म्याग्दी: भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ÷रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउदाँ पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो । उहाँका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्कि पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलीङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ । रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलब पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ । बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना ब्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुरहरु रसिमा झुण्डीएर रड राख्ने प्वाल बनाएका बताउनुभयो । रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उहाँले बताउनुभयो । म्याग्दी र मुस्ताङको सिमानामा रहेको दुई किलोमिटर दुरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ । चिन र भारत जोड्ने सबैभन्दा छोटो दुरिको, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्र्तगत म्याग्दीको काभ्रेभिर देखि मुस्ताङको घाँसा सम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । वि.स. २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारी साधन खस्ने, गुडीरहेको सवारी साधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् । यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार छ सय मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठुला ढुङ्गाले क्षति पु¥याएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ २ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको थियो । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १२ रूपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रिदर तीन सय ५२ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाइ, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुनुहुन्छ भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि एक सय ३३ जनाको उम्मेदवारी परेको छ । महासङ्घको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
चितवन: भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ । पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो । मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताउनुभयो । हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उहाँले जानकारी दिनुभयो ।
धनुषा: जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज रङ्गभूमि मैदानमा स्वयंम्बर कार्यक्रम सम्पन्न भएको छ । आज जनकपुरधामको जानकी मन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रङ्गभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक परिक्रमा गरेर स्वयंम्बर सम्पन्न भएको हो । साँझदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाहमण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । तत्कालीन मिथिलाका राजा जनकले गर्नुभएको प्रतिज्ञाअनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो । त्यसपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव आयोजना गर्ने चलन रहेको छ । आज राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ ।
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब छिट्टै आर्टिफिसिएल इन्टिलिजेन्स् (एआई) नीति ल्याउने बताउनुभएको छ । उहाँले काठमाडौँ विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आज धुलिखेलमा आयोजित ‘आइटी मिट–२०२४’को उद्घाटन गर्दै एक महिनाभित्र एआईको नीति ल्याई आवश्यक कानुन बनाउने पक्षमा सरकार क्रियाशील रहेको बताउनुभयो । “एआईको कानुन बनाएपछि सूचना प्रविधिमार्फत थप कार्यक्रम ल्याउन सकिन्छ, यसका लागि मन्त्रालयमा गृहकार्य भइरहेको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो । नेपाल आइटीको दशकमा प्रवेश गरेको भए पनि त्यसबाट अहिलेसम्म उल्लेख्य फाइदा लिन नसकेको चर्चा गर्दै उहाँले विषयविज्ञहरूसँग छलफल तथा अन्तरक्रिया गरी आवश्यक नियम कानुन बनाएर मुलुकलाई ‘आइटी हब’ का रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एआईको जमाना आइसक्यो, अहिलेसम्म नेपालका सबै सरकारी संयन्त्र ई–गभर्नेन्समा गईसक्नुपथ्र्यो, त्यस्तो हुन सकेको देखिएन, डिटिजल नेपाल फ्रेमवर्कका लागि भए पनि एआईसम्बन्धी कानुन यथाशक्य छिटो तयार गरी कार्यान्वयनमा जानेछौँ ।” राज्य संयन्त्रअन्तर्गतका निकायमा ई–गभर्नेन्स लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण हुने विश्वास व्यक्त गर्दै सञ्चारमन्त्री गरुङले भन्नुभयो, “डिजिटल नेपाल फ्रेमवर्कमार्फत ई–गभर्नेन्सलाई लागू गर्न सक्छौँ, त्यसपछि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सहज हुन्छ ।” ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई पहिलो चरणमा सरकारी तहबाटै सुरु गर्ने पक्षमा वर्तमान सरकार रहेको जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “अहिले २२ मन्त्रालय रहेको सङ्घीय सरकार, सात प्रदेश सरकार र सात सय ५३ वटा स्थानीय तहसमेत गरी देशमा सात सय ६१ सरकारसहित मातहतका सबै सरकारी कार्यालयमा ई–गभर्नेन्सको कार्यक्रम लागू गर्न सकिए भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु, त्यसका लािग आवश्यक नियम–कानुन बनाउने कामलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको स्पष्ट गर्दछु ।” उहाँले आवश्यक नियम, कानुनसहित ई–गभर्नेन्स कार्यान्वयन भएपछि मुलुकका तीनै तहका सरकारका नीति तथा कार्यक्रम, योजना र बजेट व्यवस्थापन प्रक्रिया सहज भई अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गर्दै त्यसका पक्षमा वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो । सञ्चारमन्त्री गुरुङले आइटी क्षेत्रको विकास एवं विस्तार गरी त्यसलाई उद्योग तथा उत्पादनमूलक क्षेत्रमा जोड्दै देश र जनतालाई लाभान्वित तुल्याउन पक्षमा क्रियाशील रहेको सरकारलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न विषय विज्ञहरूको ध्यानाकर्षण गर्नुभयो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङका डिन मनिष पोखरेलले सूचना प्रविधिका क्षेत्रमा भएका विकास तथा देशभरिका प्रविधिमैत्री युवालाई एकत्रित गरी नयाँ अवसर र प्रेरणा प्रदान गर्ने सोचका साथ ‘आइटी मिट–२०२४’ आयोजना गरेको बताउनुभयो । दुई दिनसम्म चल्ने कार्यक्रममा कोडिङ प्रतियोगिता, परियोजना प्रदर्शनी, गेमिङ इभेन्टस्, गुगलिङ प्रतियोगिता, केयुबिङ प्रतियोगिताजस्ता विविध गतिविधि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
