काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू ...

काभ्रेपलाञ्चोक:    सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।       रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।      सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।  उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।  ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पार्नुभयो ।         “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छि, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको ? ८४ सालको दसैँपछिको चुनावमा रु ठिकै हो । त्यसभन्दा यता मैले एक वर्ष नौ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । त्यसबेला आफैँ फेरिन्छ यो सरकार”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसपछि देउवाजीले नेतृत्व गर्नुहुन्छ, उहाँको नेतृत्वमा २०८४ सालमा निर्वाचन हुन्छ । चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।”           प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता पार्टीले मिलेर बनेको लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ नभएको टिप्पणी गर्नुभयो ।   ‘वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन’        प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको सङ्घर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनतामा सार्वभौमसत्तानिहीत रहेको यस प्रणालीको रक्षा गर्नु  सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउनुभयो ।            “पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । आजको स्वतन्त्रतायुक्त समाज यत्तिकै आइलागेको होइन, यो बडो मेहनतका साथ आएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतामा सार्वभौमसत्ता रहेको र जनता शक्तिको स्रोत रहेको संविधान र यसबाट निर्दिष्ट अहिलेको लोकतान्त्रिक प्रणालीको रक्षा गरिनेछ ।”            अलोकतान्त्रिक विधिबाट परिवर्तन गर्छु भन्नु अराजनीतिक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ ।”   ‘कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ’            प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने स्पष्ट पार्नुभयो ।  उहाँले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गर्नुभयो । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।          नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान गएको बताउनुभयो ।            देशविदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसका शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।

काठमाडौं:    दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उड्नुभयो । मलेसिया जान लाग्नुभएकी गिरीले भावुक हुँदै भन्नुभयो, “घर चलाउन, घरै छाड्नुपर्‍यो ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उहाँको भनाइ थियो ।            कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सक्नुभएन ।  छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उहाँले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताउनुभयो ।  “सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उहाँले भन्नुभयो, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो । ती सबै आमाहरु थिए ।  त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिनुभयो, “जे त होला ।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उहाँको भनाइ छ ।  “यो मेरो बाध्यता हो”, उहाँ भन्नुहुन्छ, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।” तामाङका श्रीमान् सवारी चालक हुनुहुन्छ । सुकुम्बासी बस्तीमा बस्ने उहाँहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उहाँले आफैँ विदेसिने निधो गर्नुभएको हो । “नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेसिनुको विकल्प देखिँन”, उहाँले भन्नुभयो ।            स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुनुहुन्छ । श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उहाँले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो ।  श्रीमान्लाई फकाएर मलेसिया पठाउनुभयो । विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाउनुभयो न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताउनुभयो ।  “विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उहाँले भन्नुभयो, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ ।”      वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ ।       विभागकाअनुसार बर्सेनी ६० हजार हाराहारीको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए ।  आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या वृद्धि भई ८० हजार पुगेको छ ।            वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो  तथ्याङ्कले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताउनुभयो ।  उहाँका अनुसार खाडी मुलुक जाने महिलाको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । “अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भन्नुभयो, “त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्याङ्क पाउन मुस्किल छ ।”            राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउनुहुन्छ । आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भन्नुभयो, “आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।” राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ ।            पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।  बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “नेपाली समाजमा महिलाले थुपैै्र विभेद सहन बाध्य छन्”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।” आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उहाँको सुझाव छ ।

धुलिखेल:    तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् ।  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।      बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहनुभएको छ ।  खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उहाँले बताउनुभयो । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आउनुभएको छ ।  चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उहाँसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आउनुभएको छ ।  “असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फुलबहादुरले भन्नुभयो, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।” बाह्र जनाको परिवार रहेको उहाँको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढलिे बगाएको छ ।      बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उहाँहरुको भनाइ छ ।  पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।      गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् ।  बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् ।      खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएका बताउनुभयो । “नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्”, उहाँले भन्नुभयो ।      खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताउनुभयो ।  त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् । 

