झापा:  काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौं पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बि...

काठमाडौँ:  हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ ।   कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।   विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।   त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।   शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

बेइजिङ:    चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ ।   यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभयो ।   प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।   प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गर्नुभएको थियो ।   कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे ।   प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

गुल्मी:    निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ ।   कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो ।   कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी यही मङ्सिर १९ गतेदेखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको छ ।   उक्त सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्नेे गरगरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी कोरिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो ।   प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुने छ ।   यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।   सडक बन्द हुने भएपछि कालीगण्डकी गाउँपालिकाले पनि सरोकारवाला यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ:  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ ।   लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आउनुभएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो ।   “कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।”   उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।   उहाँले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो ।   भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो ।   कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताउनुभयो ।

कर्णाली:     कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताउनुभएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले उनीहरुको हक, अधिकार सुनिश्चितताका लागि सामाजिक सचेतना निर्माण गर्नुपर्ने बताउनुभएको हो । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “संविधानले अपाङ्गता भएका व्यक्तिलाई अन्य नागरिक सरह राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका सम्पूर्ण अधिकार सुनिश्चित गरेको छ ।  यसमा उनीहरुको अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक छ । जसमा तीनै तहका सरकारबीच समन्वय गरी आवश्यक नीति, योजना र कार्यक्रममार्फत विकासको मूल प्रवाहमा अपाङ्गता भएका व्यक्तिलाई समेट्नुपर्छ ।” जन्मजात वा जन्मपश्चात् एवं नेपालको लोकतान्त्रिक आन्दोलनका साथै अन्य विपद्का घटनामा परी अङ्गभङ्ग हुनुभएका कर्णालीवासी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, न्याय र सम्मानपूर्वक जीवनयापनका लागि प्रदेश सरकारको तर्फबाट कानुनी तथा नीतिगत प्रबन्धमा गर्न आफू प्रतिबद्ध रहेकोसमेत मुख्यमन्त्री कँडेलले उल्लेख गर्नुभएको छ ।

दोलखा:     बाढी, पहिरोजस्ता प्राकृतिक विपद्बाट सुरक्षित रहन स्थानीयस्तरमै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्नसक्ने नागरिक वैज्ञानिक अभियानलाई देशव्यापी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।  एसियाली पूर्वतयारी केन्द्र ९एडिपिसी० को सहयोगमा भीमेश्वर नगरपालिका, इन्स्टिच्युट अफ हिमालयन रिक्स रिडक्सन (आइएचआरआर)र स्मार्टफोन फर वाटर नेपाल (एस४डब्लु)को संयुक्त पहलमा सञ्चालन गरिएको ‘भिक्टोरी’ नामक परियोजनामार्फत तयार गरिएका नागरिक वैज्ञानिकहरुको दीक्षान्त समारोहका सहभागी वक्ताहरुले सो आवश्यकतामा जोड दिएका हुन् ।  नागरिक वैज्ञानिकहरुले सम्प्रेषण गरेका मौसमी सूचनाका आधारमा पूर्वतयारी गर्दा जनधनको क्षति कम गर्न सकिएकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँहरुको भनाइ रहेको छ ।  नगरपालिकाका नौवटै वडाका ५÷५ जना गरी ४५ जना सर्वसाधारणलाई प्रशिक्षित गरी साधारण उपकरणमार्फत गत जुनदेखि अक्टोबरसम्मको वर्षा मापनको सूचना सङ्कलन गरी त्यसका आधारमा मौसम पूर्वानुमान गरिएको थियो ।  हाल यो कार्यक्रम बर्दियाको बारबर्दिया नगरपालिकामा पनि ४५ जना नागरिक वैज्ञानिकमार्फत बाढी मापनमा मौसमी पूर्वानुमानको कार्य भइरहेको छ ।   कार्यक्रममा नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले पहिरोको उच्च जोखिममा रहेको पालिकालाई विपद् व्यवस्थापनयुक्त बनाउन नागरिक वैज्ञानिक अभियान निकै प्रभावकारी देखिएकाले यसलाई निरन्तरता दिँदै छिमेकी पालिकाहरुमा पनि विस्तार गर्नुपर्ने बताउनुभयो ।  आइएचआरआरका कार्यकारी निर्देशक सुरज गौतमले साधारण प्रविधि र तालिम प्रदान गरी स्थानीयस्तरमै नागरिक वैज्ञानिक तयार गर्दा विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने भीमेश्वर नगरपाकिलाबाट प्राप्त अनुभवका आधारमा यस वर्ष मनाङ र लमजुङका दुई पालिकामा पनि नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । एस ४ डब्लुका डा सञ्जीव न्यौपानेले नागरिक वैज्ञानिक कार्यत्रमलाई देशभरि विस्तार गर्न सकिएको मौसमी विपद्बाट बर्सेनि हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले स्थानीयस्तरबाटै प्राप्त मौसमी सूचनाका आधारमा मौसम पूर्वानुमान गरिने हुँदा यसलाई अझ भरपर्दो र व्यवस्थित गराउन सकिएमा प्रकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो । नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरेश राउतले विपद् व्यवस्थापनमा नागरिक वैज्ञानिक कार्यक्रमको निकै प्रभावकारी रहेकाले आगामी दिनमा पनि पालिकाले निरन्तरता दिने बताउँदै यस्ता सफल अभ्यासहरुलाई पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्नुभयो ।  नागरिक वैज्ञानिक यदुनाथ न्यौपाने र कमला ओलीले विपद्बाट जनताको जीउधन र राज्यका भौतिक सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै यस कार्यक्रमलाई पालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नागरिक वैज्ञानिकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेइजिङ आइपुग्नुभएको हो ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यसअघि प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै नौ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।  प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

