काठमाडौं: विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्वविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ । नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रुपमा मुख्य चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृिद्धलगायतका विषयमा प्रयोगात्मक तरिकाबाट बुझाउन मद्दत गराउँछ । साथै, विद्यार्थीमा परिवतर्नका असर सामना गर्न र वातावरणीय साक्षरतालाई अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ । गण्डकी, बागमती र लुम्बिनीमा प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा पश्चिमाञ्चल माध्यमिक विद्यालय, अमरसिंह मावि, गण्डकी बोर्डिङ स्कुल, बागमतीमा एसओएस हेर्मन माइनर माध्यामिक विद्यालय सानोठिमी, युनाइटेड एकेडमी र लुम्बिनीमा शङ्करनगर दुर्गादत्त माध्यामिक विद्यालय र जनता माध्यामिक विद्यालयमा यो कार्यक्रम लागू भएको छ । सम्झौता हस्ताक्षरपछि पश्चिमाञ्चल विद्यालयका प्राचार्य सरोज कोइरालाले नेपालमै पहिलो पटक जापान सरकारको प्रत्यक्ष सहभागितामा भएको कार्यक्रममा आफ्नो विद्यालयले सहभागी हुन पाउँदा खुसी लागेको र यसले विद्यार्थीको वातावररणप्रतिको सचेतना अझ बढ्ने मद्दत पुग्ने बताउनुभयो । प्रयोगात्मक विधिबाट गरिने अध्ययनबाट विद्यार्थीले रुख, बिरुवा भएको ठाउँ, घना बस्तीबीचको कार्बनडाइअक्साइडको मात्रामा रहेको फरकबारे जानकारी पाउने उहाँको भनाइ छ । यसैबीच संयुक्त राष्ट्र सङ्घले विश्वका देशलाई विद्यालयमा जलवायु परिवर्तनसम्बन्धी विषयलाई अनिवार्य बनाउन आह्वान गरेअनुसार नेपालमा पनि नमूनाको रुपमा केही विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नागोया साङग्यो विद्यालयमा विद्यावारीधि गरिरहनुभएका सन्जोक पौडेलले बताउनुभयो । अनुसन्धानको क्रममा आफूले जापानका तीनवटा प्रान्तमा वायुमण्डलमा भएको काबर्नडाईअक्साइडको मात्राको अध्ययन गरी मौसम अनुसारको हुने परिवर्तन, हावाको गतिको असर तथा जैविक वातावरणमा काबर्नडाईअक्साइडको एकाग्रताको मापन गरी मौसम विज्ञान घटनाको प्रभावमा गरिरहेको अनुसन्धान नेपालका लागि उपयोगी हुने बताउनुभयो । उहाँकै पहलमा देशका विभिन्न विद्यालयमा वातावरणीय शिक्षाअन्तर्गत शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शङ्करनगर दुगार्दत्त माद्यामिक विद्यालयमा सञ्चालन गरिएको छ । शून्य कार्बन स्कुलको अवधारणाको शुभारम्भ गर्दै जापानका प्राडा इतोउ मासाकाजुले कार्बन तटस्थताको सम्भावना र कठिनाइहरूको जानकारी बालबालिकाको लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक चण्ड पाण्डेले जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको अवस्थामा विद्यार्थीलाई विद्यालय तहदेखि नै जिरो कार्बन अवधारणाका बारेमा जानकारी गराउनु निकै उपयोगी रहेको बताउनुभयो ।
चितवन: कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दीमध्ये १६ जनाको स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठजनालाई रसुवा, पाँचजनालाई काठमाडौँ, दुईजनालाई डिल्लीबजार र एकजनालाई तनहुँ स्थानान्तरण गरिएको हो । उनीहरुमध्ये ६ जनालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ स्थानान्तरण गरिएको होभने अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालहरुमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले यस कारागारमा अन्य जिल्लाहरुबाट समेत कैदीबन्दी आउने हुँदा चाप बढेको हो । दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन् । यस कारागारमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी ल्याइने हुँदा यहाँ क्षमताभन्दा बढी कैदीबन्दी हुने गरेका छन् ।
कैलाली: गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प¥यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो । कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ । कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन् । यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन् । यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताउनुभयो । जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ । समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ । कठायतले भन्नुभयो, “यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन् । यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो । उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन । तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताउनुभयो । विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन । सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उहाले भन्नुभयो, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो । त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन् । अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताउनुभयो । सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उहाँले बताउनुभयो । उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ । भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ । स्वीकृत भएपछि अगाडि बढ्ने छौँ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उहाँले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिनुभयो ।
बाजुरा: बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।
