काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू ...

पाल्पा:    झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । झाँडीले भरिएको चौरले पर्यटकीय रूप फेर्ला भन्ने कसैले पनि सोचेका थिएनन् ।  रामपुर नगरपालिका–६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क)लाई स्थानीयको सक्रियतामा अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जोकोहीले पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।   यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामकरण गरिएको छ । यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलका रुपमा यो क्षेत्र प्रख्यात बनेको छ ।  रामपुर–६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ ।  पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिँड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्धमूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ ।  पार्कमा आन्तरिक पर्यटक आउनेजाने क्रम बढ्दै जाँदा व्यायाम गर्न व्यायामशाला निर्माण गरिएको हो । व्यायामशाला निर्माणपछि बिहानसाँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिति छ ।   आर्थिक वर्ष २०७७÷७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट््याएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आर्थिक वर्ष २०७८÷७९ मा रु दुई लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका काम थालनी गरिएको हो । बुद्धमूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुईवटा प्रतिक्षालय निर्माण गरिएको छ ।  यस पार्कको सुन्दरतालाई बढाउन गत आवमा रामपुर नगरले कालीआँप–विजयपुर–बुद्धपार्क हुँदै तालपोखरा–तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ ।  गत आव लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु १० लाख बजेटमा घेराबार, प्रवेशद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत वर्ष रु तीन लाख बजेटबाट खुला व्यायमशाला निर्माण गरिएको हो ।   चारैतिर पक्की सडकभित्र पर्ने करिब १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउनुहुन्छ ।  पार्क क्षेत्रमा अमलाका बिरुवा लगाइएको छभने आउँदो वर्ष आँपका बिरुवा लगाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो । यसलाई बालउद्यानका रूपमा विकास गर्ने योजना उहाँको छ । खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउनुहुन्छ, रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।  खुला सफा चौरमा बिहान साँझ आराम गर्न, साथीभाइ भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।   धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिकस्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगरप्रमुख थापाले बताउनुभयो । “रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रूपमा विकास गर्दै गएका छौँ”, उहाँले भन्नुभयो, “भुगोलले मिलेको यो क्षेत्रमा ठाउँअनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट काम भइरहेका छन् ।”

पर्सा:    मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ ।   मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो ।  उद्धारकार्य भने यही असोज २८ गतेदेखि मेचीपुलबाट थालनी गरिएको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिन सोमबारसम्म आइपुग्दा कोशी र मधेस प्रदेशमा गरेर ८४ जना सडकमा आश्रित मानवको उद्धार गरेको जानकारी दिनुभयो ।  “मेचीपुलबाट यात्रा थालेको उद्धार यात्रा आठौँ दिनसम्म कोशी र मधेस प्रदेशमा सकाएका छौँ । कोशी प्रदेशबाट ४४ जना र मधेस प्रदेशबाट ४० जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “मङ्गलबारदेखि भने बागमती प्रदेशमा रहेकाहरूको उद्धारकार्य अघि बढाइनेछ ।”  अध्यक्ष अधिकारीले कोशी र मधेस प्रदेशका उद्धार गरिएका सडकमा आश्रित मानवहरूलाई सरसफाइ र औषधोपचारपछि सोही प्रदेशमा रहेका मानव सेवा आश्रमका सेवा केन्द्रमा राखिएको जानकारी दिनुभयो ।  “अभियानको आठौँ दिन सोमबार वीरगञ्ज र सर्लाहीको हरिवनबाट तीन–तीनजना सडकमा आश्रितहरूको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “रौतहटको चपुरबाट भने चार जनाको उद्धार गरिएको छ ।”   मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका सहसंयोजक प्रकाश थारूले उद्धार यात्राअन्तर्गत सोमबार वीरगञ्जबाट सडकमा आश्रित तीन जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।  “वीरगञ्जको सडकमा बेवारिसे अवस्थामा आश्रित रहनुभएका तीन जनाको उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडकमै बसोबास गर्नुभएकाले अहिले राम्रो आश्रमस्थल पाउनुभएको छ, यो निकै सुखद् कुरा हो ।”  मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतमले मानवसेवा आश्रम वीरगञ्जमा अहिले ५४ जनाले आश्रयस्थल पाउँदै आएको जानकारी दिनुभयो ।  “आश्रममा बसोबास गर्नेलाई ठाउँ अभावले गर्दा नयाँ भवन निर्माणको काम अघि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “भवन निर्माण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग प्राप्त भए पनि आश्रम व्यवस्थापन र सञ्चालनमा रकमको अभाव भएको छ ।” मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गरेको छ । अहिले मानव सेवा आश्रममा एक हजार सात सय ९७ जनाले आश्रय लिँदै आइरहेका छन् ।  आश्रमले विगत १२ वर्षको अवधिमा १० हजार चार सय ९७ जनाको सडकबाट उद्धार गरेको जनाएको छ । जसमध्ये चार हजार एक सय ४६ जनाको पारिवारिक पुनःमिलन गराएको छ ।  त्यस्तै एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पनि पारिवारिक पुनःमिलन गराएर घर पठाएको छ । त्यस्तै पाँच जना बङ्गलादेशी नागरिकलाई पनि पारिवारिक मिलन गराइसकेको छ । आश्रममा रहेका एक हजार तीन सय ३७ जनाको भने मृत्यु भइसकेको छ । आश्रमका अध्यक्ष अधिकारीले सडकबाट उद्धार गरिएकामा ६० प्रतिशत मानसिक समस्या देखिएकाले पनि औषधोउपचार र अन्य व्यवस्थापन गर्न आर्थिक चुनौती कायमै रहेको गुनासो गर्नुभयो ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित अभियान अघि सारेको हो ।  ३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष अधिकारीसहित ४७ जना यात्रीहरूको  सहभागिता छ । यो अभियान यही कात्तिक २८ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा समापन गरिने जनाइएको छ ।

