काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

झापा:   प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले आज मेचीनगर नगरपालिका–४ आमडाँगीमा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालयको उद्घाटन तथा बृहत् गुरुयोजनाको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यले एक समारोहकाबीच दुई बिघा पाँच कट्ठा जमिनमा निर्माण गरिएको भवनको उद्घाटन र नयाँ बन्ने भवनको शिलान्यास गर्नुभएको हो । प्रथम महिला शाक्य सो आश्रमको संरक्षक हुनुहुन्छ । आश्रमको १९औँ जिल्ला शाखाका रुपमा उद्घाटन तथा शिलान्यास भएको आमडाँगीस्थित सो जग्गा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका स्थानीय रामबहादुर प्रधानले निःशुल्क रुपमा प्रदान गर्नुभएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।  उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले मानव सेवा आश्रमबाट भएका गतिविधि र भावी कार्यक्रमको प्रशंसा गर्दै आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक आश्रमलाई दिने घोषणा गर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक समेत रहनुभएकी प्रथम महिला एवं आश्रमका संरक्षक शाक्यले निवृत्तीभरण (पेन्सन) बापत पाउने दुई महिनाको सुविधा आश्रम भवन निर्माणका लागि दिने बताउनुभयो ।         सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्रनिर्माण गर्ने परिकल्पनासहित सुरु भएको मानवसेवा आश्रममा हाल ४८ जना सहयोगापेक्षी सडक आश्रित मानव रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।     गत साउन महिनादेखि अनौपचारिक रुपमा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी संस्थाले आश्रय दिँदै आएको छ । मेचीनगर नगपालिकाको रु २५ लाख र संस्थाको करिब रु एक करोडको लगानीमा तीन वटा भवन र शौचालय निर्माण गरेर सञ्चालनमा ल्याइएको आश्रमले स्पष्ट गरेको छ । अध्यक्ष अधिकारीका अनुसार सो आश्रममा उद्धार गरी ल्याइएका ४८ मध्ये अहिले ३३ पुरुष र १० जना महिला रहेका छन् । आश्रममा उद्धार गरेर ल्याइएकामध्ये २ पुरुष र १ महिलाको परिवारमा पुनःमिलन गराइएको छ भने ३ पुरुष र १ महिलाको निधन भएको छ ।  आश्रमले १ सय ५० जना अट्ने भवन विस्तार र साधना हल बनाउने लक्ष्यसहित गुरुयोजना निर्माण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । विसं २०६९ मा हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी आश्रमले मानवताको प्रवद्र्धनको अभियान निरन्तर चलाउँदै आइरहेको छ ।  अध्यक्ष अधिकारीले भन्नुभयो, “देशभर खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र देशभर कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माणका पक्षमा आश्रम जुटेको छ, सक्दो सहयोगका लागि सबैसँग अनुरोध गर्दछौँ ।” आश्रमले हालसम्म स्वयं आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानिसको खोजविन तथा पहिचान गरी १० हजार आठ सय २७ जनाको उद्धार गरेको जनाएको छ ।  जसमध्ये ५ हजारभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापना गराइसकेको आश्रमले स्पष्ट गरेको छ । सो आश्रमको मुलुकभर २५ वटा सेवाकेन्द्र रहेको बताइएको छ । 

स्याङ्जा:    यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु ५ करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उहाँले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आउनुभएको हो । अर्यालले आफ्नै बगैँचामा उत्पादन गर्नुभएको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु ५ करोडसम्मको करोबार हुने उहाँले जानकारी दिनुभयो । “आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भन्नुभयो, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष रु पाँच करोडको कारोबार हुने अनुमान छ ।”  गतवर्ष रु ४ करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गर्नुभयो ।सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित हुनुहुन्छ ।  उहाँले ८० रोपनी क्षेत्रफलमा २ हजार २ सय सुन्तलाका बिरुवा लगाउनुभएको छ ।व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आउनुभएको छ ।  “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उहाँले भन्नुभयो, “आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।” सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आउनुभएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उहाँले बताउनुभयो ।  गत वर्ष कामदारलाई रु १७ लाख पारिश्रमिक भुक्तान गरेको उहाँले जानकारी दिनुभयो ।यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गर्नुभएको छ ।  नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उहाँको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीको विषयलाई तीनै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।  छैटौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा राधा पौडेल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक समानताका लागि यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र मर्यादित महिनावारी नीति संवादमा पूर्वमन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको विभेदको अन्त्य गर्नुपर्ने र महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको हो ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँले मर्यादित महिनावारी निर्देशिका बनाउनका लागि मस्यौदा तयार गर्नुका साथै मर्यादित महिनावारीको देश बनाउन अभियान नै सञ्चालन गर्नुभएको थियो । “महिलामाथि कुनै पनि प्रकारको विभेद हुुनु हँुदैन, बालविवाह रोकिनुपर्छ, महिनावारीका नाममा हुने हिंसा रोकिनुपर्छ”, उहाँले भन्नुभयो, “तीनै तहका सरकारले महिनावारीका नाममा कुनै पनि प्रकारणको विभेद हुन हुँदैन भनेर अभियान नै सञ्चालन गर्नुपर्छ ।” पूर्वमन्त्री गुरुङ विभेदरहित मुलुक बनाउनका लागि सरकार, राजनीतिक र सामाजिक सङ्घसंस्था सबैले ध्यान दिनुपर्ने र मानिसको चेतनस्तरमा परिवर्तन ल्याउन सबैल पहल गर्नुपर्नेमा जोड दिनुभयो । २१औँ शताब्दीमा आएर यस्ता खालका विभेदलाई जरैदेखि उखेलेर निर्मूल गर्नुपर्ने उहाँको भनाइ थियो । राष्ट्रियसभाअन्तर्गत विधायन समितिका सभापति तुलसाकुमारी दाहालले मर्यादित महिनावारीको विषयलाई कानुन बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।  सभापति दाहालले २०७४ सालमा बनेको मर्यादित महिनावारी निर्देशिकाको मस्यौदाबारेमा आफूले थप जानकारी लिने र कानुन बनाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले प्राकृतिक रुपमा हुने महिनावारीलाई कुनै पाप, धर्म, जात वा भूगोल कुनैमा पनि हिसाबले विभेद गर्न नहुनेमा जोड दिनुभयो । राधा पौडेल फाउन्डेसनका संस्थापक अध्यक्ष डा राधा पौडेलले विश्वभरि नै महिनावारीका नाममा महिलाले कुनै न कुनै प्रकारको विभेद सहनुपरेको उल्लेख गर्दै विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । महिनावारीका नाममा कुनै पनि प्रकारण विभेद गर्न नहुने उहाँको भनाइ थियो । कार्यक्रममा डा राधा पौडेलको शब्द र समीक्षा अधिकारीको स्वरमा ‘मेरो शरीर मेरो अधिकार हुन्छ, अनुमतिबिना छुन खबरदारी छ’ बोलको गीतको सार्वजनिक गरिएको थियो । त्यस्तै, ‘सृष्टिको रगतको गाथा–२’ को सार्वजनिक गरिएको थियो । आज डिसेम्बर ८ विश्वभरि नै अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ ।  

