पोखरा: आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुभएका आरोही तेजन गुरुङलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले पोखरामा सम्मान गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङलगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसको प्रवद्र्धन र विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो । कार्यक्रम संयोजक एवं जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले तेजनले गर्नुुभएको १४ वटा हिमालको आरोहण गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रको गौैरव भएको बताउनुभयो । गण्डकी पदयात्रा र पर्वतीय पर्यटनमा धेरै सम्भावनायुक्त प्रदेश भएको बताउँदै उहाँले अन्नपूर्ण चक्रीय पदमार्ग २१ दिनबाट छोटिएर पाँच÷छ दिनमा सीमित भएको वास्तविकतामा जिटिन गण्डकी प्रदेशले हालै कास्कीको ताङतिङदेखि मनाङको तिमाङसम्मको गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन गरेको जानकारी गराउनुभयो । चार दिनदेखि १४ दिन समयावधिको गुरुङ सम्पदा पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गसँग जोड्न सकिने उहाँले बताउनुभयो । जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिटिन गण्डकीका महासचिव तुल गुरुङ, सम्मानित व्यक्तित्व तेजन गुुरुङ, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुुर गुरुङ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्यलगायतले नेपालको पर्वतीय पर्यटनका सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमअघि आरोही गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोक, हल्लनचोक हुँदै कार्यक्रमस्थलसम्म बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो । गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लु, धौलागिरि, चोयु, शिसापन्ज्म हिमालहरू आरोहण गर्नुभएको थियो । कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो ।
काठमाडौं: पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सप्तरी: कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुर्ई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ ।
तनहुँ: निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरुा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।
गलकोट: बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो । आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताउनुभयो । विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ । उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनुभयो । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् । “घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन”, लक्ष्मीले भन्नुभयो, “अहिले वैकल्पिक रुपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।” उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो । स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताउनुभयो । उहाँले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो ।
पोखरा: सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन समयमा वर्गीकरण गरी कार्यक्रम अघि सारेको भन्दै उनले ६ महिनाभित्र, २ वर्षभित्र र ५ वर्षभित्र सम्पन्न हुने गरी योजना बनाइएको उल्लेख गरे । पत्रकार सम्मेलन गरेर नै कार्यक्रमबारे जानकारी दिइसकेको उल्लेख गर्दै अब कुरा नभई काम गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे । प्रदेश सरकार मातहतको लमजुङ जिल्ला अस्पतालको दोस्रो वार्षिकोत्सव समारोहका प्रमुख अतिथि मन्त्री पाठकले लमजुङ जिल्ला अस्पताल प्रदेशको महत्वपूर्ण अस्पताल बताए । उनले यो पायक पर्ने अस्पताल भएकाले सेवाग्राहीको संख्या उल्लेख्य रहेको जनाए । लमजुङ अस्पतालको स्तरोन्नतिका काम अब अघि बढिहाल्ने पनि उनले जानकारी दिए । ‘आधुनिक भवन निर्माण हुँदैछ । अब टेण्डर प्रक्रियामा जान्छ । विशेषज्ञसहितका सिटी स्क्यान लगायत अत्यावश्यक उपकरण सेवा अस्पतालमा जोडिनेछन् ।’ – पाठकले भने । स्वास्थ्य सेवाका लागि भवन, उपकरण र जनशक्ति आवश्यक पर्नेमा प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा सबैको तारतम्य मिल्न नसक्दा कहिँ केही नमिलेको जस्तो अवस्था आएको भन्दै मन्त्री पाठकले यस समस्यालाई समाधान गर्ने गरी प्रदेश सरकार अघि बढेको बताए । ‘९८ प्रकारका औषधि निःशुल्क भनिएपनि औषधि पाइएको छैन, स्वास्थ्य बीमामा समस्या छ । साना साना कुराले नागरिकले सास्ती पाएका छन् । संघ सरकारसँग समन्वय गरेर यसलाई समाधान गर्न लागिपरेको छु ।’ उनले भने । स्वास्थ्यकर्मीको समस्याबारे आफू जानकार रहेको भन्दै उनले स्तरवृद्धि तथा आवश्यक तालिमहरू गर्न आफूले ल्याउने बजेटमा व्यवस्था गर्ने पनि बताए । ७१ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेको उल्लेख गर्दै मन्त्री पाठकले समुदायतहसम्म पुगेर रोगहरुको स्क्रिनिङ गरी औषधोपचार गर्नुपर्छ भनेर स्थानीय तह, वडा तहसम्म मिलेर काम गर्न तत्पर भएको सुनाए । डेंगुको प्रकोप बढिरहेको हुँदा जनचेतना बढाउनुपर्नेमा उनको जोड छ । अहिलेसम्म गण्डकीमा १४ हजार ८ सय ५८ संक्रमित भएकोमा ७ जनाको मृत्यु भइसकेको तथ्यांक प्रस्तुत पनि गरे । कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले गरेका थिए । लमजुङ अस्पताल २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालको रूपमा स्थापना भएकोमा सरकारले सञ्चालन गर्न नसकेपछि २०५८ मा समुदायलाई हस्तान्तरण गरिएको थियो । मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले सरकारसंग सम्झौता गरी २०५८ साउन ५ देखि सञ्चालन गर्दै आएको थियो । सरकारले सञ्चालन गर्न नसकेपछि गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको जिल्ला अस्पताल लमजुङ २१ वर्षपछि दुई वर्ष अघि सरकारलाई नै हस्तान्तरण गरिएको हो ।