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।  केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पोखरा:    गण्डकी प्रदेशका नविनयुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज उनलाई शपथ गराए । यो सँगै गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गरेका हुन् । लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई ल्याइएको हो । पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी पार्टीभित्र शेखर समूहमा छन् । पार्टीभित्रबाट भागबन्डा लगाउँदा १ कम्तीमा १ जना मन्त्री शेखर समूहले पाउनुपर्ने दाबी थियो । मुख्यमन्त्री पाण्डेले लामो आलटालपछि पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् । भौतिक मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए । भागबन्डा मिलाउन ७ मन्त्रालयबाट ९ बनाएपछि कांग्रेसको भागमा परेको ५ मन्त्रालयभित्रबाट भदौ १७ गते मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्रीमा निरन्तरता दिएका थिए ।

काठमाडौं:    ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ ।  कर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले आज हस्ताक्षर गर्नुभएको छ ।       समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ ।       त्यसअवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत् खरिदका साथै चनौटास्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत् जोड्नका निमित्त नेपाल विद्युत् प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी दिनुभयो ।       यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न पाँच सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनामा समेत लगानी छ ।       नेपालमा सञ्चालित सौर्य परियोजनामध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत् क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हो ।  बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युत्मा सुलभ ब्याजदरमा कर्जा लगानी गर्दै आएको छ ।

