकाले चालु आर्थिक वर्षमा रू १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल रू चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ । जसमा आन्तरिक राजस्वतर्फ कुल रू दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट रू ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रू ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२ दशमलव ७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताउनुभयो । यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।
पर्सा: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ । नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो । “हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “मधेसका केन्द्रित राजनीतिक दलका नेताले संविधानकै धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ ।” मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई आफूहरुले जोड दिएको उहाँको भनाइ थियो । “यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।” प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो । उहाँले स्थानीयको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । कार्यक्रममा सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको थियो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको हो । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो ।
सोलुखुम्बु: अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।” पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ”, उहाँले भन्नुभयो । चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा प्रशान्त शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छभने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुइँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।” चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् । खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताउनुभयो । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायत क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका अमृत मगरले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेका साथै गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्र उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाले जनाएको छ । भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडोयाममा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ । पानी आपूर्तिमा समस्या जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाले बताउनुभयो । यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छभने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् । धारा बन्द गरेर राख्दा पानी पाइपमा जम्ने भएकाले खुला नै छाड्ने गरेको स्थानीयले बताएका छन् । बेलुका धारा बन्द हुँदा रातको समयको चिसोमा जमेको पानी घाम नलागेसम्म नपग्लिने गरेको नाम्चेका नुरु शेर्पाले बताउनुभयो ।
दक्षिण कोरियामा भएको विमान दुर्घटना स्थलमा ८५ जनाको शव फेला परेको बीबीसीले जनाएको छ । आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो । शव फेला पर्नेमा ३९ जना पुरुष र ४६ जना महिला रहेको बताइएको छ । यस अघि भने दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले २ जना बाहेक सबै जनाको निधन भएको आशङ्का भनेको थियो । जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । यस घटनामा अहिलेसम्म दुई जनाको जीवितै उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएका छन् । उद्धार हुनेमा एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ । अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन । यो पनि पढ्नुहोस दक्षिण कोरिया विमान दुर्घटना: २ जना बाहेकको मृत्यु भएको आशंका
वीरगञ्ज: तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए । “ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो”, उनले भने , “स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ ।” अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने कोसिस गरे पनि त्यसमा सफल नभएको बताए । उनले आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा जोड दिए । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिए । “ पर्सागढीको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक पहलकदमी भइरहेको छ”, उनले भने, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गा फिर्ता लिनेछौँ”, पर्सागढीको बृहत्तर गुरुयोजना बनाएर व्यवस्थित गर्न जरुरी भएको उहाँले बताए । यस्तो छ इतिहास विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने, नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ । साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ । के छ पर्सागढीमा ? पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताए । यसरी मनाइँदैछ २१० औँ विजय महोत्सव ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ । यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै यही पुस १९ गते पर्सागढी २१० औँ विजय महोत्सव आयोजना हुँदैछ । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ ।
काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको भएको आशंका गरिएकाे छ। योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो। १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो। विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए। आपत्कालिन सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ। त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ। दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको छ।
ढोरपाटन: नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो । अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उहाँको भनाइ छ । जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउनुहुन्छ । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख पौडले भन्नुभयो, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।” जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताउनुभयो । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोख्नुभयो । “सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुईरतीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भन्नुभयो, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”
काठमाडौं: नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । त्यस्तै, जापानी येन, साउथ कोरियन वनको भने मूल्य घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ , युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ १२ पैसा तोकिएको छ । त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।