काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू ...

दाङ:    वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ ।  उहाँको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।      भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ  ।  कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्नुहुन्छ ।  कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लाग्नुभएका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गर्नुभएको हो ।       घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उहाँहरुले फूलखेती गरिरहनुभएको छ । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताउनुभयो ।  तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उहाँहरुको छ ।       उहाँहरुले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गर्नुभएको थियो । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोप्नुभएको छ । दाङमा रु ८०  हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताउनुभयो ।       “यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उहाँले भन्नुभयो, “यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।”       स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउनुहुन्छ । उहाँले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राख्नुभएको छ ।  फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।       राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उहाँले बताउनुभयो । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ । 

चितवन:   इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।  आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।      आज बिहान ४:४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ वजे मृत घोषणा गरिको हो ।           क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

काठमाडौं:    मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ ।  वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।      आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो ।  सो कम्पनीमार्फत अष्टे«लियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गर्नुभएको छ । नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् ।      निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ । हाल नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार र बँदेलको रु १० हजार न्यूनतम राजस्व तोकिएको छ ।      न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन् । यस याममा नाउरको सबैभन्दा बढी रु १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको रु सात लाख २५ हजार कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिनुभयो । एक करोड ४५ लाख बढी राजस्व आम्दानी      “नाउरको सिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ, तर विदेशी सिकारीहरु बँदेलको सिकार गर्न भने खासै इच्छुक देखिदैनन्”, अधिकृत शेर्पाले भन्नुभयो, “बँदेलको सिकारका लागि न्यूनतम् राजस्व रु १० हजार भने तिर्नैपर्छ । सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल रु एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ ।”      सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ ।  विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।      विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले सिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताउनुभयो ।  साथै उहाँले हतियारको अनुमति तथा सिकारका लागि कानुनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिनुभयो । सिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी सिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै छ महिनासम्म समय लाग्ने गरेको छ ।      स्थलगत रुपमा आफूले भोगेका विषयबारे जानकारी दिँदै सञ्चालक थापाले भन्नुभयो, “आरक्षमा सिकार कोटा सीमित भएकाले नयाँ गन्तव्य वृद्धि, चोरी–सिकारी नियन्त्रण, स्थानीयमा जनचेतना जगाई अपनत्व बढाउने, गणनामा स्थानीयको सहभागिता वृद्धि, अनुगमनका लागि सरकारी जनशक्तिलाई प्रभावकारी रुपमा खटाउनुपर्छ ।”      यो आरक्ष पेसेवर विदेशी सिकारीका लागि विश्वमै प्रख्यात छ । यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल र बँदेलको सिकार गर्न पाइन्छ । सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । विदेशी सिकारीले अनुमति प्राप्त बन्दुक र गोली आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन् । सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च      हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुन्छ । कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ ।  सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हङ्गेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् ।      सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै रहँदा खाने र अन्य फोहर गाड्ने गरिन्छ ।      आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आरक्षमा घोरल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन ।  उहाँले भन्नुभयो, “आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।”      आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असरलगायत चुनौती देखिएका अधिकृत कँडेलले बताउनुभयो ।  “यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था रहँदैन । साथै जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पु¥यायाउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न हुँदैन”, उहाँले भन्नुभयो । बुढो भाले प्रजातिको मात्र सिकार गर्ने प्रावधान      यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार दुई सय ९० र झारलको सङ्ख्या सात सय ४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले सिकारका लागि निश्चित सङ्ख्या निर्धारण गरिन्छ । बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ ।  करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ । गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरेर प्रतिस्पर्धाका आधारमा सिकार गराउने गरिन्छ ।      विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुमपूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ । यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् ।  यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चराहरू पाइन्छन् । वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो ।      अघिल्लो आर्थिक वर्षमा १९ वटा नाउर र ११ वटा झारलको सिकार अनुमति दिइएको थियो । यसबाट कूल चार करोड २६ लाख ८८ हजार सात  सय राजस्व आम्दानी भएको विभागको तथ्याङ्क छ ।

काठमाडौं:     उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।      न्यायाधीश डालकुमार खड्काको एकल इजलासले आज धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।       काठमाडौँ महानगरपालिकाको धर्मशाला हटाउने निर्णय असंवैधानिक भएको उल्लेख गर्दै मारवाडी सेवा समितिकातर्फबाट पशुपतिक्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट निवेदन दायर भएको थियो ।  दुवै पक्षबीच छलफल गरेर उक्त विवादमा निर्णय गर्ने अदालतको आदेशमा उल्लेख छ ।

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।            सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो ।            सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।            पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले सडक मार्ग हुँदै आजै कास्कीको पोखरा ल्याइँदै छ ।  पक्राउ पुर्जी लिएर पार्टी केन्द्रीय कार्यालय पुगेको प्रहरी टोलीसँग सभापति लामिछानेको कुराकानी भइरहेको र पक्राउका क्रममा प्रहरीलाई कुनै किसिमको अवरोध वा प्रतिकार नगरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले स्पष्ट गर्नुभयो ।            सभापति लामिछानेले केहीबेरमै पार्टी सदस्य र सञ्चारकर्मीलाई आफ्ना कुरा राखेपछि सडकमार्ग हुँदै पोखरा जानुहुने उहाँले जानकारी दिनुभयो ।  सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धान गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको छ ।           सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पोखरा:    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की ल्याइने भएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी भएको अवस्थामा प्रहरीले थप कानुनी प्रकृया अगाडि बढाएको जानकारी दिनुभयो ।  “कास्की अदालतको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले कामकारबाही अगाडि बढाउँछ”, उहाँले भन्नुभयो ।  लामिछानेलाई प्रहरीले कतिबेला पक्राउ गर्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही खुलाउन चाहानु भएन । कास्की जिल्ला अदालतले आजै लामिछानेमाथि सहकारीको रकम अपचलमा संलग्न भएको आरोपमा  अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।  सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ 

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? भन्दै प्रश्न गरेका छन् ।  कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको समेत बताएका छन् ।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई  बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’   पक्राउ पुर्जी जारी भएपछि रास्वपाका सभापति लामिछानेले लेखेको स्टाटस सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ। ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्। अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।  पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी कानुनी राज्यको सम्मान गर्छौँ । हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।” सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।