काठमाडौं: नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताका रुपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । आज परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभएको हो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो । योगदानको कदर गर्दै उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा परिसङ्घले उच्च करदातालाई सम्मान गरेको उहाँले बताउनुभयो । राष्ट्रिय कर दिवसमा आर्थिक वर्ष २०७८÷७९ मा वस्तु निर्यात कारोबारमध्येबाट डाबर नेपाल, एकलौटी फर्ममध्येबाट श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने कोडावतार, कृषि एवं पशुुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक तथा वित्तीय संस्था र बिमाबाट नबिल बैंकलाई परिसङ्घले सम्मान गरेको हो । स्वास्थ्य तथा शैक्षिक संस्थाबाट लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन क्षेत्रबाट तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारतर्फबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरिएको हो । यसैगरी विसंं २०७५ साउनदेखि २०८१ साल असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिबृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम रु ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आव २०७९÷८० को आयविवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसङ्घले सम्मान गरेको छ । कार्यक्रममा परिसङ्घ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ्ग काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा घनश्याम ओझालगायत उपस्थित हुनुहुन्थ्यो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अस्पताल पुगेर राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गर्नुभयो । प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिनदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सङ्लग्न चिकित्सकसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिनुभएको थियो । यही मङ्सिर १९ गते अस्पताल भर्ना हुनुभएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उहाँको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।
धनुषा: जनकपुरधाममा सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाह मण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा हुने वैवाहिक कार्यक्रमका लागि हजारौँ श्रद्धालु यहाँ आइपुगेका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा उल्लेख्य दर्शनार्थी जनकपुरधाम आएका छन् । त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्न नेपाल र भारतका साथै तेस्रो मुलुकबाट समेत दर्शनार्थी जनकपुरधाम आइपुगेका छन् । प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्ती पनि यहाँ आएका छन् । अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका नगरप्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद्का केन्द्रिय मन्त्री राजेन्द्रसिंह पङ्कजसहितको टोली पनि यहाँ आइपुगेको छ । जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रमको आयोजना हुने गर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जस्तै मण्डप सजाइन्छ । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ सिँगारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णवले भन्नुभयो, “यहाँ आउने दर्शनार्थीलाई छोरीको बिहेको आयोजना गरिरहेको जस्तै अनुभव हुन्छ ।” महन्त दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुनुहुन्छ । राम मन्दिरका महन्तबाबा राम गिरी राजा दशरथको भूमिकामा हुनुहुन्छ । महन्त गिरिले भन्नुभयो, “सीताजस्ती बुहारी पाउने भएपछि हर्षविभोर हुनु स्वभाविक नै हो ।” त्रेता युगमा अयोध्या नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शनविधि गरिन्छ । यसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ । विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउनुहुन्छ । यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन लिएर धनुषयज्ञको आयोजन गरिएको संकृतीविद् एवं पण्डित मुकेश प्रतिहस्त बताउनुहुन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । सोही स्मरणमा धनुष यज्ञविधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राममन्दिरको प्राङ्गणमा हजारौँ श्रद्धालुबीच तिलकोत्सव विधि सम्पन्न हुन्छ । अयोध्याबाट जन्तीको नेतृत्व गरी आउनुभएका रामजन्मभूमि ट्रष्टका महासचिव रायले विवाहपञ्चमी महोत्सवले नेपाल र भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने बताउनुहुन्छ । अयोध्याका नगरप्रमुख त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल र भारतको सांस्कृतिक, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको बताउनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न आज हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गर्नुभएको छ । उहाँले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गर्नुभयो । देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आउनुभएका श्रद्धालु भक्तजनलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिँहले जनकपुरधामवासीसँग आग्रह गर्नुभएको छ । मेला हेर्न उत्तर प्रदेशको बोकडाबाट आउनुभएका ५८ वर्षीय भोला यादवलेले भन्नुभयो, “जनकपुरधामको नाम मात्रै सुनेको थिए, आज प्रयक्ष हेर्न पाए । मन गदगद भएको छ ।” तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ । जहाँ जानकी मन्दिरका महन्त र राम मन्दिरका महन्तबीच अङ्कमाल (समधि मिलन) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीत गाउँछन् भने हास्यपरिहासको माहौलसमेत हुन्छ । जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित ठट्टा गरिन्छ । राम मन्दिरका महन्त राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त, पूजारी सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्त स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् । महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाच गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ । छैँठौ दिन आज ऐतिहासिक रङ्गभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ । आजै राति वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयम्बरपछि दुबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ । आज राति हुने सो वैवाहिक कार्यक्रममा महिला विवाहका गीत गाउने गर्छन् । विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ । इसलाई रामकलेवा भनिन्छ । रामकलेवामा बेहुला पक्षबाट आएकालाई गाली गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पूजारी तथा मिथिलाका नारी गीतकै माध्यमब्ँट गाली गर्ने गर्छन् । जसले अदभूत वातावरणको निर्माण गर्छ ।