काठमाडौं: पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको राससलाई जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो । बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् । उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् ।
मकवानपुर: मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएका सबैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिने र स्थानीय बत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए । आज बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो । कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ । चौतीस जना विद्यार्थी पनि हेलिकप्टरमै काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी एन्फा एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भने प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको छ । एन्फाको विज्ञप्तिअनुसार मकवानपुरका हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका बिकल रेग्मी, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी रहेका छन् । अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन् । जिल्ला संयोजक घलानले सामाजिक सञ्जालमा छोरालाई बचाउन नसकेको बताएका छन् । सिस्नेरीखोलामा आएको बाढीले स्थानीयको ३० वटा घर बगाएको सिस्नेरी प्रहरीले जानकारी दिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिले आफन्तकामा शरण लिएर बसिरहेको सिस्नेरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार मकवानपुरको बागमती गाउँपालिका–३ फापरबारीस्थित रहरसिंह थिङको छोरी २० वर्षीया फूलमाया थिङलाई आफ्नै घर भत्किँदा घरले चेपिएर निधन भएको छ । हेटौँडाबाट बागमती हुँदै सिन्धुली जाने धरानचतरा मार्गको बागमती पुलमा बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ । बागमती पुलको छेउमा करिब सय मिटर सडक खोलाले बगाएको बताइएको छ । हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पहिरोका कारण अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथ, कान्तिराजपथमा पनि पहिरो आएपछि यातायात अवरुद्ध बनेको छ ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि।एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ । “उक्त परीक्षाहरू यही भदौ २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, त्रिविले भनेको छ । साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।
काठमाडौं: सरकारले तीन दिन विद्यालय बन्द गर्न सवै स्थानीय तहलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराउनुभयो । उहाँले बाढी पहिरोमा परेकालाई विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपरेकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो । देशभर अविरल वर्षाका कारणले विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भएकाले विद्यालय बन्द गर्नुपरेको प्रवक्ता भट्टराईले बताउनुभयो । मन्त्रालयले भौतिक क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत अनुरोध गरिएको छ ।
काठमाडौं: अविरल वर्षाका कारण देशभर गएको बाढी र पहिराले जनधनको क्षति गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरूलाई चौबिसै घण्टा आपत्कालीन उपचारका लागि तयार रहन निर्देशन दिनुभएको छ । मन्त्री पौडेलले भनेका छन्, “देशभरका सबै अस्पतालका आपत्कालीन कक्षलाई थप प्रभावकारी बनाउन र आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धिगरी सहयोग गर्नका लागि चौबिसै घण्टा तयार रहन अनुरोध गर्दछु ।” मन्त्री पौडेलले औषधोपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्दै आपत्कालीन औषधोपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभएको छ । उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका उल्लेख गर्दै मन्त्री पौडेलले सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्नसमेत अनुरोध गर्नुभएको छ ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिएको ठाउँ मर्मतपछि सञ्चालनमा आएको छ । आज बिहान ७ बजे सडक भासिएपछि दमौली–चापाघाट अवरुद्ध भएकामा दश घण्टापछि साँझ ५ बजे सडक पुन: सञ्चालनमा आएको हो । भासिएको सडकमा ह्युमपाइप राखेपछि उक्त खण्ड सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । मुग्लिन पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको थियो । सडक सञ्चालन भएपछि लामो समयदेखि अलपत्र परेका सर्वसाधारण गन्तव्यमा लागेका छन् ।
धादिङ: धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खेलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ । आज बिहान बुटवलबाट काठमाडाँैतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए । ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो । बसमा चालकसहित १२ जना रहेको बताइएको छ । “बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ । अहिलेसम्म यात्रुहरु कोहि पनि सम्पर्कमा छैनन्”, उहाँले भन्नुभयो । देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ ।
काठमाडौं: बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ । मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ । उनीहरुको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिनुभयो । यस्तै नागार्जुन नगरपालिका–६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपलिका–२ का अन्दाजी ४५÷४५ वर्षका सचिन साह, चन्द्रागिरी नगरपालिका–२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र निजकी श्रीमती ३६ वर्षीया सबिनाको पनि मृत्यु भएको छ । दुवै जना घरमा बसिरहेका थिए । अर्घाखाँची घरभई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । हालसम्म नामथर वतन नखुलेको अन्दाजी ४०÷४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालीकोट सानी त्रिवेणी नगरपालिका–५ की २४ वर्षीया बमिला शाही, निजकी १४ वर्षकी बहिनी मनिशा शाही र निजको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ । बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ । सूर्यविनायक–८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र निजकी ३७ वर्षीया बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ । ललितपुरको गोदवरी नगरपालिका–१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी–९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै महाङ्काल गाउँपालिका–३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा निजको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ छम्पीस्थित भैसेपाटी–टीकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको छ । गोदावरी–३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र निजको २० वर्षीया छोरी मेन्सिलाको पनि मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ । काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।
सुनसरी: बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उहाँले बताउनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निरन्तर वर्षा भइरहेका कारण उनीहरुको उद्धार तत्काल सम्भव नभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सप्तकोशीमा पानीको बहाव बढ्दै गएको छ, हेलिकप्टरबाट उद्धार गर्नका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।”