गोरखा: युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ । गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन । ५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् । ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुगेका हुन् । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन । उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उनले भने, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’ आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ । यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ । आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाए । कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उनले बताए । ‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भने, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’ मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताए । ‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने । माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताए । आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उनले आग्रह गरे ।
दाङ: कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।
काठमाडौं: सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपचारको व्यवस्था गरिने जनाएको हो । स्वास्थ्य मन्त्रालयको आकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् । हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ । वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ ।
गलकोट: बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो । संरक्षण अभियानले तीव्रता पाएपछि शालग्रामको सङ्ख्या बढाएर सवा लाख पुर्याइयो । अहिले उक्त सङ्ग्रहालयमा शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्याउने लक्ष्यसहित शालग्राम खोजीलाई पनि तीव्रता दिइएको छ । भूमिगत सङ्ग्रहालयमा सजायर राखिएका शाखग्राम शिला दर्शन गर्न आउने नेपाली तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि शालग्रामको सङ्ख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालग्राम सङ्ग्रहालयले लिएको छ । श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, सङ्ग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या थपेर पाँच लाख पु¥याउने उद्देश्यअनुसार शालग्राम जुटाउन थालिएको बताउनुभयो । “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिला हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण र पुज्य छ । कालीगण्डकीको दोहन र शालग्रामको चोरी बढेकाले पछिल्लो पुस्तालाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिँदैन”, अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो, “शालग्रामको संरक्षणसँगै धार्मिक पर्यटक भित्र्याउने हाम्रो लक्ष्य थियो, २४ हजार शालग्राम सङ्कलन गरी थालिएको अभियानलाई सवा लाखमा पुर्याएको थियो ।” अहिले सङ्ग्रहालयको पूर्वतर्फ शालग्राम राख्न पूर्वाधार तयार गरी दोस्रो चरणअन्तर्गत करिब तीन लाख शालग्राम पुर्याउने उद्देश्यले सङ्कलनमा जुटेको प्रपन्नचार्यले जानकारी दिनुभयो । “केही वर्षभित्र शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्याउने योजना छ, एकै पटक पाँच लाख शालग्राम सङ्ग्रह गरिएको स्थान विश्वमा चर्चित बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । प्रपन्नचार्यका अनुसार शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको सङ्ग्रह गरी बनाइएको सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्न थालेपछि शालग्राम संरक्षण अभियानले तीव्रता पाएको उहाँले उल्लेख गर्नुभयो । धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालग्रामको संरक्षण गर्न अभियान थालिएको भन्दै वर्षौँदेखिको योजनाले क्रमशः सफलता पाउँदै गएको उहाँले बताउनुभयो । विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ–४ कुडुलेस्थित शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । दसैँ र तिहार जस्ता चाडपर्वको समयमा धेरै धार्मिक पर्यटक आउने गरेका बताउँदै अध्यक्ष प्रपन्नचार्यले चार वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत सङ्ग्रहालयले शालग्रामको संरक्षण गर्न थालेपछि भारतीय पर्यटकसमेत आकर्षित हुन थालेका जानकारी दिनुभयो । मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षण गर्न बागलुङ–४ कुडुलेस्थित तिरुपति बालाजीधाममा श्रीधराचार्य शालग्राम सङ्ग्रहालय निर्माण भएपछि शालग्राम दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो । शालग्राम संरक्षणसँगै यसको सङ्ख्या बढाउन सङ्कलन अभियान थालिएको अध्यक्ष प्रपन्नचार्यले उल्लेख गर्नुभयो । हिन्दूधर्मावलम्बीका लागि कालो रङ्गको बाटुलो शिला ९ढुङ्गा० शालग्राम अति पूजनीय मानिन्छ । वैष्णवहरु र सनातनीहरुले पनि शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिने गरेकाले यसको महत्व धेरै रहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो । सङ्ग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धार्मिक पर्यटक उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक शालग्राम दर्शनका लागि आउने गरेका अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो । शालग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालग्राम महोत्सव, शालग्रामसम्बन्धी प्रवचन गरिरहेको बताउँदै शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद शर्माले उल्लेख गर्नुभयो । शालग्राम थप गरेर पाँच लाख पुर्याउने अभियानले स्थानीयमा उत्साह छाएको उहाँको भनाइ छ । भगवान् शिवको प्रिय अस्त्रका रुपमा मानिने शालग्राम सङ्ग्रहालय त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित गरिएको छ । यहाँ सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न धार्मिक महत्वका मठमन्दिर, वृतचित्र, प्रदर्शनी कक्षलगायत संरचना निर्माण गरिएका छन् । सङ्ग्रहालयमा स–साना तथा तीन सय किलोसम्मका शालग्राम संरक्षण गरी राखिएका छन् ।
मनाङ: मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । राति सकुशल सेतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभो । “लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भन्नुभयो, “सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।” उहाँले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभयो ।