काठमाडौं:  भदौ २३ र २४ गते दुई दिन भएको जेन-जी आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।  आन्दोलनका क्रममा ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ । आन्दोलनका क्...

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४:०० बजे स्वदेश फर्कँदै हुनुहुन्छ ।   महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।   महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो ।   न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।   उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।   उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो ।   प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।

काठमाडौं:    अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।  प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।  सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।  

सप्तरी:    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ ।      कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।  कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उहाँले बताउनुभयो ।      प्रजिअ मग्रातीले भन्नुभयो, “कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।”      कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ । कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ ।  कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ ।      पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  एक पैसा र बिक्रीदर २० रुपैयाँ १० पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ पाँच पैसा तोकेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।       वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ ।       विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।       समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।  यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।      यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो ।  टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो ।       लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभयो ।      वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उहाँले सुनाउनुभयो ।

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ ।   आज तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उहाँले सम्मान गर्नुभएको हो ।   तामाङले शनिवार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी छ वर्षीया मेघनालाई उद्धार गर्नुभएको थियो ।   खोलाले बगाएर झण्डै पाँच सय मिटर तल प¥याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गर्नुभएको थियो ।   उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तमाङलाई बधाई तथा धन्यवाद दिनुभयो ।   सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताउनुभयो ।   “यस घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको छु । तपाईको हाल देशविदेशमा चर्चा भइरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो,“ तपाई आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको छ ।”   काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ ।   त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताउनुभयो । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उहाँले बताउनुभएको थियो ।   तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको सुनाउनुभयो । यसैबीच माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख बराबरको सहयोग गरेको छ ।   समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र नेता टिबी पाठकले रु पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभयो ।

काठमाडौं:     विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् ।  विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो ।      सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिनभयो ।       उहाँले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताउनुभयो । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उहाँको भनाइ छ ।      हवाई भाडा महङ्गो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।        हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले पनि  विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ ।  “कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ”,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो ।       हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुनसक्ने उहाँको भनाइ छ । “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ”, उहाँले भन्नुभयो ।           हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

काठमाडौं:   बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।  बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच÷पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  उहाँकानुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुर्ई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताउनुभयो ।  यसैगरी बाढीपहिराले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । 

धादिङ:    धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ ।       शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनुभयो ।      सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ । प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ ।       लु१ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर म्यान) शनिबार फेला परेको थियो । अझै अन्य सवारी पनि भेटिनसक्ने आशङ्कामा अहिले पनि उद्धार जारी रहेको प्रहरीको भनाइ छ ।       पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो र लेदोले तनावग्रस्त छ ।