काठमाडौँ: ताप्लेजुङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको खेन्जिम भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । राति १० बजेर १३ मिनेटमा गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । यसअघि साउन २ गते रसुवा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं: त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने बताइएकाे छ । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमा त्रिभुवन विमानस्थलमै दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनको मृत्यु भएको थियो ।
मनाङ: मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ । मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ । गत वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जनाले यार्सागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ । प्रमुख भुजेलका अनुसार मनाङमा नाम्के खर्क यार्सागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णयबमोजिम सङ्कलकलाई अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासों–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ । सोहीअनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।” मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गरिन्छ । यार्सागुम्बा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको ‘नार’ र ‘फु’ गाविमा यार्सागुम्बा सङ्कलन कार्य रोकिएको थियो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सागुम्बा सङ्कलन गर्न अन्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । विगतका जस्ता घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको छ । उहाँले पहिले जस्तै नार र फु मा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउँछन् । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ । जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्ष, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीसहितको बैठकपछि मात्रै यार्सागुम्बा सङ्लकनका लागि खुलाउने प्रावधान छ । संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई खर्क जान अनुमति दिइने संरक्षण व्यवस्थापन समितिले जनाएको छ । चार वटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० यार्सागुम्बा टिपेपछि एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिन्छ ।
लमजुङ: लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् । क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारमा मृत फेला परेका हुन् । कास्कीको मादी गाउँपालिका र लमजुङको क्होलासोथर गाउँपालिका जोड्ने रुदी खोला किनारमा १० दिनपछि आज मृत भेटिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार बिक गत १ गते परिवारबाट सम्पर्कविहीन भएका थिए ।
काडमाडाैं: ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ नेपाल फर्किएका छन्। संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका भुवन बिहीबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका उनका बुबा यमनारायण श्रेष्ठले जानकारी दिए। भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, हत्या गरिएका भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर भुवन नेपाल फर्किएका हुन् भने पहलमान पनि फर्किदै छन् । उनीहरूविरुद्ध नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आलेमगरको हत्या गरेको आरोप छ। युएईको कानून अनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन्। कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ। त्यसपछि दुई परिवारले तीन लाख युएई दिराम बराबरको (एक करोड ८ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त गरिएको हो । याे समाचार नेपालअबरमा उजिर कार्कीले लेखेका छन् ।
दोधारा चाँदनी: अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ । हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । अठ्ठाइस किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताउनुभयो । “हामीले एनएचपिसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो”, सुवेदीले भन्नुभयो, “त्यो कुरा हामीले हाम्रो माथिल्लो निकायमा जानकारी गराएका छौँ ।” डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । “अहिले पनि आयोजनाका लागि रु दुई अर्ब मात्र बजेट आएको छ यो अत्यन्त कम हो”, उहाँले भन्नुभयो, “मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ ।” आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन । आर्थिक वर्ष २०६२/०६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव नौ किमी मूल नहर निर्माण भएको छ । मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरको एक लाख ६१ हजार सात सय ४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार छ सय दुई हेक्टरमा मात्र खेती हुने गरेको छ ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ । साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।
काठमाडौँ: कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।
चितवन: चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन । आज घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ सङ्केत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । विगत ५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल ९नेशनल डिजास्टर रेष्पोन्स फोर्स० बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ । थापाका अनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ । गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो । उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।