काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ १८ पैसा निर्धारण गरेको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ०१ पैसा र बिक्रीदर नौ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ १६ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ १४ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ०९ पैसा , बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हुम्ला: हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरुसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन, प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । “सूचनाको हक जनताको मौलिक हक हो । त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कतव्र्य हो”, उहाँले भन्नुभयो, “प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्षत बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ ।” मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको सुनाउनुभयो । आफ्ना अनुभव बाँड्दै उहाँले जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुने बताउनुभयो । मन्त्री गुरुङले प्रवक्ताहरुले काम गर्दा भोग्नु परेका समस्याहरु सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाजुरा: जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभयो । दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत रहेका प्रहरीले जनाएको छ । घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । आज नै सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
नुवाकोट: नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा मृता भेटिएका छन् । आफ्नै घरमा भित्रबाट आग्लो लगाएको अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ (मटरकोसा) टिप्न गएको समयमा घटना घटेको स्थानीयले बताएका छन् ।
काठमाडौं: नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमबीच आज शर्माको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेदवारी दिनुभएको छ । यस्तै, खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदीवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोककुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिनुभएको हो । अध्यक्ष पदका उम्मेदवार शर्माले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको बृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासङ्घको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
काठमाडौं: प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशोधनकर्तासँग छलफल सुरु गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्ताले जनतालाई राज्यका तर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रुमलिरहेकाले अहिलेको अवस्था अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । सेवा प्रवाहका आधारमा पदोन्नति हुने व्यवस्था बनाइनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले राज्यबाट सेवासुविधा लिएको व्यक्ति नयाँ सरकार आउनसाथ सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गर्नुभयो । यसअघि बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम तथा समावेशी, व्यावसायिक र सहभागितामूलक बनाउने विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजामती सेवालाई उच्च मनोबलयुक्त र नैतिकवान् बनाई राज्यका तर्फबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न ऐन निर्माणका लागि विधेयक ल्याइएको हो ।” निजामती सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ सेवामूलक उत्तरदायी र व्यवसायी बनाउँदै सुशासनमुखी संयन्त्रका रूपमा विकास गर्न सरकारले विसं २०८० फागुनमा यो विधेयक सदनमा दर्ता गराएको थियो । राज्यको पुनःसंरचनासँगसँगै प्रशासनिक पुनःसंरचनापश्चात् सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन र व्यवस्थापन गर्ने विधेयकको उद्देश्य रहेको छ । मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउन सङ्घीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको मन्त्री गुप्ताको भनाइ थियो । उहाँले स्थायी सरकारका रूपमा रहेको निजामती सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक अस्थिरताका कारण सरकारको फेरबदलसँगै सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्दै यसलाई व्यवस्थित र अनुमानयोग्य बनाउन आवश्यक रहेको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारू समुदायको निजामती सेवामा प्रवेशका सन्दर्भमा अदालतबाट भएको फैसला कार्यान्वयन गर्न सहज होस् भन्ने हेतुले संशोधन दर्ता गरेको प्रतिक्रिया दिनुभयो । विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ तथा पुरुषको ३२ तथा अवकाशको उमेर हद ६० वर्षका लागि प्रस्ताव गरिएको छ । निजामतीभित्र ११ समूह, नौवटा श्रेणी तथा १४ तहसम्म रहने गरी विधेयकमा प्रस्ताव छ । त्यस अवसरमा नेपाल सरकारका मुख्यसचिव टेकनारायण अर्यालले राजनीतिक हिसाबले मुलुकमा सङ्घीयताको अभ्यास भए पनि समयमा ऐन, कानुन, विधि र पद्धति निर्माण नभएका कारण निजामती सेवामा सहज रूपमा कार्यसम्पादन गर्न चुनौती भइरहेको बताउनुभयो । कर्मचारीलाई प्रोत्साहन गर्दै सुशासन र पारदर्शिता कायम गरी अघि बढनुपर्नेमा विगतको कर्मचारी समायोजनमा त्रुटि भएका कारण भर्ना र सरुवामा समेत दोहोरोपन देखिएको उहाँको भनाइ थियो । “लामो समयदेखि सङ्घीय संसद्मा रहेको निजामती सेवासम्बन्धी विधेयकलाई यथाशीघ्र टुङ्गोमा पु¥याएर सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिनुपर्छ । ऐन नआउँदा कर्मचारी खेलौनाजस्तो भएका छन्”, मुख्यसचिव अर्यालले भन्नुभयो ।
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो । उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।
गण्डकी: सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । म्याद थपका लागि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन म्याद थप्ने अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइनुभएका लामिछाने त्यस यता प्रहरी हिरासतमा हुनुहुन्छ । उहाँलाई त्यसपछि उहाँलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको थियो ।