काठमाडौं:    निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।      उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो ।  यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ ।      मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ । सम्पत्ति र दायित्व मूल्याङ्कन भएपछि विज्ञसहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गरिनेछ ।      समितिको बैठकमा दिइएको  जानकारी अनुसार जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योग, विराटनगर जुट मिल, बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग विगत लामो समयेदेखि बन्द र रुग्ण छन् । यसैगरी उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको कार्य सम्पादन स्तर कमजोर हुनुका साथै निरन्तर घाटामा रहेका छन् ।      बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, सङ्घीय संसद् अर्थ समितिका सभापति सन्तोष चालिसे, प्रतिनिधिसभा सदस्य तथा निजीकरण समितिका सदस्य राजन केसी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, मन्त्रालयका सचिवलगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:     खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।      मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाडौँ उपत्यकामा प्रतिदिन १७ करोड लिटर पानी पथान्तरण गर्न सफल भएको बताउनुभयो ।  यस वर्षको ‘मनसुन’ सुरु भएपछि बन्द भएको मेलम्ची खानेपानी आयोजना सञ्चालनका क्रममा आवश्यक मर्मतसम्भारसहित विरोधमा उत्रेका स्थानीय जनतासँग निरन्तर छलफल र समन्वय गरी मेलम्चीको पानी काठमाडौँ ल्याएको उहाँले स्पष्ट गर्नुभएको छ ।      मेलम्चीवासीसहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रुपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले बताउनुभयो ।      गत असोज २२ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण तथा वितरण कार्य सुरु भइसकेकाले अब काठमाडौँवासीले खानेपानीको समस्या झेल्नुनपर्ने मन्त्रालयले बताएको छ ।           यसैगरी, काठमाडौँको कोर क्षेत्रअन्तर्गत न्युरोड–ठमेल क्षेत्रमा बिच्छ्याइएको थप ३० किमी पाइपलाइनमा परीक्षणका रुपमा पठाएको पानी वितरण प्रणालीमा समस्या नदेखिएपछि नयाँ पाइप सञ्जालबाट आपूर्ति व्यवस्था मिलाएको तथा ठमेलसहित आसपासका क्षेत्रमा ३४ दशमलव ८९ किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको मन्त्रालयले जनाएको छ ।      मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा अहिलेसम्म एक हजार सात सय किमी पाइप विस्तार गरेको, सो आयोजनामार्फत दैनिक १७ हजार लिटर पानी आपूर्ति हुने गरेको तथा हाल उपत्यकामा ४७ हजार लिटर पानीको माग देखिएको स्पष्ट गरेको छ ।               खानेपानी मन्त्रालयले गत असोज १० गतेदेखिको बाढीपहिरोका कारण काठमाडौँ उपत्यकामा बिग्रेभत्केका ढलहरुको मर्मतसम्भारसहित व्यवस्थापन गरेको उल्लेख गरेको छ ।          यसैगरी, कीर्तिपुरमा ६० लाख र महाँकालचौरमा ८० लाख लिटर क्षमताको पानीपोखरी निर्माण कार्य गत असोजमा पूरा गरी त्यस क्षेत्रका जनतालाई पानी सुनिश्चित गर्ने काम भएको मन्त्रालयले जनाएको छ । योसँगै कीर्तिपुरमा ६ हजार र महाँकालचौरमा आठ हजार घनमिटर क्षमताको पानीपोखरी तयार भएको छ ।      बाढीपहिरोका कारण पानी आपूर्ति व्यवस्था बन्द भएको ललितपुर जिल्लामा खानेपानीको प्रबन्ध गर्ने क्रममा सम्बद्ध क्षेत्रका सङ्घीय तथा प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिहरू समेतको सहयोगमा ललितपुरवासीलाई खानेपानीको व्यवस्था गरेको मन्त्रालयले स्पष्ट गरेको छ ।        त्यस्तै, तीन करोड ७० लाख लिटर क्षमताको धोबीघाट फोहोरपानी प्रशोधन केन्द्रलाई हालैको बाढीले नोक्सान पु¥याएपछि  प्रशोधन कार्य रोकिएको सन्दर्भमा बीमा कम्पनीबाट क्षतिग्रस्त उपकरणको मूल्याङ्कन गरी क्षतिपूर्तिको व्यवस्थासहित मर्मतसम्भार तथा सञ्चालनको कामलाई दु्रतगतिमा अघि बढाउन दिएको निर्देशनअनुसार काम भइरहेको छ ।        यसैगरी, बाढीका कारण काठमाडौँ उपत्यकामा बिग्रएका काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड ९केयुकेएल० का पानी प्रशोधन केन्द्रका उपकरणहरु तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिनु भई अहिले काम सुरु भइरहेको मन्त्रालयले जनाएको छ ।      ललितपुर जिल्लाको नल्लु, वासुकी, र देवकीस्थित खानेपानी मुहान क्षेत्रमा पुगेर पछिल्लो समय आएको बाढीले खानेपानीको संरचनामा पु¥याएको क्षतिको विवरण लिई अवरुद्ध भएको खानेपानी आपूर्ति यथासक्य छिटो सञ्चालन गर्न निर्देशन दिएबमोजिम सम्बद्ध निकायमार्फत द्रुतगतिमा काम भइरहेको पनि मन्त्रालयले जनाएको छ ।      काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकास्थित मन्त्रालयसम्बद्ध एकीकृत खानेपानी आयोजना, नेपाल खानेपानी संस्थान तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको परियोजनामा पु¥याएको क्षतिको जानकारी लिई मर्मतसम्भारका लागि निर्देशन दिनुभएअनुसार तदारुकताका साथ काम भइरहेको मन्त्रालयले स्पष्ट गरेको छ ।        मन्त्रालयको पहलमा गत महिना भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्ने क्रममा  चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भई संयुक्त रूपमा सर्वेक्षेणको कामसमेत सुरु भएकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको व्यवस्था हुने भएको छ ।      सय दिनको यस अवधिमा जापानी सहयोग नियोग ९जाइका० को अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण कार्य सम्पन्न भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

काठमाडौं:    सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ ।  विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि थप १५ बस सञ्चालनमा ल्याएको हो ।      प्रालिका अध्यक्ष सानुकाजी प्रजापति र प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा बस सेवाको उद्घाटन गर्नुभयो ।  प्रालिका अध्यक्ष प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उहाँको भनाइ थियो ।  अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।       सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिनुभयो । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ ।      प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभयो ।      “राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ । तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुुपर्छ”, इन्द्रजात्राजस्ता पर्वहरुमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।  नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरु रहेको तथा यसको संरक्षणमा भइरहेका प्रयासको उहाँले प्रशंसा गर्नुभयो ।      सो अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवत्लाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गर्नुभयो ।  उहाँले राष्ट्र बैङ्कबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरुमा नेपाल संवत्को नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गर्नुभयो ।       राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुुगमनको व्यवस्था गर्न सुुझाव दिनुुभयो । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।      यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ ।  समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा  प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरु कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरु हीतकरवीर सिंह कंसाकार, मल्ल के सुन्दर, प्रा नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।