काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

ढोरपाटन:    सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो । सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ ।  आयोजनाको सबै काम रु सात करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताउनुभयो ।  हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।

चितवन:     राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो ।  यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ ।  यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो ।  नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ । 

सर्लाही:    कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् ।  विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिनुभयो ।  उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ ।  उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ ।       ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ । “रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।”         विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताउनुभयो ।  “सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”           छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्रयाक्टर प्रदर्शन गरेका थिए ।  आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् ।      कवाडीमा फालिएका मोटरसाइकलका पार्टस, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा रु एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् ।       “हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौँ ।”  यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताउनुभयो । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।      निर्माण गरेको विद्युतीय ट्रयाक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गर्नुभएको थियो ।  इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ ।  यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।

पर्वत:    मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ ।  गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो ।  डिमुवा–राम्जा चित्रे सडकखण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मितिभन्दा सात महिनाअगावै गत भदौमा सम्पन्न भएको थियो ।       पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रम अलपत्र परिरहेका बेला निर्धारित समयअगावै सम्पन्न गरेकामा निर्माण व्यावसायीको प्रशंसा गर्नुभएको छ ।  मुलुकको विकास र समृद्धिका लागि सञ्चालित योजना समयमा नै सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । आफू मन्त्री भएपछि पहिलो समाचार सोही पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो ।       चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडक निर्माणका चरणमा रहेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उहाँको भनाइ छ ।       अठार महिनामा निर्माण सम्पन्न गर्नेगरी २०८० असोज २२ गते सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मोदी गाउँपालिका–६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिङ्गल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु दुई करोड ५३ लाख लागतमा निर्मित  पुल कस्तुरी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । पुलको भारबहन क्षमता ७० टन रहेको छ ।       अनुकूल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामग्रीको सहज उपलब्धता र स्थानीयवासीबाट सहज वातावरण निर्माण भएकाले निर्धारित समयभन्दा छ महिनाअगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यवसायी चेतनारायण आचार्यले जानकारी दिनुभयो ।       यो पुल निर्माणपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन सञ्चालन हुन थालिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।       विगत वर्षहरूमा वर्षायाममा खोलाबाट वारपार गर्न नसकेर यातायात सुविधाबाटै वञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दा यस वर्षदेखि सहज रूपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ ।  स्थानीय सडक पुल कार्यक्रम एलआरविपी र प्रादेशिक सडक पुल सहयोग एकाइ पिआरवी एसयुको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । पुल उद्घाटनका क्रममा जग्गादाता तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो । 

काठमाडौं:   जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ ।  विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।       सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।       साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।      साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ ।       जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’      मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।      विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।       आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

सुनसरी:    सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नंको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका–७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयोे ।       टिप्परको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै ३ः३० बजे मृत्यु भएको उपरीक्षक तिमल्सिनाले बताउनुभयो । उक्त घटनापछि स्थानीयले टिप्पर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको उहाँले बताउनुभयो ।       ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई इलाका प्रहरी कार्यलय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको उपरीक्षक तिमल्सिनाले बताउनुभयो ।

काठमाडौं:    स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि आज नयाँ दिल्लीतर्फ लगिएको छ ।  नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उहाँलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको जानकारी दिनुभयो ।  श्वास फेर्न समस्या भएपछि गएराति नै उहाँलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।  विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो  ।

लेखनाथ:    पोखरा–१८ खपांैदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्नुहुन्छ । जाल थापेर निस्केका माछा बिक्री गर्न उहाँ पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ ।    उहाँले भन्नुभयो, “तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरु पनि भिन्दै बस्छन्, छोराहरुले जाल थापेर मारेका माछा बिक्रीकोर जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला र नैनी माछा देख्न पाइएको छैन, फेवातालमा माछा घट्दा हाम्रापेसा सङ्कटमा परेको छ ।”   पोखराको फेवाताल किनार खपौंदी, वैदाम, गाईघाट जलारी समुदायको एक सय परिवार रहेको मध्य एक दुई परिवार ति मध्य एक दुई परिवारबाहेर अन्य सबै यही पेसामा आबद्ध छन् ।  हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फिरन्त जीवन स्थापित त भयो तर यो समुदायमा गरिवी भने हट्न नसकेको जनाउँदै पछिल्ला वर्ष फेवाताल वरपरका खेतमा विषदीको प्रयोग हुँदा माछा लोप भएका कारण जलारीका पेसा थप सङ्कटमा परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।   आयातित माछाकै कारण रैथाने माछा सङ्कटमा पारेको र पछिल्ला वर्ष जालमा माछा पर्न कम भएपछि जलारीका पेसालाई बचाउन स्थानीय सरकारले फेवातालका माछा संरक्षणमा जोड दिन आवश्यक भएको उहाँले बताउनुभयो ।  फेवाताल संरक्षण गर्दे परम्परागत रुपमा माछा मार्ने पेसामा सम्लग्न जलारी समुदायको जीविको पार्जनका लागि पनि तालमा बढीभन्दा बढी माछाका भुरा छाडेर सहयोग गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।  पछिल्ला वर्षमा स्वास्थ्य प्रति मानिसहरु सचेत हुँदा स्थानीय जातको माछा प्रयोगमा आकर्षण बढेकाले सरकारले पनि यस्ता माछाको सङ्ख्या वृद्धि र संरक्षणमा जुट्नुपर्ने भनाइ उहाँको छ ।  फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका आधिकांश युवा माछा मार्ने व्यवसायमा छन् भने केही रोजगारीका लागि खाडीमुलुकमा भएका छन् भने पुरानो पुस्ता भने यही पेसामा छ । फेवातालबाहेक बेगनास तालमा पनि केही मात्रमा जलारी समुदाय माछा मार्ने व्यवसायमा नै लागेका छन् ।  जलारी दिदीबहिनी समूहकी अध्यक्ष मीना जलारीले जालमा परेका माछाले जीविको धान्न कठिन हुन थालेको जनाउँदै अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने गरेको बताउनुभयो ।  माछाको मूल्य जातअनुसार प्रतिकेजी चार सयदेखि एक हजार पाँच सय रुपैयाँ सम्मका छन् तर अधिकांश माछा तिलिपिया भएकाले मूल्य निकै कम हुने बताउनुभयो ।  जलारी समुदायका महिलाको जीवनस्तर सुधार गर्न राज्यले अन्य बाटाहरु खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  फेवातालमा जलारी समुदायबाहेक अन्य व्यक्तिले लुकिछिपी बल्छी थापेर माछा मार्ने गर्दै आएकाले त्यस्तो कार्यलाई रोक्न समेत उहाँले आग्रह गर्नुभयो ।  मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मोहमत इक्वाल हुसेनले पोखराको फेवातालमा २४ प्रजातिका माछा रहेको जानकारी दिँदै फवातार वरपरको खेतबारीमा प्रयोग भएको विषादीका कारण माछाहरु मात्र सङ्कटमा परेका छैनन् त्यसवाट आश्रित जलारी समुदायका पेसा समेत सङ्कटमा पर्दै गएको भनाइ उहँको छ ।  पोखराको फेवातालमा मत्स्य अनुसन्धान केन्द्र तथा विभिन्न सङ्घ संस्थाले वार्षिक १० देखि १२ हजारको सङ्ख्यामा विभिन्न जातका माछा छाड्ने गरेको बताउनुभयो । 

ताप्लेजुङ:    पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ ।  घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।  समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको जानकारी दिनुभएको ।   समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही  मङ्सिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो ।  विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम रु तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो ।  सामाजिक सञ्जालहरुमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरु आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।