पोखरा: गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्नका लागि सबैभन्दा पहिला गुरुङ एकता अनिवार्य रहेको बताएकी छिन् ।  तमु धिं नेपाल ताङतिङ दुधपोखर...

नुवाकोट:    पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा  हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् ।  पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिनुभयो । उहाँको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो । “सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट बगेको जलबाट निर्मित बेत्रगङ्गा र रुद्रगङ्गा तथा त्यसभन्दा दूरमा रहेको नीलाद्री पर्वतमा त्रिशूल खोप्दा निस्किएको जल बगेको त्रिशूली नदीको भेट भएको त्रिवेणीधाम उत्तगरगया पवित्र तीर्थस्थल हो”, अध्यक्ष ड¬ङ्गोलले भन्नुभयो, “वेत्रावती उत्तरगयाधाम हिन्दू धर्मावलम्वीको प्रमुख चारधाममध्येको मुख्य र नेपालमा रहेको एकमात्र धामका रूपमा पुज्ने गरिन्छ ।” दक्षिणायनको अन्तिम औँसीका रूपमा रहेको पौष कृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जानअन्जानमा भएका गल्ती क्षमा हुने र मृत्युपरान्त मोक्ष पाउने धार्मिक विश्वास छ ।  धर्मशास्त्र अनुसार चार गयामध्ये तीनगया भारतमा पर्छ भने नेपालमा पर्ने उत्तरगयाधाम वेत्रावती हिन्दू र बौद्धमार्गीको पवित्र तीर्थस्थल मानिन्छ ।  भारतमा रहेको चारधाम दर्शन गर्नुअघि उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू र बौद्धमार्गी अनुयायीको आस्था जोडिएको छ । सोही तथ्य हिमवत् खण्डमा समेत उल्लेख रहेको ओखलढुङ्गाबाट श्राद्ध गर्न वेत्रावती आउनुभएका पण्डित लोकाथ उपाध्यायले बताउनुभयो । उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष र अन्यथा जीवनमा एकपटक भए पनि पिण्ड तर्पण गर्नुपर्छ भन्ने विश्वासमा ङो (श्राद्ध) गर्न आएको धुनिबेँसी नगरपालिका–१ धादिङका ज्ञानबहादुर लामाले बताउनुभयो ।  उहाँका अनुसार तामाङ साुमदायमा दिवगङ्त व्यक्तिको पुण्य, आत्मको चीरशान्ति तथा केही बाधा अड्चन भएमा तथा स्वर्गलोक पुग्न बाँकी भएमा त्यसको क्षमाका लागि बौद्धमार्गीहरूले ङो गर्ने गरिएको छ । पवित्र नदी त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।

चितवन:    पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।  खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।        जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो ।  घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

बैतडी:     बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका–७ को न्वाघर केन्द्रबिन्दु भएर आज बिहान ७ः५४ बजे ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस बैतडीसहित, बझाङ, डडेल्धुरा, डोटीमा गरिएको छ ।  भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म  जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं:    कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान महासङ्घ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही पुस १३ गतेदेखि सुरु भएको महासङ्घको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।      क्यान महासङ्घले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । उहाँ सफ्टवेयर डेभलपमेन्ट कम्पनी जेनेरल टेक्नोलोजीकी प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ ।  महासङ्घको १५औँ कार्यसमितिको उपाध्यक्षमा, हर्कबहादुर सेटी, चिरञ्जीवी अधिकारी, नवीन जोशी, शेखरनाथ दुलाल, सुभाष खड्का र सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासचिवमा चन्द्रविलास भूर्तेल र कोषाध्यक्षमा विक्रमसिंह निर्वाचित हुनुभएको छ ।      सचिवहरूमा सरिता न्यौपाने, अग्मा मालाकार, दीपक साह, सरुना श्रेष्ठ, मनिराज पाण्डे, रामकिशोर रावल र कर्णराज पनेरु चयन हुनुभएको छ ।  त्यस्तै कार्यकारिणी सदस्यमा उमेश रघुवंशी, ध्रुवराज शर्मा, केशवप्रसाद भट्टराई, नारायणप्रसाद श्रेष्ठ, ठाकुरकुमार श्रेष्ठ, हेमपाल श्रेष्ठ, शिला कंसाकार कार्की, दीपेन्द्र पौडेल, राजु कट्टेल, चिन्तामणि बास्तोलालगायत निर्वाचित हुनुभएको छ ।      लेखासमितिको संयोजकमा भानुभक्त शर्मा र सदस्यहरूमा सन्तोष ढुङ्गाना र पूजा अग्रवाल चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूलाई सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सामूहिक प्रयत्न गरिने बताउनुभयो ।  उहाँले नेपाललाई सूचना प्रविधि ‘हब’का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन नीतिगत सुधारको खाँचो रहेको र यसका लागि आफूले विशेष पहल गर्ने बताउनुभयो ।      नवनिर्वाचित महासचिव भूर्तेलले क्यान महासङ्घको कार्यक्षेत्र विस्तार गर्न विशेष ध्यान दिने र संस्थागत सुधारका लागि ठोस रणनीति अपनाएर लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो ।      सन् १९९२ मा स्थापना भएको क्यान महासङ्घले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।  सन् २०१५ मा महासङ्घमा रूपान्तरण भपछि यस सङ्गठनले सातै प्रदेश र ७४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । क्यानले हरेक वर्ष आयोजना गर्ने ‘क्यान इन्फोटेक’ नेपालको ठूलो प्रविधिसम्बन्धी प्रदर्शनीका रूपमा मानिन्छ ।