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ ।      नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो ।      “नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।”      मन्त्री गुरुङले  नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।  “नेपाल टेलिभिजन राज्यको हो, यस्मा राज्य झल्किनुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउँदा उहाँहरुलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो ।”      राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।      मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।      नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग  शाहले स्रोतसाधनको अभावका बाबजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधँै तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवद्र्धन गर्न नेपाल टेलिभिजन सधैँ तयार रहेको बताउनुभयो ।      नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवद्र्धन गर्न गत वर्षदेखि नै भाषभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो ठूलो भाषा ‘नेपाल भाषा’ आजदेखि प्रारम्भ गरेको बताउनुभयो । नेपाल टेलिभिजनबाट आज अपराह्न ४ः३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ ।      नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसङ्ख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ ।      कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौं:   बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।  विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले  हवाई यात्रा गरेका हुन् ।        विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन ९असोज ३० गते० सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो ।       दसैँको दुुई दिन अर्थात् असोज  २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए ।  असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् ।  यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।           यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए ।  यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।          अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो ।        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० विमान कम्पनीले उडान गर्दै आएका छन् भने आन्तरिकतर्फ सात विमान कम्पनीले सेवा दिइरहेका छन् ।  दसैँको समयमा आन्तरिकमा सुगम विमानस्थलमा ठूला एयरलाइन्सका विमानले उडान भरे । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स तथा श्री एयरलाइन्सले बढी उडान भरेका थिए । यि कम्पनीसँग ठूला र मझौला विमान छन् ।  बुद्ध र यतीसँग एटीआर ७० विमान र श्री एयरलाइन्सस ८० सिट क्षमताका  ‘ड्यास एट’ विमान छन् । समिट एयर, तारा एयर र सीता एयरले लुक्लालगायत दुर्गम गन्तव्यमा उडान भर्ने गरेका छन । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा मात्र दुई विमानले दुर्गम क्षेत्रमा उडान भर्दै आएको छ । –––

भक्तपुर:    बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित नवदुर्गा मन्दिर जानुभई नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको छ ।  सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी हुनुहुन्थ्यो ।       राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरुले नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो ।   राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन समेत गर्नुभएको थियो । राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गर्नुभएको थियो ।  नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणासमेत प्रदान गर्नुभयो ।      त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गर्नुभएको थियो । राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढबाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले बताउनुभयो ।       राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वली, राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमख टेकराज तिमिल्सिना, नागरिक अभियन्ता, सुरक्षा निकायका प्रमुखहरुलगायतले स्वागत गर्नुभएको थियो ।      मल्लकालदेखि राजा, महाराजाहरुले नवदुर्गाको पूजा, अर्चना गर्दै आए पनि बीचमा यो परम्परा खण्डित भएको बताइन्छ ।  २०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राजाहरुले राष्ट्रप्रमुखको हैसियतमा र गणतन्त्र आएपछि राष्ट्रपतिले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिनुभयो ।  नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।