ललितपुर:    ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो ।  हाल ३ वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमख सुरेशमान लाखेले जानकारी दिनुभयो ।  उहाँका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि (आगमी जेठ) भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ । नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिनुभयो ।  ढु¬ङुगा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उहाँले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गर्नुभयो ।  नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी सिल्पकारले काष्टकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्त्ररण गर्ने जनाइसक्नुभएको उहाँले बताउनुभयो ।  सङ्ग्रहालयका प्रमुख लाखेका अनुुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्त्ररण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ ।  सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उहाँले राससलाई जानकारी दिनुभयो ।  नयाँ कक्षमा थपिने कालात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताउनुभयो ।  “पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वभाविक हो”, उहाँले भन्नुभयो, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।”

नुवाकोट:    धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ ।  दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ । मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताउनुभयो ।   दुप्चेश्वर महादेवको महिमा  पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताउनुभयो ।  गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उहाँको भनाइ छ ।यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो ।  उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।  मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् ।  धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन् ।दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ ।  महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ । काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ ।  काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ ।  नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ । मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ ।  रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ ।मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ ।  लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ । 

झापा:    प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको छ ।  उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।  प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ । 

म्याग्दी:   बेनीमा आगामी माघमा आठौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला सञ्चालन हुने भएको छ ।  आगामी पुस २८ देखि माघ ८ गतेसम्म आयोजना हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार महोत्सवमा रु १० करोड बराबरको कारोबार हुने र रु एक करोड २९ लाख खर्चको अनुमान गरिएको छ ।  “महोत्सव व्यापारिक तथा मनोरञ्जनका लागि मात्रै नभइ म्याग्दीमा लगानी ल्याउनका लागि पनि उपयोगी हुने अपेक्षा गरेका छौँ”,  उहाँले भन्नुभयो “म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग ब्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवद्र्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको छ ।” महोत्सवमा औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, विभिन्न कलाकारको प्रस्तुति रहनेछन् । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल एकल लोकनृत्य, जनजातिका झाँकी पनि प्रर्दशनी गरिनेछ ।  महोत्सवका अवसरमा आयोजना गरिने अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई रु १ लाख ५१ हजार र उपविजेतालाई रु ७५ हजार १ सय पुरस्कारको व्यवस्था गरिएको छ ।  लोक दोहोरी गीत प्रतियोगिताका विजेतालाई रु १ लाख १ सय र उपविजेतालाई रु ६१ हजार १ सय पुरस्कार प्रदान गरिने जनाइएको छ । महोत्सव सञ्चालनबाट भएको आम्दानीबाट म्याग्दी उद्योग वाणिज्य सङ्घले स्थापना गरेको व्यवसायी हितकोषमा रु १० लाख, विपद् राहत कोषमा रु ५ लाख जम्मा गर्ने र टिकट बिक्रीबाट हुने केही प्रतिशत रकम म्याग्दीका सामाजिक सङ्घ संस्थालाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।       यसअघि विसं २०५८ देखि २०७८ सालसम्म सात पटक म्याग्दी महोत्सव आयोजना भएको थियो । म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारमा परापूर्वकालदेखिनै माघे सङ्क्रान्ति पर्वको अवसरमा मेला लाग्ने गरेको थियो । 

काठमाडौं:    राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने १ सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा १ महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।  

मुगु:    रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् ।  निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो ।  त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईँ र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया अनुसन्धानमा सक्रिय हुनुहुन्छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रारा राष्ट्रिय निकुञ्ज कार्यालयको अनुमतिमा गत कात्तिक ६ गतेदेखि २१ दिनका लागि निकुञ्जका विभिन्न ४० स्थानमा क्यामरा जडान गरिएका थिए ।   निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयले चराचुरुङ्गीको गणना गर्दै आएको भए पनि यहाँ रहेका वन्यजन्तु, जलचर, वनस्पतिको गणना हालसम्म गरेको  छैन ।