दाङ:     लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिइएको थियो  । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो ।  उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने संभावित कार्यसूची छ । हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ  । चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।

सर्लाही:    नयारोड सडकखण्डमा उखु बोकेको ट्रयाक्टर र मोटरसाइकल गए राति आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।   बरहथवा नगरपालिका–९ शान्ति चोकमा उखु बोकेर हरिवनतर्फ आउँदै गरेको ज१त ९८७६ नम्बरको ट्रयाक्टर र नयाँरोडबाट बरहथवा जाँदै गरेको ज४प ३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  घटनामा संलग्न ट्रयाक्टर, चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

महोत्तरी:     पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेकोे बताउनुभयो । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ ।  जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर–२ का चिया व्यापारी सुरेश साहले बताउनुभयो ।    चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको छ । ” दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।  जलेश्वर –११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकोे गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् । मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण गर्न यो कदम महत्वपूर्ण हुनेछ । उनले स्थानीय समुदायसँग परामर्श गरी चाँडै विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताएका छन् । उनले आउँदो अधिवेशनमै कानुन पास हुने गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । गण्डकी प्रदेशमा गुरुङ र मगर समुदायको जनसंख्या उल्लेखनीय छ । यी भाषाहरूलाई सरकारी कामकाजमा समावेश गर्नाले प्रदेशको सामाजिक समावेशिता र भाषा संरक्षणको अभियानलाई थप बल पुग्ने विश्वास गरिएको उनले बताए । मन्त्रीले कानून निर्माण पछिको कार्यान्वयनका लागि आवश्यक जनशक्ति विकास, भाषा तालिम र प्रशासनिक संयन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन् । उनले आगामी दिनमा अन्य मातृभाषाहरूको प्रवद्र्धनका लागि पनि यसलाई उदाहरणीय परियोजना बनाउन खोजिएको उल्लेख गरे । “गण्डकी प्रदेशले पहिलो पटक यस्तो कानुनी पहल गर्न लागेको हो”, उनले भने, “जसले बहुभाषिक संरचनालाई बलियो बनाउने अपेक्षा गरिएको छ।” पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै सोमबार पोखरा सहित देशभर तमु ल्होसार मनाइएको छ । समुदायले गुरूङ वर्षलाई बिदाइ गर्दै नाग वर्षको स्वागत गरेको हो । पोखराको पामेमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की, महिला राष्ट्रिय परिषद् कास्की, छोंज धीं कास्की, तमु धीं नेपाल र पोखरा ११ स्थित तमु प्ये लहु संघ परिवारले शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रममा गुरुङ समुदायहरु आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

मुगु:    कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् । सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताउनुभयो । “पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन”, उहाँले भन्नुभयो, “चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन् ।” उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उहाँले फोनमार्फत बताउनुभयो । हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताउनुभयो । कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।