बेइजिङ:   नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।   वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुगेको हो ।

काठमाडौँ:   स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।   निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।   उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गर्नुभयो ।   यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गर्नुभयो ।   दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ ।   उहाँले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गर्नुभयो । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।   हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनुभएको छ ।   नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो ।   तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गर्नुभएको हो ।   उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नुभयो ।   आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।   उहाँका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत प्राप्त गर्नुभएको छ ।   मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ ।   यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।   उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाउनुभएको छ ।   कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।   ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको थियो ।   आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।   कहाँ को निर्वाचित ? मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गर्नुभयो ।   दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याउनुभयो ।   जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत प्राप्त गर्नुभएको छ ।   रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी हुनुभयो ।   उहाँको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाउनुभयो ।   बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी हुनुभयो । उहाँले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाउनुभयो ।   ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी हुनुभएको छ ।   उहाँको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभयो । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी हुनुभयो ।   उहाँको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाउनुभयो । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँसँग एमालेका बुद्धबहादुर लिम्बू तीन सय ६० मत प्राप्त गरी पराजित हुनुभयो ।   सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित हुनुभयो ।   ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल एक सय ७७ मत पाएर पराजित हुनुभयो ।   उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी हुनुभयो ।   उहाँले नौ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले छ सय आठ मत प्राप्त गर्नुभयो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित हुनुभएको छ ।   उहाँसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित हुनुभयो । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाउनुभयो ।   धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गर्नुभयो । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।   उहाँको प्रतिस्पर्धी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभयो ।   रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गर्नुभएको थियो । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।   उहाँका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले छ सय ३१ मत पाउनुभयो ।   रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित हुनुभयो । नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी हुनुभयो ।   कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित हुनुभयो ।   काठमाडौँका कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित हुनुभयो भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाउनुभयो । वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी हुनुभयो । उहाँले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले चार सय ९५ मत पाउनुभयो ।   मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी हुनुभयो ।   उहाँको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित हुनुभयो ।   गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले चार सय दुई मत मात्र पाउनुभयो ।   गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले नौ सय ३० मत पाउनुभयो ।   कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाउनुभयो ।   रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाउनुभयो । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी हुनुभयो ।   उहाँका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाउनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित हुनुभयो ।   उहाँको प्रतिस्पर्धी नरबहादुर रोकाले एक सय १६ मत पाउनुभयो । कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही एक सय १५ मतमा सीमित हुनुभयो ।   जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाउनुभयो ।   दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी हुनुभयो ।   उहाँका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाउनुभयो । रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित हुनुभयो ।   उहाँका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले पाँच सय ३७ मत पाउनुभयो । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा चार सय ८७ मतमा सीमित हुनुभयो ।   डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित हुनुभयो ।   उहाँको निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले तीन सय एक मत पाउनुभयो । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित हुनुभयो ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित हुनुभयो ।   उहाँका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याउनुभयो ।