काठमाडौं: नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गरे । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत पाए । महासंघको नयाँ कार्यसमितिमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा शर्मा प्यानलकी नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा विष्ट प्यानलकी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन् । उपाध्यक्ष समावेशीमा शर्मा प्यानलका उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे । यसैगरी मोहन कुमार सिंहले ८६० मत पाए । महासचिवमा पनि शर्मा प्यानलका रामप्रसाद दाहाल निर्वाचित भए । दाहालले ४ हजार ८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी विष्ट प्यानलका लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे । महासचिवका अर्का उम्मेदवार जन्मदेव जैशीले १ हजार ९२९ र प्रकाश थापाले ४८८ मत पाए । कसले कति मत पाए ? सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका उत्तरसिंह विष्टले २ हजार ६७, बालकृष्ण अधिकारीले ७७५, माधव दुलालले ७१९ र कुमार ओझाले ३१६ मत पाए । सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । सरिता बराइलीले २ हजार ८२३ मत पाइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५ मत प्राप्त गरी विजयी भए । यो पदमा प्रतिस्पर्धा गरेका भिसन राईले २ हजार ४५७ र टिकाराम प्रधानले १ हजार ६९ मत पाए । सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए । अर्का प्रत्यासी श्रीजन झाले २ हजार २४३ र प्रविण कुमार चौधरीले ९५२ मत पाए । सचिव दलिततर्फ प्रकाश धौलाकोटी ४ हजार ११० मतसहित विजयी भए । अर्का प्रत्यासी बसन्त विकले १ हजार ८९२, भिमबहादुर विश्वकर्माले ६५० र सन्तोष कुमार बराइलीले ४७४ मत पाए । सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित निकाले । उनका निकटतम प्रतिस्पर्धी विकास कार्कीले २ हजार ७३५ र योगेश खपाङ्गीले ८१२ मत पाए । कोषाध्यक्ष पदमा रामकृष्ण अधिकारी ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । उनी विष्ट प्यानलबाट निर्वाचित एकमात्र पदाधिकारी हुन् । प्रेस सेन्टर नेपालका अधिकारीले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई ३८३ मत अन्तरले पछि पारे । शर्मा प्यानलका ज्ञवालीले ३ हजार ४६४ मत पाए ।
पोखरा: नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गरे । प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए । गण्डकी प्रदेशअन्तर्गत महासङ्घको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भए ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उहाँका स्वकिय सचिव आनन्द भट्टले राससलाई जानकारी दिनुभयो ।
कैलाली: २७ वर्र्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान सुरू भएको हो । पहिलो उडानमार्फत टीकापुर पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाइँलगायतले स्वागत गर्नुभएको थियो । विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए । त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौँ–टीकापुर सिधा हवाई उडान सञ्चालन गरिने बताउनुभयो । “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ ।” टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौँदेखि नेपालगञ्जसम्म यति एयरलाइन्समार्फत र नेपालगञ्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो । विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछ । टीकापुर नगरपालिका र तारा एयरबीच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिनुभयो । “यति एयरलाइन्सले काठमाडौँ–नेपालगञ्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ । यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रू नौ हजार निर्धारण गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले लामो प्रयासपछि विमानस्थल सञ्चालन सम्भव भएको उल्लेख गर्दै यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे, पर्यटन राज्यमन्त्री चौधरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य सङ्घ टीकापुर, व्यावसायी तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलगायतलाई विशेष भूमिका निर्वाह गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । उक्त उडानको टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ । टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ । साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन् । विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ । सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न थप सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउने तालिका छ । त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ । यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ । साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ ।
चितवन: गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।” संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौ ।” सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको मन्त्री लेखकले बताउनुभयो । यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” २ दलबीचमा कुनै समस्या नरहेको उहाँको भनाइ छ । सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो ।राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उहाँले बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताउनुभयो । मन्त्री लेखकले भन्नुभयो, “प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत छ । चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको होस् । सबै नागरिकप्रति मानव अधिकारका विषयमा हामी सचेत छौँ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उहाँले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले गरेको बताउनुभयो । कानुनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै उहाँले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु हो, त्यस्तो हुनु हुँदैन भन्नुभयो । सहकारीको रकम अपचलन गर्ने सबैमाथि अनुसन्धान हुने बताउँदै उहाँले व्यक्ति विशेषलाई अनुसन्धान गर्ने र कसैलाई छुट दिने कुरा नहुने बताउनुभयो । अपराध गर्ने मानिस सबैमाथि अनुसन्धान हुने उहाँको भनाइ थियो ।
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि हाम्रो टोलीले पक्राउ गरेको हो ।” श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका निजले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । पक्राउ परेका उपप्रबन्धक श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
चितवन: मनकामना केबलकारको सेवा २ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिनुभयो । टावरको मर्मत सम्भारका लागि २ दिन केबलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने नायब प्रबन्धक शेरचनले बताउनुभयो । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।
सिरहा: जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्याँस चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्याँस सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिनुभयो । भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताउनुभयो । उहाँका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू १ हजार २ सयले घटेको हो । शुक्रबार प्रतितोला रू १ लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ । शुक्रबार प्रतितोला रू १ हजार ८ सय ६० मा कारोबार भएको चाँदी आज रू १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।