पोखरा: गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित त्रयकालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । छ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन लगायतका योजनालाई समेटिएको छ । दीर्घकालीन योजना अन्तर्गत एयर एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्यमा हुने व्यक्तिगत खर्चको भार क्रमशः घटाउँदै लगिने, प्रदेशका मुटु, क्यान्सर र मृगौला रोगको उपचारको लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए । पाठकले स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणको लागि जग्गा प्राप्ति गर्न संघ र स्थानीय तहसँग समन्वय गर्ने, लमजुङ, स्याङ्जा र दमौली अस्पतालको भवन निर्मार्ण गर्ने, धौलागिरि अस्पताल बागलुङ, दमौली अस्पताल तनहुँ र मध्यविन्दु अस्पताल नवलपरासीमा ट्रमा सेन्टर स्थापना गरी दुर्घटनामा परेका वा ठूलो चोटपटक लागेका बिरामीहरुलाई तत्काल आवश्यक उपचारको व्यवस्था मिलाउने योजनालाई मध्यकालीन योजनामा राखेका छन् । उनले ६ महिना सम्पन्न गर्ने गरी विभिन्न शीर्षकमा ४० वटा योजनालाई समेटेका छन् भने २ वर्षमा पूरा गर्ने गरी ४९ वटा योजनालाई मध्यकालीनमा समेटेका छन् । करिब ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएका दीर्घकालीन योजना १० वटा रहेको पाठकले बताए । पत्रकार सम्मेलनमा पाठकले आफूले बनाएको तीन कालीन योजना अन्य प्रदेशका स्वास्थ्य मन्त्रालयको लागि मार्गदर्शन हुने दाबी समेत गरे । ‘स्वास्थ्य क्षेत्रका समस्या भुईस्तरबाट नै समाधान गर्ने उद्देश्य हो ।’ – उनले भने – ‘उद्देश्य प्राप्तिका लागि तीन कालीन योजना बनाउँदा लक्ष्यमा पुगिन्छ भन्ने विश्वास छ ।’ पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा, महानिर्देशक खिमबहादुर खड्का र डा. रेखा पौडेलले मन्त्रालयको बारेमा बोलेका थिए ।
काठमाडौं: सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गर्नुभएको छ । राज्यव्यवस्था समितिको आजको बैठकमा उहाँहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उहाँहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पु¥याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रवि लामिछानेले विपद्का समयमा अनवरत खट्नुपर्ने जिम्मेवार पदाधिकारी नै मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्ने बताउनुभयो । “राष्ट्रिय आपत्कालका बेला जिम्मेवार पदाधिकारी नै गैरजिम्मेवार बने, जुन ढङ्गको तयारी हुनुपर्नेथ्यो, त्यसखालको तदारुकता देखिएन, झारा टार्ने काम भयो”, उहाँले भन्नुभयो, “स्रोत साधन र क्षमता सीमित छ, तर असिमित इच्छाशक्ति भएको भए धेरै क्षति न्यूनीकरण गर्न सकिन्थ्यो ।” सांसद गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै सरकार, राजनीतिक दल र नागरिक एकताबद्ध हुनुपर्ने र जिम्मेवारी तहमा बसेका पदाधिकारीले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो । “बैठक धेरै भए, कतिपय निर्णय ‘डुब्लिकेसन’ भएका छन्, अब धेरै बैठक बस्नु पर्दैन, भएका निर्णय कार्यान्वयन गर्ने हो”, उहाँले भन्नुभयो । सांसद चित्रबहादुर केसीले विपद्का समयमा वादविवाद नगरी राष्ट्र र जनताको पीडामा सिङ्गो मुलुक एकजुट हुनुपर्ने बताउनुभयो । “सडकमार्ग अवरुद्ध छ, त्यही मौकामा प्लेनका व्यापारीले अस्वभाविक भाडा बढाएका छन्, सरकार भएको ठाउँमा यस्तो हुन्छ रु”, उहाँले प्रश्न गर्नुभयो, “व्यापारीको तजबिजीमा मात्रै मुलुक चल्ने हो र ?” सांसद रघुजी पन्तले विपद् प्रतिकार्यलाई चुस्त बनाउन सरकारले आफ्नो क्षमता बढाउनुपर्ने धारणा राख्दै बाढीपहिरोले भत्काएका संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सहायता लिन ढिलाई गर्न हुने बताउनुभयो । “सडक बन्द भएको अवस्था छ, यही बेला हवाई भाडा वृद्धि भएको छ, आधारभूत संरचना ध्वस्त हुँदा त्यसको मर्मत गर्न अन्तर्राष्ट्रिय सहायता लिनु उचित हुन्छ”, उहाँले भन्नुभयो । सांसद राजेन्द्र पाण्डेले सम्भावित जोखिमलाई मध्यजनर गर्दै सरकारले ‘ट्राभल एडभइजारी’ जारी गरेको भए पनि राजमार्गमा किन निर्वाध यातायातका साधन चल्न दिएको भनी प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय विपद्का बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निकम्मा बनेको