गण्डकी:     रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उहाँको सिङ्गो परिवार समस्यामा परेको छ ।      घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ ।  जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन आयो कि भन्ने कुराले इन्दिरालाई बारम्बार झस्याङ्ग  बनाउँछ ।  आफू उच्चरक्तचाप र मधुमेहको  तथा कान्छो छोरा मुटुको रोगी नियमित औषधि सेवन गर्नुपर्दा आर्थिक अभावसँगै श्रीमान् बेपत्ता भएपछिको पीडाले इन्दिराको शरीरसमेत दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।      निःशुल्क टिकट र राहदानीमा दुबई जानका लागि गत असोज ३० गते घरबाट बिदा भएर निस्कनुभयो, काठमाडौँमा पुगेपछि दलालको प्रलोभनमा परेर रसिया पुग्नुभएछ, मङ्सिर १३ गते अन्तिम सम्पर्क भएको थियो त्यसपछि कुनै जानकारी आएको छैन इन्दिराले रासससँग बताउनुभयो ।  “रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो र दोस्रो क्याम्पमा सारेपछि खानको समेत समस्या परेपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो”, उहाँले भन्नुभयो ।      “रसियामा पुगेको डेढ महिनासम्म सम्पर्क भएको थियो युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन”, इन्दिरा थापा भन्नुहुन्छ, “मुटुको रोगी कान्छो छोरा कक्षा २ मा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नुपर्ने भनेको थियो आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन अहिले नियमित औषधि खुवाउन सके त मुस्किल परेको छ । विद्यालयमा साथीको बाबा मोटरसाइकलमा लिन आउँदा कान्छो छोराले घरमा आएर बारम्बार बाबा मलाई स्कुलमा लिन कहिले आउनुहुन्छ भनेर सोध्छ मसँग उत्तर छैन ।”      सात वर्षीय छोरोको उपचारसहित परिवारको खुसीका लागि ज्यानको जोखिम मोलेर रसियाका तर्फबाट युक्रेनको युद्धरत क्षेत्रमा पुग्नुभयो अहिले सम्पर्कविहीन हुँदाको पीडा छँदैछ त्यसमा पनि रसिया जाँदा रु आठ लाख ऋण लागेको उहाँको भनाइ छ । सशस्त्र प्रहरीमा छ वर्ष सेवा गरेका ४२ वर्षीय ज्ञानबहादुर परिवारको सुखका लागि साउदीलगायत विभिन्न तीन देशमा पुगेका थिए तर पनि बर्मा गयो कर्मसँगै भने जस्तै सोचेजस्तो आम्दानी नभएपछि रसिया गएका थिए ।      सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गङ्गा र छोरी अमृतासहित पाँचजनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ ।  दशैँको पर्वका अवसरमा खर्च नभएपछि विरौटामा रहेका काकासँग तीन हजार मागेर ल्याएको बताउँदै उहाँले भन्नुभयो, “बर्दियाबाट आउँदा ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।”      रसियन राजदूतावासबाट डिएनए परीक्षणका लागि बोलाएपछि ज्ञानबहादुरको दिदी राजकुमारी थापा भदौको ३० गते काठमाडौँ जानुभएको थियो । पोखराको रत्नचोकमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएको उहाँले गहभरि आँसु बनाउँदै भन्नुभयो, “भाइ आउने आश अझै मरेको छैन ।”  मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेसिने सयौँ नेपाली एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागी भएको उहाँको भनाइ छ ।      बिचल्लीमा परेको परिवारलाई आर्थिक सहयोग      रसियामा अभिभावक बेपत्ता भएपछि बिचल्लीमा परेको परिवारका लागि पोखरा–१७ आँखा अस्पतालमा सञ्चालित पुनः डिपोले आर्थिक सहयोग गरेको छ । विभिन्न समाचारमा प्रकाशित समाचारका आधारमा डिपोका तर्पmबाट रु पाँच हजार पाँच सय सहयोग गरिएको हो ।      पोखरा–१६ बाटुलेचौरस्थित निवासमा पुगेर डिपोका प्रमुख हिमलाल पुनले इन्दिरा थापामगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।  निर्माण सामग्री बिक्रीबाट भएको आम्दानीले पीडित परिवारलाई सहयोग गर्ने अवसर प्राप्त गरेकामा आत्मसन्तुष्टि भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने पुनले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुन:व्यवस्थापनको काम अघि बढाइने बताउनुभएको छ ।      प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुन:निर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराउनुभयो ।  उहाँले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचे भन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको उल्लेख गर्नुभयो ।       प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुन: निर्माण र पुन:व्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।       सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले  खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो ।       उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समेत सहभागी रहेको सो भेटघाट कार्यक्रममा सांसदहरु रामकुमार राई, सरस्वती बजिमय, कोशी प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत उपस्थित हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।