आरोप लगाउनुभयो । सांसद प्रकाश अधिकारीले एक साता अघिदेखि नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि नदी किनारामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न किन ढिलाई गरेको भन्दै प्रश्न गर्नुभयो । “राजमार्गमा किन निर्वाध रात्रि बस चलाउन दिएको”, उहाँले प्रश्न गर्नुभयो, “विपद्पछि आउनसक्ने जनस्वास्थ्य चुनौती सामना गर्न सरकारको के तयारी छ रु” सांसद दीलेन्द्रप्रसाद बडुले ठूलो मनसुनी वर्षा हुने पूर्वानुमान र पूर्वचेतावनीकाबीच राजमार्गमा यातायात चल्न दिनु कमजोरी भएको बताउनुभयो । “फेरि पानी पर्ने पूर्वानुमान गरिएको छ, अब नागरिकको सुरक्षाका लागि भए पनि राजमार्गमा यातायात बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाइनुपर्छ ।” सांसद सरिता प्रसाईंले पछिल्लो विपद्को सन्दर्भमा पूर्वानुमानका बारेमा पर्याप्त सूचना प्रवाह भए पनि पूर्वचेतावनी कार्यान्वयनमा सरकार चुकेको बताउनुभयो । “पुनः बद्ली हुने पूर्वानुमान छ, अझै पनि राजमार्गमा सयौँ नागरिक अलपत्र छन्, अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु¥याऔँ”, उहाँले भन्नुभयो । सांसद बुद्धिमान तामाङले बुधबारदेखि पुनः मौसम बद्ली हुने पूर्वानुमानले नागरिकलाई झन् त्रसित बनाएको जनाउँदै पूर्वतयारीमा कुनै कमजोरी नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सर्वेन्द्रनाथ शुक्लाले विषमी मौसमी अवस्था आउँछ भनेर पूर्वानुमान गरिएको, सावधानीका लागि पूर्वाचेतावनी पनि जारी गरिएको अवस्थामा सरकारले पूर्वतयारीमा ठूलो कमजोरी गरेको आरोप लगाउनुभयो । बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीपहिरोले सडक अवरुद्ध हुँदा सयौँ यातायात मजदूर राजमार्गमा अलपत्र परेको जनाउँदै उनीहरूलाई न्यूनतम आधारभूत सेवा दिनेतर्फ स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । “बिपी राजमार्गमा अझै पनि पाँच सय बस अलपत्र छन्, चित्लाङमा ५० वटा गाडी अड्किएका छन्”, उहाँले भन्नुभयो “यात्रीको उद्धार भयो तर यातायात मजदुर अलपत्र छन् ।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पार्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा उहाँले विपद्मा परेका नागरिकको खोज एवं उद्धार कार्य दुई दिनभित्र गरिसकिने बताउनुभयो । घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि आउन सक्ने जनस्वास्थ्यका समस्या रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्लगायत आधारभूत सेवा सञ्चालनका लागि सरकार सक्रिय रहेको बताउनुभयो । सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो । विपाद्बाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताउनुभयो । बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताउनुभएको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा रु एक अर्ब दाखिला गर्ने निर्णय गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्य मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गर्नुभयो । “यो पीडा सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइनेछ ।” प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ । होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सोझै सेवा लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत्भार (लोड) स्वीकृत पाएको छ । त्यसमध्ये हाल दैनिक रुपमा १० मेगावाटलोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।
काठमाडौं: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । “भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मुल्यको चरम वृद्धि हुँदा आम जनता प्रत्यक्ष मारमा परेका छन्, जसको गुनासो सामाजिक सञ्जालमा र सञ्चार माध्यमबाट समेत प्रकट भइरहेको छ”, ज्ञापनपत्रमा भनिएको छ । अबिलम्ब हवाई भाडाको मुल्यलाई वैज्ञानिक रुपमा नियन्त्रण, नियमन र समायोजन गर्न तथा यस विपद्को घडीमा कालोबजारी र मुल्यवृद्धिमा संलग्न हवाई यातायात सञ्चालक तथा संलग्न सबैलाई निष्पक्ष छानविन गरी कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले मन्त्री पाण्डेसमक्ष माग गरेको छ । अनेरास्ववियुले हवाई यातायातमा विद्यार्थी सहुलियतको नीतिगत प्रबन्ध गर्नसमेत माग गरेको छ । ज्ञापनपत्रमा वायुसेवा कम्पनीहरुको प्रभावकारी नियमन र नेपाल एयर लाइन्सको प्रभावकारी सञ्चालन गर्न पनि माग गरिएको छ । अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चाँडपर्व र यस्तो विपद्का बेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको र जुनसुकै हालतमा पनि भाडा बढाउन नदिइने बताउनुभयो । साथै उहाँले अखिलले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु(याउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो । सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ ।
ललितपुर: गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने रु” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्नुहुन्छ, पानी नआएपछि निरास हुनुहुन्छ उहाँ । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो रु तनावै गरायो,” उहाँ भन्नुहुन्छ । गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो । “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको हालत अझै कस्तो होला ?” अर्याल भन्नुहुन्छ । खुमुलटार बस्ने मनमाया गुरुङ उमेरले ७० पुग्नै लाग्नुभयो । छोराबुहारी विदेश छन् । श्रीमान् पनि ७५ वर्ष टेक्नुभयो । बुढ्यौली शरीर । घरमा पानी छैन । बोकेर ल्याउन पनि सक्नुहुन्न । “जारकै पानीले गुजारा चलाएका छौँ, जारको पानी चलाएर कहिलेसम्म पुग्छ र ?”, उहाँ भन्नुहुन्छ । हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउनुहुन्छ महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट । “यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,” उहाँले भन्नुभयो, “विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ ।” रामेछाप घर भई हाल जडीबुटी बस्दै आउनुभएकी प्रभा श्रेष्ठको धारामा पानी त आएको छ । तर धमिलो छ । “पानी धमिलो छ, छुन समेत घिन लाग्छ कसरी खानु ? पिउनका लागि जारकै पानी प्रयोग गरे पनि कपडा धुन, भाँडा सफा गर्न, नुहाउन पानीको समस्या छ”, उहाँ भन्नुहुन्छ । काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ । पिउनसम्म त जारको पानी नै प्रयोग गर्नुहुन्छ तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उहाँ धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्नुहुन्छ । “खानका लागि जारको पानी प्रयोग गरेका छौँ तर लुगा धुन, भाँडा सफा गर्नलगायतका अन्य प्रयोजनका लागि बागमतीको पानी ल्याएर गुजारा गरेका छौँ,” उहाँ भन्नुहुन्छ । उहाँहरु त केही प्रतिनिधि पात्र मात्रै हुनुहन्छ । बाढी, पहिरोजस्ता विपद्ले थपिएको पीडा त छँदैछ । त्यसमाथि खानेपानी नपाउँदा जीवन गुजारा गर्न धौधौ हुने यस्ता थुप्रै पात्र हुनुहुन्छ । पानीको मुहान पुरिएको छ । पाइपलाइन क्षतविक्षत भएको छ । कतै मूल खोज्दै जाने बाटोसमेत छैन । गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपालीको महान् चाड दशैँ नजिकिँदै गर्दा यो प्राकृतिक विपद्को घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुप¥यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ । पीडितले पानीविनाको जीवन कसरी कटाएका होलान् ? पानी नै पाए पनि कतै ढलसहित मिसिएको छ ? कतै धमिलो खोला छिरेको छ ? प्रभावित क्षेत्रका जनतालाई यतिबेला सफा खानेपानीको पहुँच अत्यन्त जरुरी छ । पहिरोका कारण अधिकांश स्थानमा खानेपानीको मुहान नै पुरिएकाले समस्या भएको बताउनुहुन्छ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०का प्रवक्ता प्रकाशकुमार राई । “वर्षाका कारण फर्पिङ हेल्थपोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा ठूलो क्षति पुगेका कारण ललितपुरका अधिकांश स्थानमा पानीको समस्या भएको छ,” उहाँले भन्नुभयो, “धेरै ठाउँमा खानेपानीको स्रोत नै पुरिएको छ, मर्मतका लागि जाने बाटो पनि छैन ।” उहाँका अनुसार खुमालटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण गर्ने योजना छ । राईले गुणस्तरीय पानी उपलब्ध गराउन केयुकेएलले पानी प्रशोधनको प्रक्रिया अपनाएर वितरण गरेको भए पनि बीचमा पाइपलाइन बिग्रिएर फोहोर पानी छिरेको हुनसक्ने हुँदा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गर्नुभयो । अधिकांश स्थानमा बाटो बिग्रिएको, हिलो जमेकाले गर्दा क्षतिको अवस्थाबारे अवलोकन गर्न र सुधारका लागि आवश्यक प्रक्रिया अपनाउन समेत गाह्रो भएको उहाँको भनाइ छ । “अहिले नै कति क्षति भयो भन्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो मर्मत गर्ने छौँ ।” वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अब सरकारले नागरिकको मौलिक हक प्रत्याभूतिका लागि पहल गर्नुपर्ने बताउनुभएको छ । “नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने अधिकार प्रमुख हकका रुपमा राखेको छ,” उहाँले भन्नुभयो, “स्वच्छ खानेपानी पाउनु र स्वास्थ्यसम्बन्धी नागरिकको हक उपलब्ध गराएर उनीहरुलाई बचाउन राज्यलाई स्रोत साधन छैन भन्ने छुट अब हुन्न ।” उहाँले फोहोर पानीका कारण महामारी फैलने सक्ने खतरा भएकाले समयमा नै पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । राहतमा खानेपानी वितरण गर्न माग खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बाढी पहिरोको कारण खानेपानीको चरम समस्या भोग्नेहरुलाई राज्यले खानेपानीको राहत वितरण गर्नुपर्ने बताउनुभएको छ । तत्कालका लागि खानेपानीको व्यवस्थापनमा समस्या रहेका स्थानहरुमा चाँडोभन्दा चाँडो खानेपानी राहत वितरण गर्न नसके सर्वसाधारणमा अर्को समस्या आइपर्ने उहाँको भनाइ छ । “बाढी पहिरोको जस्ता प्राकृतिक विपद् आएमा खानेपानी तथा सरसफाइको वैकल्पिक पूर्वतयारी हुन सकेन, अब विपद्पछि पनि समस्या पहिचान गरेर समयमा नै राहत उपलब्ध गराउन आवश्य छ,” अर्यालले भन्नुभयो, “समस्या भएको क्षेत्रमा चाँडोभन्दा चाँडोे काम गर्नका लागि हामीले पनि सरकारदेखि दातृ निकायसँग पनि कुरा गरिरहेका छौँ ।” बाढीका कारण धेरै उपभोक्ताहरुले प्रदूषित खानेपानी पिउनुपरेको भन्दै उहाँले स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने जनस्वास्थ्यविद् डा समीर अधिकारीले विपद्को बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताउनुभएको छ । “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उहाँले भन्नुभयो, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ । “दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ । मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ । चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने, फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ । लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन्भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ को प्रभावकारी रुपमा कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभएको छ । खानेपानी तथा सरसफाइ विषयगत क्षेत्रको बैठक आयोजना गरी बाढी, पहिरो एवं पानीजन्य विपद् जोखिमको नक्साङ्कन गर्नुपर्ने उहाँको भनाइ छ । कार्ययोजनामा उल्लेख भएअनुसार सरसफाइ र शुद्ध पानी पिउनका लागि जनचेतना अभिवृद्धि गर्ने, बाढी र पहिरोको जोखिमबाट ‘ल्यान्डफिल्ड साइट’ सुरक्षित गर्न आवश्यक तयारी गर्ने बाढी र पहिरोको जोखिमबाट क्षतिग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी वैकल्पिक ‘ल्यान्डफिल्ड साइट’ पहिचान गर्नुपर्ने अर्याल बताउनुहुन्छ । ‘खानेपानीका लागि अत्यावश्यक पाइपलगायत निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बद्ध क्षेत्रसँग समन्वय गरी कार्य गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘शुद्ध खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सामग्रीको प्रचारप्रसारमा वृद्धि गर्ने, बाढी, डुबान र पहिरो जोखिमयुक्त बस्तीहरूमा चुन छर्कने र निःसङ्क्रमित गर्ने व्यवस्था मिलाइनेछ ।’ सरसफाइ, खानेपानी, चर्पी र हात धुने व्यवस्था मिलाउने, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई चुस्त राख्न आवश्यक मर्मतसम्भार गर्ने कार्ययोजनामा उल्लेख छ । बाढी, पहिरो प्रभावित क्षेत्रमा पानी शुद्धीकरण गर्न क्लोरिन वितरण गर्ने, डुबानको बेला पानीलाई कसरी पिउनयोग्य बनाउने भन्ने सीप विकासमा जोड दिने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ । खानेपानी तथा सरसफाइका अवरुद्ध संरचनाहरूलाई अद्यावधिक राख्न आवश्यक सामग्रीहरूको सुनिश्चित गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेश राजधानी तथा जिल्लाहरूमा पर्याप्त मात्रामा खानेपानीका पाइपहरुको मौज्दात राख्नुपर्नेलगायत व्यवस्था गरिएको छ ।